२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सम्भव छ त युवा बिनाको समृद्धि !

सम्भव छ त युवा बिनाको समृद्धि !

सम्भव छ त युवा बिनाको समृद्धि !

सम्भव छ त युवा बिनाको समृद्धि !

सम्भव छ त युवा बिनाको समृद्धि !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २९ २०८२
बुधवार, जेठ २९ २०८२
  • सञ्जय घिमिरे
    ‘समृद्ध नेपाल सुखी नेपाली’को सुन्दर नारा भट्टयाइरहँदा देशको विकास उन्नति र समृद्धिका संवाहक युवा जमातलाई यो नाराले अलिकति पनि छुनसकेको जस्तो देखिंदैन । सरकारले सुनौला रुमानि सपनाका मिठा पुलिन्दा बाँडिरहँदा युवाहरु अन्धकार भविष्यबाट त्रसित र भयभित भैरहेको यो कस्तो डरलाग्दो र असमाञ्जस्यपूर्ण समय हो ! सामान्यतया १६ वर्षदेखि ४० वर्षसम्मको भर्भराउँदो जोश जांगर वैश, बल युक्त उमेर समूहलाई युवा भनिन्छ । के यो जमात समृद्ध नेपाल होला, बन्ला र सुखी नेपाली भएर मर्न पाइएला भन्ने कुरामा विश्वस्त छ त ?

    अहिलेको अवस्था हेर्दा त यस्तो आशा र विश्वास युवालाई मात्र हैन आम जनता कसैमा पनि जीवित भएको भान हुँदैन । यो सतिले सरापेको देश हो । यो बन्दै बन्दैन, कहिल्यै बन्दैन भन्नेहरुलाई दलहरुका गतिविधिले  पुष्टि गर्दै गए जस्तै लाग्छ । देश र जनतामुखिभन्दा पनि सत्तामुखी राजनीतिको कारण यी कसैका भरिया र आदेशपालक मात्रै पो हुन कि भनेर शंका गर्न सकिन्छ । एकातर्फ राष्ट्रले विकास समृद्धिको खाका बनाउँदै छ, अर्कोतर्फ जसको लागि विकास जरुरी हो, जो संलग्न हुनु पर्ने हो र जसले योगदान दिने र लाभ लिने हो, त्यही युवा जमात आफ्नै भविष्यदेखि त्रसिएर, कहाँ जाउँ र के गरौंको हालमा कुहिरोको काग झैँ रुमलिइरहेको छ । देश निर्माणको मुख्य शक्ति युवाहरुमा भविष्यप्रति उत्साह, आशा, चिन्तन र चासोभन्दा बढी भय किन सिर्जना भैरहेको छ त ? कसरी आशाको दियो जलाउन सकिएला, आउनुस यी विविध पक्षको चर्चा गरौं !


    १२ कक्षा पास हुँदा नहुँदै पासपोर्ट बनाउने र भाषा कक्षाहरुमा विद्यार्थीहरुको लहर हेर्ने हो भने सजिलै भिसा पाउने हो भने स्वेच्छाले देशमा बस्ने भनेका ६० कटेका बाआमा मात्रै हुन्छन कि जस्तो लाग्दछ । अहिले कलेजमा भन्दा भासा कक्षामा विद्यार्थीको चाप धेरै छ !


    हरेक वर्ष ४–५ लाख युवा जनशक्ति श्रमबजारमा आउँछन् । विडम्बना भनौ पछिल्लो तथ्यांकलाई हेर्दा २०८१ मा ८ लाख १० हजार १ सय ८ युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये कतार, साउदी, युएइजस्ता खाडी मुलुक जानेहरु ५ लाख बढी छन् । बेरोजगारहरु मात्रै हैन देशमै राम्रै पद र प्रतिष्ठा कमाएकाहरु पनि सबै छोडेर यो लहरमा मिसिरहेका छन् । यसरी व्यापार, व्यवसाय, जागिर, उद्यम, गरिरहेका पनि हिंड्नुका पछाडिका कारणहरु खोज्न ढिला भैसक्यो ।


