पाल्पा
तिनाउ गाउँपालिकाको वडा नं. ६ जन्तीलुङ्ग र वडा नं. ५ मरामकोटमा घरवास ( होमस्टे कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तरगत दुवै वडाका होम स्टे संचालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होम स्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सुरु भएको छ ।
तालिमको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उद्घाटन गरे । तालिम कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले स्वर्गको टुक्राको रुपमा रहेको जन्तीलुङ्ग र मरामकोटलाई अबका दिनमा पैसा कमाउने युरोप र अमेरीका बनाउन सकिने बताए । अहिले बुटवल भैरहवामा गर्मी भएर बस्न सकिने अवस्था छैन, तर मस्यामको जन्तीलुङ्ग र मरामकोटमा जाडो भएर जेठ असारमा ज्याकेट लगाउनु पर्ने अवस्था छ, प्रकृतिले दिएको स्वर्गको टुक्रामा पाहुना बोलाएर मनग्गे आम्दानीको श्रोत बढाउन सकिने पालिका अध्यक्ष श्रेष्ठले बताए । स्वर्गको टुक्रामा हामीले पाहुनाहरुलाई व्यवस्थित रुपमा राख्न, स्थानीय परिकार खुवाएर खुसी बनाउन, यहाँको प्राकृतिक वातावरणमा रमाउने गराउन स्थानीयवासीहरुलाई पालिकाले होम स्टे प्रवर्धन कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले पछिल्लो समयमा होम स्टे व्यवसाय फष्टाउँदै गएको, पाहुनाहरुले पैसाभन्दा पनि खानपिनको साथै बासको राम्रो व्यवस्था, उचित सरसफाइ, स्थानीय मौलिक खानपान, कला संस्कृति खोजेको बताए । जन्तीलुङ्ग र मरामकोटको वातावरण निकै राम्रो छ, अब स्थानीयवासीले पाहुनलाहरुको मन जित्ने गरी काम गर्नु प¥यो, त्यसको लागि पालिकाले होम स्टे प्रवर्धन कार्यक्रम ल्याएको उपाध्यक्ष थापाले बताए । अहिले जन्तीलुङ्गमा आउने बाटो घाटो राम्रो रहेको, झुम्सा, चर्चरे र डुम्रेबाट आघा घण्टामै आउन सकिने भएकोले गाउँको आम्दानी र प्रचार प्रसार गर्न होम स्टे व्यवसाय उत्तम रहेको पालिका उपाध्यक्ष थापाले जनाए ।
कार्यक्रममा होम स्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनीश्वर बस्यालले होम स्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रुपमा बलियो बनाउन सकिने बताए । होम स्टेबाट गाउँको कृषि उत्पादन, पशुपालन, अन्य किसिमका रोजगारीहरु समेत बढ्ने, विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिने अवस्था रहेकोमा होम स्टे नेपालका केन्द्रीय उपाध्यक्ष बस्यालले जोड दिए ।
कार्यक्रममा सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाका सचिव सागर पोखरेलले विगतको जन्तीलुङ्ग र हालको जन्तीलुङ्गको फरक अवस्थाका बारेमा चर्चा गरेका थिए । सचिव पोखरेलले संस्थाले एक हप्तासम्म गर्ने कार्यक्रमको उद्देश्य, प्रभाव तथा महत्वको चर्चा गर्दै होम स्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमको बारेमा जानकारी गराएका थिए ।
तिनाउ गाउँपालिकाले होम स्टेमा आउने पाहुनाहरुको लागि जन्तीलुङ्गमा ७ वटा र मरामकोट २ वटा नयाँ घर निर्माण गरिरहेको छ । दुबै वडावासीलाई मौरी पालन तालिम, बंगुर पालन तालिम संचालन गरिसकेको छ भने अबका केही दिनमा तरकारी खेती, बाख्रापालन तालिम, खानापकाउने कुकु तालिम, अतिथि सत्कार तालिम, पाहुनाकोठा, सुत्ने कोठाको सजावट तथा अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सशक्तिकरण विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताइन् ।
जन्तीलुङ्ग र मरामकोट अहिले पनि स्थानीयहरुले होम स्टे कार्यक्रम सञ्चालन गरी पाहुनाहरुलाई राख्दै आएका छन् ।
जन्तीलुङ्ग सामुदायिक होम स्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु, र बिहानको खाजाको प्याकेज रहेको छ । प्राकृतिक रुपमा अति सुन्दर ठाउँ रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।




