डी.आर. घिमिरे
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का अनुसार संसारमा लगभग १ अरब मानिस मानसिक रोगबाट पीडित छन् । यसबाहेक डिप्रेसन, एन्जाइटी, बाइपोलर, सिजोफ्रेनियाजस्ता रोगबाट पनि उत्तिकै पीडित छन् । सन् २०२५ को तथ्याङ्कअनुसार, संसारभरि डिप्रेसन र मानसिक रोग व्यापक रूपमा फैलिएका छन् । डिप्रेसनबाट लगभग २८० मिलियन मानिस अर्थात् विश्व जनसंख्याको करिब ३.८ प्रतिशत पीडित छन् भने यसमा महिलाहरूको संख्या पुरुषहरूभन्दा करिब ५० प्रतिशत बढी छ । यसमध्ये डिप्रेसन र एन्जाइटीका कारण हरेक वर्ष करिब १२ अर्ब मानिसको कार्य क्षमता हराएको छ । जसका कारण वार्षिक ४१ ट्रिलियन भन्दा बढी आर्थिक नोक्सानी पुगेको अनुमान गरिन्छ । साथै मानसिक रोगका कारण संसारभरि हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् ।
हुन पनि आत्महत्या मानसिक रोगको प्रमुख कारणनै हो । अर्को तथ्य अनुसार ७५ प्रतिशत मानसिक रोगी विकासशील देशमा बस्छन् । यसको अर्थ विकसित देशमा यो समस्या नभएको हैन । बढ्दो क्रममा छ । तर विकासशील देशमा ज्यादा छ । यसरी मानसिक समस्या बढ्नुका कारण धेरै होलान् तर डिजिटल लतलाई प्रमुख रुपमा लिन थालिएको छ । त्यसबाहेक शहरीकरण, प्रतिस्पर्धा र व्यस्त जीवनशैलीले सामाजिक सम्बन्ध कमजोर बनाएर झेल्नु परेको तनाव र एक्लोपन, बेरोजगारी, ऋण र आर्थिक असुरक्षा, मादक पदार्थ र लागू औषध हुन् ।
आधुनिक जीवनशैलीका नाममा अनियमित खानपान, निद्राको अभाव, शारीरिक निष्क्रियता पनि अर्को पक्ष हो । खानपानमा आएको परिवर्तनलाई नरोक्ने हो भने मानसिक हैन, अरु गंभीर स्वास्थ्य समस्याको पनि सामना गर्नुपर्ने छ । स्वास्थ्यका लागि रातको निद्रा अत्यन्तै महत्वपूर्ण पक्ष हो तर आजभोलि रातमा मोबाइलले भुलाएको छ र बिहान ९ बजेसम्म सुत्ने क्रम बढेको छ । यो शारीरिक हिसाबले रोग निम्त्याउने मुख्य कारण बन्दै गएको छ ।
बालबालिकालाई पनि स्क्रिनको लत लागेर खान, सुत्न, आफूलाई डिष्टर्व नगर्ने बनाउन प्रायः मोबाइल, टेलिभिजन, ट्याब, कम्प्युटर जस्ता इलेक्ट्रोनिक्स डिभाइसको अगाडि राख्ने गरिन्छ । यसो गर्दा उनीहरुलाई स्क्रिनको लत लागेर एकलकाँटे, रिसाहा, डरपोक, एकोहोरिने, परिवार तथा समाजसँग घुलमिल नहुने, अन्य बालबालिकासँग मित्रता नगाँस्ने, शारीरिक गतिविधिमा जाँगर नलाग्नेजस्ता समस्या उत्पन्न भइरहेका छन् । जसलाई डिजिटल अटिजम भन्ने गरिन्छ ।
हुनपनि विश्व स्वास्थ्य संगठनको निर्देशिकामा एक वर्षमुनिका बालबालिकालाई मोबाइल, टेलिभिजन, ट्याब, कम्प्युटर जस्ता इलेक्ट्रोनिक्स डिभाइसको अगाडि राख्न नहुने र दुईदेखि पाँच वर्षका बालबालिकाको स्क्रिन टाइम एक घण्टामा सीमित गर्नुपर्ने भनिएको छ । भनिन्छ– डिजिटल अटिजम हुनु भनेको सिक्ने क्षमता कम हुनु हो र आँखा सुक्खा र रातो हुने समस्या पनि यस्तै कारणले हुने गर्छ । यसैले अनुसन्धानकर्ताहरु भरसक पन्ध्र वर्ष भन्दा कम उमेरका बालबलिकाले मोबाइल फोन चलाउनु हुँदैन भन्छन् । मोवाइलले मस्तिष्कमा रेडियसनको नराम्रो प्रभाव पर्छ । जसका कारण बालबालिकामा मस्तिष्कको क्यान्सर हुने गरेको छ ।
