बुटवल । रुपन्देहीका तिनाउ, दानव लगायत विभिन्न नदीहरुमा भइरहेको मापदण्ड विपरितको उत्खनन् र ढुंगा,गिटी, बालुवाको चोरी निकासी रोक्न नेकपा एमाले बुटवलले माग गरेको छ ।
एमाले नगर अध्यक्ष शोभाखर पोखरेलले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै खोलामा मापदण्ड विपरित उत्खनन्, दोहन र चोरी निकासी भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउंदै यस्तो कार्य बन्द गर्न प्रभावकारी कदम चाल्न र संलग्न व्यक्ति तथा संस्थामाथि कडा कारवाही गर्न माग गरेका छन् ।
मापदण्ड विपरित खोला उत्खनन्ले बाढी पहिरोजन्य प्राकृतिक प्रकोप, डुबान,कटान,मानवीय र पर्यावरणीय संकट बृद्धि हुने विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्षको ८–९ महिना चुप लागेर वर्षायाम लाग्ने बेला जेठमा खोला उत्खनन् गर्न दिने काम बन्द गर्न अध्यक्ष पोखरेलले माग गरेका छन् । हरेक क्षेत्रमा रहेका बेथिति, बिसंगती र कुशासन अन्त्य गर्न प्रभावकारी कदम चाल्न सम्बन्धित सरकारी निकायसंग पोखरेलले माग गरेका छन् ।
यसअघि समाजवादी मोर्चामा रहेका तीन दल, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले समेत विज्ञप्ति निकालेर रुपन्देहीका खोलाहरुमा मापदण्ड मिचेर भइरहेको उत्खनन् र पालिकाले तोकेको ठाउंमा घाटगद्दी गर्नुपर्ने ढुंगा, गिटी,बालुवालाई क्रेसर उद्योग लगायत अन्यत्र पु¥याएर भइरहेको चोरी निकासी रोक्न माग गरेका थिए । तर सिडिओ, एसपी, पालिकाका पदाधिकारी र कर्मचारी, जिल्ला समन्वय समितिले झारा टार्ने अनुगमन गरेर जथाभावी उत्खनन् र चोरी निकासीलाई रोक्न नसकेको स्थानीय प्रत्यक्षदर्शी बासिन्दाको गुनासो छ । प्रभावकारी अनुगमन र कारवाही नहुंदा एक महिनामै करोडौं मूल्यको ढुंगा,गिटी बालुवा चोरी हुने र राज्यको ठूलो राजस्व गुम्ने गरेको छ । खोलाहरुमा मनपरी दोहन र उत्खनन् रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका समेत कमजोर देखिएको छ । खोलाको ठेक्कामा मनोमानी गर्न सिडिओ,एसपी,पालिकाका पदाधिकारी लगायतको मिलेमतोमा करोडौं रुपैयांको मोलमोलाई हुने गरेको आरोप छ । आर्थिक मोलमोलाईकै कारण झारा टार्ने अनुगमन गरेर ठेकेदारलाई बद्मासी गर्न छुट दिने गरिएको सम्बन्धित क्षेत्रकै व्यवसायीहरु बताउंछन् ।




