बुटवल । कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले संघीय सरकारले १० लाखको योजनामा ३ करोडसम्म वजेट दिने काम ‘बोकाको थाप्लोमा रांगाको सिङ्’ भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । संघीय सरकारले धेरै साना कार्यक्रममा वजेट दिने गरेपछि धेरै आलोचना भएर त्यसलाई सच्याउन अहिलेको बजेटमा रु ३ करोड भन्दा कम रकमका कार्यक्रम नराख्दा अर्को झन् ठुलो गल्ती भएको सांसद पन्थीको ठम्याई छ । ‘रु १० लाखको माग र आवश्यकता भएको ठाउँमा रु ३ देखि एक करोड वजेट विनियोजन भए पछि ‘बोकाको थाप्लोमा रागाको सिङ् झुण्डाइदिए जस्तै भएको छ, हाम्रो ढुकुटीको यसरी खर्च गर्ने औकात छैन । यसर्थ बढी भएको कार्यक्रममा अरु कार्यक्रम थपेर जादा बजेटको सहि सदुपयोग होला र अरु टुलुटुलु हेरेर बसेका पनि खुशी होलान्’– सांसद पन्थीको सुझाव छ–‘बरु कार्यान्वयनमा समस्या भए सशर्त रूपमा १ करोड तलको पालिकामा अरु रु १ करोड माथि रु ३ करोड तलको कार्यक्रम प्रदेशमा पठाउने व्यबस्था गरौं, बजेटको उच्चतम सदुपयोगले मात्रै उच्च आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’ प्रदेश सांसद पन्थीले संघीय सांसदहरुलाई आआफ्नो क्षेत्रमा भएको विनियोजित बजेट कार्यक्रम बारेमा गंभिरता पुर्वक बिचार गर्न आग्रह गरेका छन् ।




