क. पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव हुन् । उनको जन्म वि.स. १९९१ असार १५ मा भएको थियो भने मृत्यु २०३५ श्रावण ७ गते भएको हो । जन्म स्थान रामेछाप जिल्लाको भंगेरी गाउँमा भएको थियो । उनी सहिद गंगा श्रेष्ठका भाइ पनि हुन् । २२ अप्रिल १९४९ मा नेकपाको गठन भयो । ४ अप्रिलमा नेकपा स्थापनाका लागि एउटा पहिला पर्चा प्रकाशित गरियो । १५ सेप्टेम्बर १९४९ मा नेकपाको घोषणा पत्रको सार्वजनिक गरियो । यसभन्दा पहिले २००५ सालमा नै क. पुष्पलालले माक्र्स–एंगेल्सद्वारा रंचित सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रको प्रथम नेपाली अनुवाद गरेका थिए । त्यो अनुवादको पहिलो संस्कारको भूमिकामा भनिएको थियो–‘जस्तो आज चालिस राणाहरुको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न त्यस्तै भोलि २०० सय नेपाली जमिनदार र पुँजीपतिहरुको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न । नेपाल तब मात्र पूर्णरुपले आजात (स्वतन्त्र) हुन सक्छ जब यो कम्युनिष्ट घोषणा पत्र नेपालमा कार्य रुपमा परिणत हुनेछ । अतएव यो पढ्नु, पढाउनु र प्रचार–प्रसार गर्नु पनि नेपाली जनमुक्ति आन्दोलनमा भाग लिनु हो ।’
त्यस्तै नेकपाको पहिलो घोषणापत्रमा उल्लेखित विभिन्न नाराहरुमध्ये एउटा नारा थियो, ‘एउटा नेपाली भाइ पनि साम्रराज्यवादी लडाइँको चारा बन्न दिने छैनौ चाहे मलाय होस्, चाहे हिन्दुस्तान वीर नेपाली भाइ हो– हातमा भएको बन्दुकले ती साम्रराज्यवादी डाँकाहरुको निशाना ताक, देशका प्रत्येक भाइ मजदूर, किसानसँग गला मिलाउ ।’ त्यस्तै अर्काे नारा ‘सोभियत युनियन, नव प्रजातन्त्र, आजात (स्वतन्त्र) चीन विश्व मजदुर वर्गको आन्दोलन र विश्व कम्युुनिष्ट आन्दोलनसँग हाम्रो एकता जिन्दावाद ।’ उक्त घोषणापत्रमा उल्लेखित विभिन्न कार्यक्रमहरुमध्ये पहिलो थियो, ‘सामन्ती एकतन्त्रवाद तथा विदेशी अधिनायकत्वको पूर्ण उन्मूलन र पूर्व तथा वास्तविक स्वाधिनता ।’ दोस्रो ‘मजदुर, श्रमजीवी, किसान र उत्पीडित निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार जसले अंग्रेज–अमेरिकी साम्रराज्यवाद र त्यसको भारतीय पिछलग्गुहरुसितको विरोध हुनेछ ।’ यसका साथै त्यसमा विना मुआवजा जमिनदारी प्रथा र सबै खाले सामन्ती शोषणको उन्मूलन र जोताहाहरुलाई जमिनको वितरण गर्नु, ग्रामीण ऋण खतम गर्नु, कृषि मजदूरहरुलाई जीवनयोग्य ज्याला । ’
‘बैंक, औद्योगिक तथा यातायात व्यवसाय, बगान खानी आदिमा लगाइएको विदेशी पुँजी राज्यद्वारा जफत गरिनु र ती व्यवसायहरुको राष्ट्रियकरण गर्नु ।’
‘स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार’ यी आदि विभिन्न अन्य कार्यक्रमसहित एउटा मुख्य कार्यक्रम थियो । ‘आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु आदि ।’
यी माथि उल्लेखित विभिन्न नारा र कार्यक्रम क. पुष्पलाल कै उपज र योजना थियो । यी सबैको के कति दुरगामी महत्व छ ? जुन अहिलेसम्म पनि पूरा भएका छैनन् । पटकपटक देशमा कम्युनिष्ट नेतृत्वको सरकार बन्यो तर यी सबैले यसप्रति भन्दा आ–आफ्नै व्यक्तिगत र गुटगत स्वार्थप्रति बढी केन्द्रित हुने गरेका छन् । त्यसका लागि देशी तथा विदेशी सामन्ती, साम्रराज्यवादी र विस्तारवादीहरुकै दलाली र चाकडी नै गर्ने गरिरहेका छन् ।
