परासी
सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नवलपरासीका सात स्थानीय तहलाई तीन अर्ब १२ करोड १९ लाख अनुदान दिएको छ । उक्त अनुदानमध्ये संघीय सरकारले पठाउने अनुदान रकममध्ये सुनवल नगरपालिकाले गाउँपालिकाभन्दा कम बजेट पाएको छ ।
अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान बाँडफाँटमा उक्त रकम विनियोजन गरिएको छ । समानीकरण, सर्शत, विशेष र समपुरक अनुदानमा आएको रकममध्ये सबैभन्दा बढी रामग्राम नगरपालिकाले ७० करोड ४१ लाख पाएको छ । जसमा पुँजीगततर्फ २६ करोड ४८ लाख र चालुतर्फ ४३ करोड ९३ लाख रहेको छ । रामग्राममा एडीबीको सहयोगमा निर्माण भइरहेको पोखरापाली–पन्डितपुर सडकमा विनियोजन भएको रकमले सबैभन्दा बढी रकम देखिएको हो ।
रामग्रामले २४ करोड ४९ लाख बजेट शर्सत अनुदानको पुँजीगत(विकास योजना) प्रकृतिको योजनामा रकम पाएको हो । त्यस्तै सुनवल नगरपालिकाले गाउँपालिकाभन्दा पनि कम रकम पाएको छ । प्रतापपुर गाउँपालिकाको भन्दा झन्डै एक करोड कम बजेट सुनवलका लागि विनियोजन भएको छ । सुनवलले ४४ करोड ८३ लाख बजेट पाएको छ । जसमा चालुतर्फ ४३ करोड २७ लाख र पुँजीगततर्फ एक करोड २७ लाख मात्र रहेको छ । प्रतापपुरले ४५ करोड ७३ लाख बजेट पाएको छ । जसमा ३८ करोड ७६ लाख चालुतर्फ र छ करोड ९७ लाख पुँजीगततर्फ रहेको छ ।
त्यस्तै सरावल गाउँपालिकाले ३४ करोड ३० लाख पाएको छ । जसमा चालुतर्फ ३२ लाख ८८ हजार र पुँजीगततर्फ एक करोड ४२ लाख रहेको छ । पाल्हीनन्दन गाउँपालिकाले पाएको ३४ करोड ८ लाखमा चालुतर्फ ३० करोड २ लाख र पुँजीगततर्फ ४ करोड ६ लाख रहेको छ । भूगोलको हिसाबले सानो रहेको सुस्ता गाउँपालिकाले २९ करोड १४ लाख पाएको छ । जसमा चालुतर्फ २७ करोड ५८ लाख र पुँजीगततर्फ एक करोड ५६ लाख रहेको छ । यो रकमसहित आन्तरिक आम्दानीको आधारमा रही स्थानीय तहले आगामी वर्षको बजेट बनाउने छन् ।