    पछिल्लो एक वर्षमा अध्ययन भिसामा विदेशिने १ लाख बढी छन् । के ति सबै नेपालमा चाहेको विषय पढ्न नपाएर गएका हुन त ? त्यसो हैन यो त भिसा प्राप्त गर्ने माध्यम मात्रै हो, ९०% को हकमा । अनि आएको १ महिनामै काम नपाएर बिजोग भयो भन्दै रुवाबासि गर्नेहरु टन्नै छन्, विशेष गरेर कोरिया जापानमा । अचेल एयरपोर्टको दृश्य हेर्ने हो भने सिंगो देश नै विदेश हिंडिरहेको त छैन भन्ने भान हुन्छ । कुनै बेला गाउँबाट शहर छिरेकाहरु गाउँ फर्किन भुले, गाउँहरु रित्तिदैंछन्, त्यसैगरी शहर छोडेर विदेशिनेहरुमध्ये युरोप अमेरिका जाने साथै पछिल्लो समय कोरियाले समेत भिसा थप सजिलो बनाउँदै जाँदा त्यहाँ पुगेकाहरु पनि फर्किने संख्या घट्ने पक्का छ । यस्तै अवस्था रहिरहे देश छिट्टै वृद्धाश्रम मात्रै बन्ने त हैन, गम्भीर प्रश्न हाम्रो सामु छ ।
    यसको पछाडिका कारणहरु के–के हुन सक्छन् त ?


    ठुल्ठुला भाषण, कायापलट हुने खालका परियोजनाका सपना बाँड्ने, सुशासन कायम गर्ने जनताले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्नुको सट्टा एकपछि अर्को काण्डमा नेताहरु मुछिने र तिनकै ढाकछोप र आरोप प्रत्यारोपमा जनता अल्मल्याउने घिनलाग्दो राजनीति, नातावाद र कृपावाद हावी, चरम भ्रष्टाचार, जुनसुकै ठाउँमा चरम राजनीतिक हस्तक्षेप हुनु । जनताका सेवकभन्दा पनि शासक जस्ता जनताको कर चुसेर ढाडिएका जुका जस्ता सरकारी कर्मचारी तिनको सेवा प्रवाह र व्यवहार, जतासुकै बेथितिका समाचार मात्रै, अनुदान र ऋणको भरमा चलिरहेको संघ, प्रदेश र स्थानीय सरकार, पुँजीगत खर्च वृद्धि गर्न नसक्नु, मूल्यवृद्धि नियन्त्रण बाहिर, दलाल र व्यापारीको हितमा र हातमा सरकार, झोलामा फर्म हुने, पहँुच हुने र कागज मिलाउनेले अनुदान र लाभ लिने अवस्था, केही गर्छु भन्नेलाई झन्झटिलो प्रकिया, नेताका आसेपासेलाई ठेक्का, तिनकै फाउन्डेसन र एनजिओहरुलाई बजेट, नेपालमा जे पनि गर्ने जसो पनि गर्नेलाई मात्रै ठिक छ । इमान्दार र मेहेनतको मूल्य छैन भन्ने भाष्य निर्माण, जेनतेन कमाएको रकमको कर तिरौं न त भन्दा समेत कष्ट, दण्डहिनता, कमजोर सुरक्षा र पैसा र पावरको पकडमा न्याय, यी त केही प्रतिनिधि कारणहरु मात्रै हुन जसले युवाहरुमा निराशा बढाउन सघाइरहेका छन् ।


    कोरोना पछाडि नयाँ व्यवसाय गर्नेहरु तर्सिएका छन् । ६-७% व्याजदरमा ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरुलाई व्यवसाय बन्द भएको अवस्थामा वित्तीय संस्थाहरुले एकतर्फी व्याज बढाएर १७-१८% सम्म पुराएर उठ्न नसक्ने गरी पलायन गराए सरकार मुकदर्शक बनिरह्यो, कुनै आवश्यक कदम चाल्न सकेन, यो एउटा मुख्य बिन्दु थियो, जसले देशमै उद्यम गर्छु भन्नेलाई हजारपटक सोंच्न बाध्य बनायो । अप्ठेरोमा जो पर्यो पर्यो सरकार अभिभावक बन्न सकेन ।


    भ्रष्टाचार हजार, लाख, करोडमा हैन अर्ब र खर्बमा हुन थालेको छ । हरेक योजनामा ठुलै भ्रष्टाचार छ, पोखरा विमानस्थल पछिल्लो उदाहरण हो । हुन त हाम्रो समाज नै भ्रष्टाचारी उत्पादन गर्ने कारखाना जस्तै भएको छ ।


    पैसा बाहेक कुनै पनि मान, सम्मान, पदवि, ज्ञान, सीप, क्षमता, पुरस्कार, योगदान, उपलब्धि समाजले देख्दैन अथवा ति नगन्य हुन् । केवल पैसा सर्वेसर्वा भएको छ, अनि घर परिवार समाजको वाहवाही पाउन जसरी भए पनि पैसा कमाउनु पर्ने मानसिक दबाब जोकोहिलाई पर्दछ । इमान्दार कर्मचारीलाई भ्रष्टले २ वर्षमै घर ठड्याएको देखाएर भ्रष्ट बन्न उत्प्रेरित गर्दछन् । यति छिटै कसरी जोडिस भनेर प्रश्न र शंका गर्नुको सट्टा उल्टो भैरहेको छ । पैसा र पावर जो सँग छ उसकै हाइहाइ हुनुको कारण पनि छोटो समयमा धेरै पैसा कमाउने दबाबमा विदेशिए छिटै हुने सपना देख्नेहरु पनि प्रशस्तै छन् ।