यद्यपि यो कुरा सवैका लागि लागु हुन्छ । यूकेको एक अध्ययनअनुसार बिहान उठ्दासाथ मोवाइल प्रयोग गर्नेको तनाब तथा चिन्ता बढ्ने गर्छ । त्यस्तै पाइन्टको खल्तीमा मोबाइल राख्दा प्रजनन् क्षमता घट्छ र मुटु नजिक राख्दा मुटुको धड्कनलाई प्रभाव पार्छ । गर्भवती महिलाले प्रयोग गर्दा बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले असर गर्छ । त्यसैले उमेर पुगेकाहरु पनि मोबाइल वा इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग कमभन्दा कम गर्नुपर्छ ।
यस्ता सबैखाले समस्याको समाधानका लागि योग, ध्यान, प्राणायाम गर्न आवश्यक छ । आजभोलि यी सवै प्रक्रियाको जागरण आएको छ । बुटवलकै कुरा गर्दा वडै पिच्छे यस्ता क्रियाकलापहरु हुने गरेका छन् । सरकारले ल्याउने बजेटमा यी र यस्ता कामका लागि बजेट बिनियोजन गरेको पाइदैन । यो वर्ष पनि प्रायः भौतिक निर्माणकै लागि ठूला ठूला बजेट विनियोजित छन् । हो संरचना सरकारलेनै गर्नुपर्छ र निजी क्षेत्रले रोजगारी सृजना गर्छ । सामान्य अवस्थामा हुने यही हो । तर मुलुक असामान्य अवस्थामा छ । नागरिकमा असन्तोष छ । उत्पादन गरेर हैन किनेर खाने प्रवृत्ति बढेको छ । त्यसैले यो बेलामा सरकारले उद्वार गर्नुपर्छ ।
एउटा सानो उदाहरणः देशभरी अस्पतालहरु बनेका छन् । बन्नुपर्छ । तर अस्पतालमात्र स्वास्थ्य समस्याको समाधान हैन । आजकल मानिस प्रायः जीउन नजानेर रोगी हुने गरेका छन् । भनिन्छ जीउने कलाले ७० प्रतिशत स्वास्थ्य समस्याको समाधान हुन्छ । जसलाई “प्रिवेन्टिव हेल्थकेयर” (रोगप्रतिरोधक स्वास्थ्य चिन्तन) भनिन्छ । जो योग, ध्यान, प्राणायाम र खानपानमार्फत् प्रयोगमा ल्याउन सकिन्छ । खासमा यतिले मात्र पनि स्वास्थ्यमा क्रान्ति हुन्छ । योगले शरीरलाई लचिलो, सन्तुलित रक्तसञ्चार र स्नायु प्रणालीमा मद्दत गर्छ । ध्यानले तनाव घटाउँछ र मानसिक सन्तुलन ल्याउँछ । जो आजका दिनमा भयानक खतराको विषय बनेको छ । प्राणायामले फोक्सो र हृदयलाई सुधार्छ ।
शुरुमै मैले केही मानसिक रोगको तथ्यांक प्रस्तुत गरेको छु । जुन समस्याको लागि नियमित योग, ध्यान, व्यायाम, पर्याप्त निद्रा, सन्तुलित आहार र सकारात्मक सोच अपनाउने हो भने धेरै हदसम्म समाधान हुन्छ । रोग लागि सकेका लागि पनि मनोपरामर्श, पेशागत, कानुनी र पारिवारिक परामर्श सेवा नै उपचारको उपाय हो । जसका लागि योग, प्राणायाम र आहार–विहारलाई सँगसँगै लैजान जरुरी छ । डब्लु एच ओ र अन्य अध्ययनहरूले सन् २०३० सम्ममा मानसिक रोगहरू विश्वव्यापी महामारी बनेर आउने अनुमान गरेका छन् । यो भविष्यवाणीलाई तयारीका रुपमा लिने हो भने अवसरका रुपमा लिन सकिन्छ ।
यो अवसरलाई अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने माध्यम बनाउन सकिन्छ । नेपालका एकजना वरिष्ठ आयुर्वेद चिकित्सकका अनुसार लुम्बिनी प्रदेशमा अल्जाइमर (बिर्सने रोग) निको हुने जडीबुटी अत्यधिक पाइन्छ । विश्वव्यापी रुपमा क्यान्सरभन्दा भयानक समस्याका रुपमा देखा परेको अल्जाइमरको उपचार केन्द्र भैरहवाजस्तो अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउने हो भने नेपालको ऋण तिर्न धेरै वर्ष लाग्दैन । विडम्वना यस्ता कुरालाई हावामा उडाएर ठट्टाको विषय बनाइन्छ । मेरो विचारमा मानसिक रोगको उपचारमा योग र ध्यानलाई बनाएर प्रचार प्रसार गर्दा नेपालको जनशक्ति निर्यात हुन सक्छ र विदेशीका लागि उपचार गर्ने थलो बन्न सक्छ ।