नेकपाको स्थापना अनि यसले अघि सारेका नारा र कार्यक्रम अनुसार क. पुष्पलालले सर्वप्रथम २००७ सालको निरंकुश जहाँनियाँ राणा शासनको अन्त्यका लागि जनतालाई संगठित पार्दै आन्दोलन अगाडि बढाउने प्रयत्न गरे । नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो भन्ने रचनामा क. पुष्पलालले लेखेका छन्–‘वीरगञ्जमा भएको फौजी हमला यसैको झलक थियो । यो हाम्रो जातीय मुक्ति आन्दोलनको एउटा हिस्सा थियो । सुवर्ण–राजा–कोइराला मण्डली हामीलाई सशस्त्र संघर्षबाट अलग गराउनका निम्ति कोसिस गरे । यसमा नेहरु सरकारको पनि पूरापुर सहयोग थियो । उनीहरुको सारा कोसिसलाई व्यर्थ गरिकन हामीहरुले सक्रिय रुपले सशस्त्र संघर्षको आधारलाई बढाएर क्रान्तिलाई सफल गर्न कोसिस ग¥यो । देशका सम्पूर्ण क्रान्तिकारी शक्तिहरु रणक्षेत्रमा उत्रे । ठाउँ–ठाउँमा जनविद्रोह हुन थाल्यो । किसानहरुले जमिन दखल गरी सामन्त शाहीलाई खतम गर्न थाले । क्रान्तिको लहरले सबै वर्गहरुलाई लपेट्यो । तर पछि यो क्रान्तिमा गद्दारी भयो र म्यादी सरकारको स्थापना गराइयो भन्दै क. पुष्पलाल अघि लेखेका छन्–‘जनताको यस्तो तागतदेखि विश्वका सारा प्रतिक्रियावादी शक्तिहरु डराए । अंग्रेज–अमेरिकी साम्राज्यवादी, हिन्दूस्तानका ठूला पुँजीपति, त्रिभुवन, कोइराला र दिल्ली सम्र्झौता जनतामाथि लादिए । हरेक मोर्चा जित्दै अगाडि बढिरहेको क्रान्तिप्रति गद्दारी गरी प्रतिक्रियावादीहरुले नेपालमा त्रिभुवन–राजा–कोइराला सम्झौताको म्यादी सरकार खडा गराए । जनताको आँखामा छारो हाल्न विधान सभा, चुनाव, प्रजातन्त्र र दुई वर्षपछि सबै कुराहरु ठीक हुन्छ भन्ने भ्रम फैलाए ।’
क. पुष्पलाल एक राष्ट्रभक्त गणतन्त्रवादी कम्युनिष्ट नेता हुन् । कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उनले देशको राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रको पक्षमा अनावरण उठाइरहे । नेपालमा भएका त्यस्ता सम्पूर्ण असमान सन्धि सम्झौताको विरोध गर्दैै आए । ई.स. १८१६ को सुगौली सन्धि, १९५० को भारत– नेपाल शान्ति र मैत्री सन्धि, १९६५ मा नेपाल– भारतसँग भएको सैन्य सन्धि, त्यस्तै वाणिज्य र पारवहन सन्धि, कोशी–गण्डक नहर सन्धि सम्झौता आदि सबैमा उनको विरोध छ । यी सबै सन्धि सम्झौतामा वृटिस, भारत अनि नेपालका शासक राजा–राणा साथै नेपाली कांग्रेस सबैको सहमति छ । खाली एक मात्र विरोध नेकपा र त्यसका संस्थापक नेता–कार्यकर्ताहरुको मात्र रहेको छ । त्यसैले नेपालको एक मात्र देशभक्त पहिलो पार्टी नेकपा र यसका संस्थापक नेता क. पुष्पलाल नै हुन् ।
क. पुष्पलाल एउटा प्रमुख देशभक्त र जनवादी देशका कम्युनिष्ट नेता मात्रै नभएर एउटा कम्युनिष्ट अन्तर्राष्ट्रवादी नेता पनि हुन् । उनले चिनियाँ कम्युनिष्ट पार्टीको नवौं राष्ट्रिय कांग्रेसको सफलता माथि हर्ष व्यक्त गर्दै भनेका छन्–‘यो सोभियत संशोधनवादी गुटद्वारा नेतृत्व गरिएको अन्तर्राट्रिय संशोधनवादमाथि माक्र्सवाद–लेनिनवाद र माओवादको महान विजय हो । यसले संसारका क्रान्तिकारीहरुलाई ठूलो प्ररेणा दिएको छ । साम्रराज्यवाद विरोधी जनवादी आन्दोलनलाई क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई बल पु¥याउँदै समाजवादी क्रान्ति र निर्माणमा झनै बलियो बनाएको छ ।’
क. पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना अनि त्यस अनुरुपको विचार सिद्धान्त र कार्यक्रम अघि सारे पनि नेकपाको पहिलो महाधिवेशनमा त्यसको नेतृत्व गर्ने जिम्मा उनलाई दिइएन । त्यसको नेतृत्वमा मनमोहन अधिकारीलाई लाइयो । त्यसपछि नेकपालाई क्रमशः दक्षिणपन्थीधारमा अघि बढाउने काम भयो । पार्टीको मूल नीति गणतन्त्रको भए पनि मनमोहन नेतृत्वले पार्टी माथिको प्रतिबन्ध हटाउने नाममा राजतन्त्र स्वीकार्ने शर्तमा पार्टीमाथिको प्रतिबन्ध त हट्यो, तर पार्टी संवैधानिक राजतन्त्र हुँदै राजावादी लाइनमा पुग्यो । मनमोहन पछि बनेका पार्टी महासचिव केशरजंग रायमाझीपछि खुलेरै राजावादी भई कम्युनिष्ट पार्टीको अस्तित्व र गरिमामाथि ठूलो गद्दारी गरे ।
२०१७ सालको राजा महेन्द्रको फौजी ‘कु’ पछि एक प्रकारले नेकपा छिन्न भिन्न र अस्तित्वविहीन जस्तै भयो । पार्टीको तेस्रो महाधिवेशन त भयो, तर त्यसको नेतृत्व पनि दक्षिणपन्थी अवसरवादीहरुकै हातमा पुग्यो । त्यो बेला पार्टीमा क.पुष्पलालको संसद पुनस्र्थापना र मोहनविक्रमको संविधानसभाको नारा अल्पमतमा प¥यो । थुप्रै नेताहरु गिरफ्तारीमा परे भने धेरै भारतमा पुर्नवास बस्न बाध्य भए । तैपनि नेकपाको पुनर्निर्माणका लागि क.पुष्पलालले २०२५ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गोरखपुरमा सम्पन्न गरी नयाँ जनवादी क्रान्तिको एक मात्र सही बाटो अघि बढाए । तर त्यसको लगत्तै २०२७ साल मोहन विक्रम, मनमोहन, भरतमोहन र निर्मल लामाहरुले पार्टीको केन्द्रीय–न्यूक्लियस गठन गरी नेकपाको पुनर्निर्माणका लागि पहल कदमी भयो । त्यस्तै २०२८ सालमा झापालीहरुले झापा विद्रोह थालनी गरी जबर्जस्त पार्टी पुनर्निर्माणको थालनी भयो ।
यतिबेला उदाएका यी तीन धारामध्ये पहिलो २०३५ सालमा र पुष्पलालको मृत्युपछि त्यो क्रमशः कमजोर हुँदै अहिले विसर्जनमा छ । दोस्रो मोहन विक्रमको चौ.म. हुँदै मशाल त्यसपछि टुटफुट हुँदै नेकपा माओवादी र मसालमा रुपान्तरित छ । त्यस्तै तेस्रो नेकपा (माले) हुँदै अहिले यी तिनै धाराले घुमाई फिराई क. पुष्पलालकै लाइनलाई आत्मसात गर्दै आएका छन् । हिजो क. पुष्पलाललाई गद्दार भने पनि अहिले त्यही क. पुष्पलालको लाइनलाई अनुसरण गरी अहिले पनि आफूलाई सच्चा क्रान्तिकारी कम्युनिष्ट भन्दै आइरहेका छन् । हिजो क. पुष्पलाललाई गद्दार भनी छिःछिः र दुरदुर गर्नेहरु अहिले पुष्पलालभन्दा अझ कैयौं गुना बढी गद्दार हुने गरेका छन् । उनीहरुले पुष्पलाललाई गद्दार भन्ने केही आधारमध्ये पहिलो आधार थियो–कांग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको बुर्जुवा पार्टी । त्यस्तै अर्काे थियो कांग्रेस सहितको राष्ट्रिय संयुक्त मोर्चा र संयुक्त जनआन्दोलन ।
आज यही पुष्पलालको लाइन अन्तर्गत हिजो पुष्पलाललाई गद्दार घोषित गर्ने झापाली र मसाल कांग्रेससित संयुक्त मोर्चा र आन्दोलन मात्रै होइन उ नेतृत्वको सरकार वा सम्मिलित सरकारमा नै सहभागी भई मन्त्री नै बन्ने गरेका छन् । आखिर पुष्पलाललाई उनीहरुले त्यतिबेला गद्दार भन्नुका पछाडि त्यस्तो कुनै सैद्धान्तिक र राजनीतिक मूल कारण थिएन । कारण खाली व्यक्तिगत पूर्वाग्रह र उग्रवामपन्थी सोंच नै थियो । यसको अर्थ क. पुष्पलालले अघि सारेको यो नीति सम्पूर्ण रुपमा सही नै थियो भन्ने होइन । नेपाली कांंग्रेसलाई देशभक्त र राष्ट्रिय पूँजीपति वर्गको पार्टी भनी त्यससँग यस प्रकारको मोर्चा बनाई अघि बढ्ने नीति क.पुष्पलालको कमजोरी थियो । पहिलो कुरा त कांग्रेस देशभक्त पार्टी नै होइन दोस्रो न वर्गीय रुपमा राष्ट्रिय पुँजीपतिको पार्टी नै हो । स्वयं पुष्पलालका कैयौं भनाइले यसको पुष्टि गरिसकेको थियो । जस्तो पुष्पलालले २००७ सालमा सम्पन्न राजा–राणा र कांग्रेसबिच सम्पन्न त्रिपक्षीय दिल्ली सम्झौताको विरोध गर्दै भनेका छन्–‘हरेक मोर्चामा जित्दै अगाडि बढिरहेको क्रान्तिप्रति गद्दारी गरी प्रतिक्रियावादीहरुले नेपालमा त्रिभुवन, राणा, कोइराला सम्झौता गरी म्यादी सरकार खडा गराए । जनताको आँखामा छारो हाल्न विधानसभा, चुनाव, प्रजातन्त्र आदि हुन्छ भन्ने भ्रम फैलाए ।’ यस्तो क्रान्तिमा गद्दारी गर्ने राजा–कांग्रेस कहिले पनि सच्चा देशभक्त र जनवादी, वर्गीय रुपमा राष्ट्रिय पुँजीपति पनि हुनै सक्दैन । कांग्रेसको यही राष्ट्रघाती र दलाली चरित्र त्यसपछि पनि पटकपटक प्रदर्र्शन गर्दै आएको छ ।
अहिले पनि कांग्रेस पार्टीले अमेरिकी साम्रराज्यवाद र भारतीय विस्तारवादको नाङ्गो रुपमा दलाली र चाकडी गरिनै रहेको छ । दुनियाँले इजराइली साम्राज्यवादको प्लाइटाइनमाथिको नांगो हस्तक्षेप आक्रमणको निन्दा र घृणा गरिरहँदा पनि अमेरिकी साम्राज्यवादको इशारामा त्यसको समर्थन गरिरहेको छ । त्यस्तै भारतीय विस्तारवादको पाकिस्तान आक्रमणको समर्थन आदि उदाहरणले ने.का. मा देशभक्त र राष्ट्रिय चरित्र देखा पर्दैन । त्यस्तो पार्टीलाई देशभक्त र जनतान्त्रिक पार्टी भन्नु र त्यसको नेतृत्व वा समझदारीमा आन्दोलन गर्ने कुरा गर्नु अर्काे जन र राष्ट्रघात हो । जुन अहिले देखा परेको माओवादी–एमालेको कांग्रेसी पिछलग्गुको परिणाम देखा परिरहेको छ । क.पुष्पलाल एउटा सच्चा देशभक्त, जनवादी र गणतन्त्रवादी हुँदाहुँदै पनि २०१७ सालपछि उनले अघि सारेको सांसदको पुनस्र्थापनाको नाराले कांग्रेसको पिछलग्गु जस्तो अझ सारमा भन्दा संवैधानिक राजतन्त्रका पक्षपाती भए जस्तो देखिएकाले उनीप्रति अरु वाम नेताहरु आकर्षित हुन त्यतिबेला सकेनन् । जसको परिणाम चौ.म. मसाल अनि झापा विद्रोह र नेकपा (माले) बन्ने र झाँगिने मौका पाए ।
अन्त्य क.पुष्पलालका यी केही कमजोरीका बाबजुद उहाँ एउटा माक्र्सवादी–लेनिनवादी र माओ विचार धारका पक्षपाती कम्युनिष्ट नेता हुन् । नेपालमा कम्युनिष्ट विचार र सिद्धान्त अनि त्यस अनुरुप कम्युनिष्ट पार्टी निर्माण गर्नु उनको महान कार्य हो । त्यसैले क. पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा सदा अमर व्यक्तित्व हो । यस्तो व्यक्तित्वको यो सतवार्षिक समारोहमा यो लेख लेखी स्मरण गरिएको छ । यही जेठ २४ गते माक्र्स विचार मञ्च नेपालले यसै सन्दर्भमा क. पुष्पलालको स्मरण गरेको छ । अन्त्यमा श्रद्धा सुमन र लाल सालम क.पुष्पलाल ।