    समाजले जति ठूलो उद्योग व्यापार गरे पनि शहरमा घर नहुञ्जेल कमाएको ठहर गर्दैन । एक आम नेपालीको जीवन विदेशमा १५÷२० वर्ष दुःख गर्यो, जेनतेन एउटा शहरमा घडेरी किन्यो र घर बनाउँदैमा सकिन्छ । घरले खान दिँदैन व्यवसाय उद्यम हुन्न अनि फेरि उही दुःखको कथा सुरु । कमाएको पैसा व्यापार व्यवसाय उद्योगमा लगानी गरेर पुँजी वृद्धि गर्नेतर्फ न त घरपरिवारको ध्यान छ न समाजले प्रोत्साहन गर्छ, न त सरकारलाई नै चासो छ । नेपालमा बसेर व्यवसाय गरिरहेका प्रायःले नयाँ मान्छेले केही गर्न खोजे प्रोत्साहन र हौसला दिँदैनन्, उल्टै म त किन गरेछु भन्ने भा छु, यहाँ त फस्ने मात्रै हो । कामै छैन, बरु विदेश नै ठिक छ भनेर हतोत्साहित मात्रै गर्छन्, आफूले राम्रै कमाएकाहरु समेत ।


    अहिले नेपाली नपुगेको देश छैन र नगरेको काम छैन, त्यहां अत्याधुनिक प्रविधि सिक्ने अवसर समेत पाएका छन् । ति योग्य दक्ष नेपालीहरुलाई देशमै कृषि, उद्योग, सेवा, व्यापार, पर्यटन जस्ता क्षेत्रमा फर्काउन सक्ने हो भने देशले विज्ञान, प्रविधिको प्रयोग गरेर छोटो समयमै उल्लेख्य प्रगति गर्न सक्छ । धन र सीप दुबै लिएर फर्केका युवाहरुलाई गतिलो परामर्श र मार्गनिर्देशनसहित सरल र सहज वातावरण निर्माण गर्ने सरकारी नीति र छुट्टै निकाय समेत हुने हो भने अर्थतन्त्र उकास्न र उद्यमशिलता विकाससँगै रोजगारी सिर्जनामा समेत प्रभावकारी काम गर्न सकिन्छ ।


    हरेक पालिकाले आफ्नो पालिकामा उत्पादन गर्न सकिने कृषि उपज अथवा अन्य उत्पादनको सूची बनाएर लगानी गर्न प्रेरित गर्ने र बजार व्यवस्थापनमा सहजीकरण गर्ने, उचित मूल्य निर्धारण गरेर आफ्नो ठाउँमा उत्पादन हुने समान बाहिरबाट आयात नगर्न व्यापारीहरुलाई प्रोत्साहन गर्ने हो भने  कैयौं युवा उद्यमी बन्न सक्छन् । सहज कर्जा केही अवधि तोकेर निव्र्याजमा व्यवसायिक कर्जा(बिउ पुँजी) अथवा न्यूनतम दरमा कर्जा उपल्बध गराउने, व्यवसायिक कृषकलाई सिँचाइ बिउ मल र बजारीकरणमा सघाउने यति त पालिकाहरुले पनि गर्न सक्छन नि । तर कमिसन नआउने यस्ता काममा ध्यान कस्ले दिन्छ र ।


    सरकारले लहडको शिक्षाभन्दा पनि कस्तो जनशक्ति कति आवश्यक पर्छ देशलाई सोहिअनुसारको अनुमानित कोटा निर्धारण गरेर जनशक्ति तयार गर्ने साथै समय सापेक्ष सजिलै अन्तर्राष्ट्रिय बजारमा बिक्ने सक्षम र सीपयुक्त दक्ष जनशक्ति उत्पादनको लागि पाठ्यक्रममा  व्यापक परिमार्जनसहित सीपमूलक शिक्षा लागू गर्नु पर्दछ । कोरा ज्ञान मात्रैको शिक्षा प्रणालीले बेरोजगार मात्रै उत्पादन गर्दछ । मान्छेलाई कुरौटे मात्रै बनाउँछ अनेकानेक तर्क गर्न सक्ने, काम गर्ने न कुनै ढंग न सीप न जांगर नै, त्यसैमा समाजले पढेलेखेकाले जागिर खाने हो कृषि, उद्यम व्यवसाय गर्ने हैन भन्ठान्ने जागिरे सामाजिक मनोविज्ञानको असर पनि राम्रै परेको छ ।