यस अर्थमा हरेक पालिकाहरुले गाउँ गाउँमा र टोलटोलमा यस्ता योगशालाहरु बनाउन ढिला गर्नु हुँदैन । सार्वजनिक भवनलाई यस्ता काममा उपयोग गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा गर्ने लगानीलाई अस्पताल बनाउने अर्थमा मात्र बुझ्नु हुँदैन । पार्कहरुमा टहल्ने र बिहान साँझ योग ध्यान गर्ने कामलाई सस्कृतिका रुपमा विकास गर्न समाजका अगुवाहरु लाग्नुपर्छ ।
आजभोलि योग गरेर निको भएका वा रोगलाई नियन्त्रण गर्नेको संख्या अत्यधिक छ । यसलाई पनि हरेक पालिकाहरुले अध्ययनको विषय बनाउन जरुरी छ । प्रायः पालिकाहरुमा भौतिक पूर्वाधारका लागि ठूलो रकम खर्चेर गुरुयोजना बनाउने काम व्यापक रुपमा हुने गरेका छन् । ती गुरुयोजना बनाएर कति काम भए वा कति दराजमा थन्किएका होलान् ? यसको खोजी गर्दा नै थाहा होला तर आजसम्म स्वास्थ्यवारे कसैले पनि अध्ययन गरेको पाइदैन । अर्को कुरा गुरुयोजनाहरु बनाउँदा हरेक पालिकाले अत्यावश्यक भए मात्र बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने गरी बनाउन जरुरी छ । गुरुयोजना बनाएका भरमा यति काम गरें भनेर नाक फुलाउनुको खासै अर्थ छैन । आजभोलि धेरैले के कुरा वुझेका छन् भने गुरुयोजनाको काम कमिशन हो । हुन पनि गुरुयोजनाको लागतमा एकरुपता हुँदैन र छैन पनि । यसका मापन गर्नु आफैमा कठिन काम पनि हो ।
विकसित देशमा स्वास्थ्यका बिषयमा पर्याप्त अनुसन्धान भएका छन् । संयुक्त राज्य अमेरिकामा १९७६ देखि हालसम्म दीर्घकालिन रोगहरु मुटु रोग, क्यान्सर, मधुमेह आदिको लागि १ लाखभन्दा बढी नर्सहरूमा उनीहरुको स्वास्थ्य, जीवनशैली र रोगका सम्बन्धमा अध्ययन गरिएको छ भने १९४८ देखि हालसम्म हृदय रोगको जोखिमका कारकहरूको अध्ययन गरिएको पाइन्छ ।
बेलायतमा ५ लाखभन्दा बढी मानिसका आनुवांशिक, जीवनशैली र स्वास्थ्य विवरण सङ्कलन गरिने परियोजनाबाट दीर्घकालीन रोग, मानसिक स्वास्थ्य, पोषण आदिको अध्ययन हुँदै आएको छ । जापानमा पोषण, धूम्रपान, मदिरा सेवन र शारीरिक गतिविधि जस्ता कारकको विश्लेषण गरी वृद्ध व्यक्तिहरूको जीवनशैली र मृत्यु दरबिचको सम्बन्धबारे नतिजा निकाल्ने गरिन्छ ।
अस्ट्रेलियामा २ लाखभन्दा बढीलाई सहभागी गराई मधुमेह, मुटु रोग, मानसिक स्वास्थ्यको अवस्थाबारे डेटा सङ्कलन र अध्ययन गरिंदै आएको पाइन्छ । छिमेकी मुलुक भारतमा ६० वर्षभन्दा माथिको जनसंख्यामा आधारित भई स्वास्थ्य, आर्थिक अवस्था र सामाजिक कारकहरूको अध्ययनगरी मधुमेह र जीवनशैली रोगको अध्ययन गरेको पाइन्छ ।
तर हामीकहाँ गर्न चाहेर पनि बेवास्ता गरिन्छ । ज्येष्ठ नागरिकको संख्या बढिरहेको अवस्थामा यस्ता गतिविधिलाई प्राथमिकता नदिने हो भने अस्पताल खोलेर रोगमुक्त बनाउन सकिंदैन । त्यसैले आवश्यकता के हो भने जसरी महिला स्वयंसेवी नियुक्त गरेर महिलाका कैयौं समस्याको समाधान भएको छ, त्यसरीनै अवका दिनमा योग प्रशिक्षक हरेक टोलटोलमा राख्ने प्रबन्ध गर्ने र नियमित योग, ध्यान, प्राणायाम गर्ने गराउने व्यवस्था गर्नुपर्छ । स्वास्थ्य विमा असफल हुँदै गरेको अवस्थामा यसतर्फ स्थानीय सरकारको ध्यान जान सक्यो भने बिरामीको संख्या घटेर अलिक सहज अवस्था आउन सक्छ ।