    अब काम गर्दै, कमाउँदै पढ्दै गर्न सकिने खालको वातावरण र शैक्षिक कार्यक्रम बनाउनु पर्छ । यो वर्ष सरकारले नीति तथा कार्यक्रममा कमाउँदै पढ्दै, सरकारी कार्यालयमा इन्टर्नसिप साथै जेन्जि पुस्ता र स्टार्टपप्रति थोरै भए पनि चासो देखाएको देखियो । कार्यान्वयन गर्न सक्ने हो भने भविष्यमा थप विस्तार र प्रभावकारी बनाउन यो सुरुवात महत्वपूर्ण हुनसक्छ ।


    विदेशबाट फर्किएकासँगै फर्किन चाहनेलाई प्रोत्साहन गर्न रिटर्नी केन्द्रित नीति तथा कार्यक्रम बनाएर देशमै गर्न सकिन्छ है भन्ने माहौल सिर्जना गर्न सकिन्छ । युवा उद्यमीलाई कम्पनी दर्तादेखि निश्चित समयसम्म कर छुटसम्मका आकर्षक प्याकेजमार्फत् सम्बोधन गर्ने हो भने युवाहरुलाई उद्यमशिलतासँग जोड्न र विदेश पलायन रोक्न सकिन्छ । देशमा उत्पादन हुने बस्तु गुणस्तरीय र विदेशी बस्तुसँग प्रतिस्पर्धी बनाउन सकिने विकल्पहरुको खोजी गर्नुका साथै जनतालाई पनि स्वदेशि वस्तुको उपभोग गर्न प्रेरित गर्नु पर्दछ । त्यसो भयो भने मात्रै हामी आत्मनिर्भर बन्न सक्छौं र पैसा बाहिरनबाट समेत रोक्न सक्छौं । कोरियामा देशभित्र उत्पादन हुने हरेक बस्तु ठुला अक्षरमा ‘स्वेदशी उत्पादन’ भनेर लेखिन्छ र जनताले पनि सके सम्म स्वदेशी वस्तुको प्रयोग गर्छन् यस्तो अभ्यास हामीले पनि गर्नुपर्दछ जस्को लागि उत्पादकले गुणस्तरमा सम्झौता नगर्ने र सरकारले कडा निगरानी र नियन्त्रण जरुरी हुन्छ ।


    अहिले श्रम स्वीकृति लिएरै नेपालमा श्रम गर्ने चिनियाँ, भारतीयलगायत देशका नागरिक हजारौंको संख्यामा छन्, जसमा अनौपचारिक रुपमा श्रम गर्ने भारतीयको संख्या लाखमाथि नै होला । सामान्यदेखि प्राविधिक हरेक काम र व्यवसायमा समेत भारतीयहरुले नेपालमै लाखौं कमाएका छन्, तर हामी सानो र ठूलो कामको संकुचित मनोविज्ञान बोकेर विदेशिरहेका छौं । 
    वास्तवमा हाम्रो देशले आफूसँग भएको सक्रिय जनशक्तिको लाभ लिन सकेको छैन ।

    अहिलेको समयमा मानव संसाधन पर्याप्त हुनु देश विकासको लागि सवल पक्ष हो । समय अनुकुल त्यसको विकास गरी समग्र देशको विकास र उन्नतिमा प्रयोग गर्न सक्ने हो भने सजिलै अपेक्षित उपलब्धि हात पार्न सकिन्छ, तर हाम्रो देशका शासकहरु माल भएर पनि चाल पाइरहेका छैनन्, फलतः आश्रित जनसंख्या धेरै भएका देशले सहज भिसा र कार्डको प्रलोभनमा युवाहरु भित्र्याइरहेका छन् । हामी भने युवा निर्यात गरेर आएको रेमिट्यान्समै मख्ख छौं ।

    अबको २०–३० वर्ष देशले सक्रिय जनशक्तिको प्रयोगबाट देश विकासमा उल्लेख्य लाभ लिन सक्छ, तर त्यतापट्टी खासै ध्यान पुगेको देखिंदैन । सरकार अब युवाभन्दा पनि युवाका उत्पादनलाई विश्व बजारमा पठाउने योजनासहितका कार्यक्रममार्फत् अभिभावकीय भूमिकामा प्रस्तुत हुने हो भने यो विषम परिस्थितिलाई चिरेर आशाको सञ्चार आम युवा र नागरिकमा हुन सक्दछ । जसले चलिरहेको विदेशिने लहरको क्रमभंगता हुनुका साथै देशको अर्थतन्त्र पुनरुत्थानसँगै उद्यमशिल घर, परिवार, समाज र देश निर्माण गर्न मन वचन र कर्मले  युवाहरु नै अग्रपंक्तिमा उभिनेछन् भन्नेमा दुविधा छैन ।
    पाणिनि –५ अर्घाखाँची

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij