२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आर्थिक उपार्जनसँगै समाज परिवर्तनको आस

आर्थिक उपार्जनसँगै समाज परिवर्तनको आस

आर्थिक उपार्जनसँगै समाज परिवर्तनको आस

आर्थिक उपार्जनसँगै समाज परिवर्तनको आस

आर्थिक उपार्जनसँगै समाज परिवर्तनको आस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • प्रतिमा गौतम- बुटवल । बुटवल नगरपालिकाले नगरवासीहरूलाई स्वरोजगार बनाउने अभियान सञ्चालनमा ल्याएको छ । यो अभियानअन्तर्गत बुटवल उप–महानगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम त्यस्तै उपप्रमुख उद्यमशिलता कार्यक्रम र मेयर युवा इलम कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रममार्फत् युवा तथा गृहिणी महिलाहरूका लागि स्वरोजगार  उद्यमी बन्न र रोजगार सिर्जना गर्नका लागि ठूलो सहयोग मिलेको छ । 


    बुटवल उप–महानगरपालिका वडा नम्बर ३ आदर्शनगरमा देशका विभिन्न कुनाबाट महिलाहरू जम्मा भएका छन् ।  उनीहरु त्यहाँ जुत्ता बनाउने तालिम सिक्नका लागि जम्मा भएका हुन् । काखे बालक सँगसँगै जम्मा भएका दिदी बहिनीहरुले बुटवलबाट सीप सिकेर आ–आफ्नो क्षेत्रमा काम गर्ने र व्यावसायिक हुने योजना बनाएका छन् ।  २१ महिनाकी काखे छोरी र श्रीमानसँगै प्यूठानकी विमला सुनार यतिबेला सीप सिक्न व्यस्त छिन् ।  उनी भन्छिन्–‘टिकटक देखेर यहाँ आएकी छु, श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ, अहिले घरमा आएको बेलामा मलाई त्यहाँ लिएर जानुभयो । ६ वटा तालिमले राम्रै भयो भने श्रीमानलाई विदेश नपठाउने सोँचमा छु ।’ 


    देशका विभिन्न भूगोलका महिलाहरुलाई जम्मा पारेर सीप सिकाउँदै आफू व्यवसायिक र स्वरोजगार बन्न सक्ने भएकी छिन्, बुटवल उप–महानगरपालिका वडा नम्बर ३ की ह्यान्डमेड (सियोना) लेडिज–स्लिपर्सकी सञ्चालक ओसिन थापा गुरुङ । बुटवल उप–महानगरपालिका वडा नम्बर ३ बाट जुत्ता चप्पल बनाउने तालिम लिएपछि ओसिनको जीवनमा ठूलो परिवर्तन आएको छ ।  ‘टोल विकास समितिको सहयोगमा हामीले वडा कार्यालयमा जुत्ता, चप्पल बनाउने तालिमको माग लिएर गएका थियौँ ।

    हाम्रो मागलाई सहर्ष स्वीकार गरी १ लाख रुपैयाँ बजेट विनियोजन गरिदिनुभयो । २८ जना सहभागी भएका थियौं । अहिले ३ जनाले काममा निरन्तरता दिइरहेका छौँ र सफल पनि भएका छौँ ।’– ओसिनले भनिन् । तालिम दिन व्यस्त उनले मासिक ३ लाखसम्म कमाइ गर्न सफल भएको बताउँदै बुटवल उप–महानगरपालिकाले आफ्नो स्थापना दिवसमा उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान समेत गरेको भन्दै खुसि व्यक्त गरिन् ।

    अहिले सामाजिक सञ्जालबाट आफ्नो व्यवसायलाई फस्टाउने काम गरिरहेकी छु । फेसबुक, टिकटक, इन्स्ट्राग्रामलगायतका विभिन्न क्षेत्रहरुलाई उचित रुपमा सदुपयोग गर्दै  आफूलाई यो स्थानसम्म आएको उनले बताइन् ।  चप्पल बनाउने तालिम लिएर अहिले आफ्नै घरेलु उद्योग खोली ३५ वटा डिजाइनको चप्पल बनाएर बेच्दै उनी आत्मनिर्भर भएकी छिन् । ५ हजारबाट सुरु गरेको व्यवसायले नयाँ उर्जा उनमा थपिएको छ । घरमा पनि सबैजना ‘आफ्नो ठाउँमा व्यवसाय गरिरहनुभएको छ ।  सासु श्रीमानको छुट्टाछुट्टै व्यवसाय छ,  म आफूलाई पनि केही गर्नुपर्छ भन्ने खालको सोंच आइरहन्थ्यो, बुटवल उप–महानगरपालिकाले यो अवसर जुटाइदियो म खुसी छु ।’– ओसिन भनिन् । 


    उनी आफू मात्र सफल भएकी छैनन् सँगसँगै आफूसँगै ५ जना दिदी बहिनीहरुको लागि रोजगारी पनि दिएकी छन् । ह्यान्डमेड (सियोना) लेडिज–स्लिपर्सको भाउ ३५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।


    अहिलेसम्म फ्ल्याट चप्पल मात्र बनाइरहेकी ओसिन अब हिल चप्पल पनि ल्याउने तयारीमा छिन् । ग्राहकले धेरै माग गरेकाले यस्तो चप्पल बनाउन लागेको उनले बताइन् ।  


    ‘बुटवल नगरपालिकाले धेरै तालिमहरु दिइरहेको छ । आफूलाई चित्त बुझ्ने तालिम लिएर धेरैतिर नलागि एउटै विषयमा दत्तचित्त भएर काम गर्ने हो भने अवश्य सफल भइन्छ ।’ – उनले भनिन् । 


    ओसिनसँगै तालिम लिएका बुटवल वडा नम्बर ३ कै सुनिता गुरुङ र सविता थापा पनि अहिले सफल व्यवसायी बनेका छन् । उनीहरु चप्पल बनाउँदै बेच्दै मात्र नभएर सफल प्रशिक्षक समेत बनेका छन् । त्यसैले नगरपालिकाले बुटवलका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर गराउनका लागि बत्ती काट्ने, फेशन डिजाइन, टेलरिङ, जुत्ता चप्पल बनाउने तालिम, बाटेको धूप बनाउने तालिम, कम्प्युटर तालिम, नेतृत्व विकास, बाद्यबादनलगायतका धेरै तालिमहरु प्रत्येक वर्ष दिँदै आइरहेको छ । 
    त्यस्तै बुटवल ८ की सिम्रन सुनार पनि वडाले दिएको तालिम पाएर आत्मनिर्भर बनेकी छिन्  । ‘सकिन्छ जस्तो लागेको थिएन, तर आँट गरेपछि हुँदोरहेछ । बिहान–बेलुका घरको काम सकेर दिउँसो चप्पल बनाउँछु  ।’–सिम्रनले भनिन् । 

     


     त्यसैगरी बुटवल वडा नम्बर ६ का महिलाहरु अचार बनाउने तालिम पाएपछि उद्यमी बन्न थालेका छन् । २०८१ जेठमा उनीहरूले अचार तथा मस्यौरा बनाउने तालिम ल्याएपछि समूहमा काम सुरु गरेका हुन् । हातेमालो महिला उद्यमी समूह गठन गरेर ७ जना महिलाहरुले काम अगाडि सारेका छन् । बुटवल ६ ट्राफिकचोकमा रहेको हातेमालो महिला उद्यमी समूहले अहिले आँप, अमार,  कागती, खुर्सानी, लसुन, अदुवालगायतका विभिन्न किसिमका अचारहरु बनाएर बिक्री वितरण गरिरहेका छन् । ‘समूहमा बसेर काम गर्दा रमाइलो हुने रहेछ, दुःख सुख साट्दै काम गर्ने वातावरण मिलेको छ । विभिन्न किसिमका अचार अरु बनाएका छौं, सँगसँगै २ जना महिलालाई रोजगारी पनि दिन सफल भएका छौं ।’– हातेमालो महिला उद्यमीका उपाध्यक्ष शारदा श्रेष्ठले भनिन् ।
     संस्थाका संरक्षक लक्ष्मी भट्टराईले पैसाकै लागिभन्दा पनि हामी समूहमा काम गरौं, केही सुख, दुःख साटौँ र अरूका लागि पनि प्रेरणाको स्रोत हुने हिसाबले काम गरिरहेको विचार उनले व्यक्त गरिन् । 


    ‘खाली दिमाग शैतानको बास भन्छन्, ६ जनाले १०, १० हजार लगानी गरेर सुरु गरेका हौं । अहिले काम गर्न जाँगर बढेको छ ।’–उनले भनिन् । 


    त्यस्तै बुटवल उप–महानगरपालिका वडा नम्बर ३ की प्रियंका गुरुङले २०८१ मा वरिष्ठको तालिम लिइन् । वरिष्ठको तालिममा सहभागी भएपछि अहिले प्रियंकाले सीप अनुसारको रोजगारी पाएकी छिन् ।   ‘घर चलाउन सजिलो भएको छ,   रोजगारी पाएकी छु, राम्रो गर्न सके  आफ्नै केही गर्ने सोंच पनि छ र यो सँगै अझँै एडभान्स तालिम पाउन पाए राम्रो हुने थियो,’ प्रियंकाले भनिन्–‘हामीले हातैले बनाउने चप्पल डिजाइनदार त हुन्छ नै, लगाउन पनि निकै सजिलो छ । तुलनात्मक रूपमा सस्तो छ । धुन पनि मिल्छ ।’

    उप–महानगरपालिकाको तथ्यांकअनुसार २०८१-०८२ मा मात्रै ९० जना महिलालाई जुत्ताचप्पल बनाउने तालिम दिइएको थियो । अन्य तालिमहरू–जस्तै, फेसन डिजाइन, सिलाइकटाइ, पार्लर तालिम, ज्येष्ठ नागरिक केयर गिभर तालिम, बालबालिका सहजकर्ता तालिम पनि सञ्चालित छन् ।


    बुटवल उप–महानगरपालिका वडा नं. ३ का अध्यक्ष यज्ञ विष्णु ढकालले आवश्यकताअनुसार सीप विकासअन्तर्गत जुत्ता बनाउने, कांैसी खेती तालिम, धुप बनाउने तालिम, नेतृत्व विकासलगायतका कार्यक्रमहरु गरिएको बताए । यस्ता सीपले आत्मनिर्भर र नेतृत्वमा अग्रसर हुन सहयोग समेत गरेको छ । 


    महिलाहरुलाई घरबाट बाहिर निस्किन नदिने अवस्थाबाट हामी आएको महिलाहरूलाई अधिकार दिने पक्षमा लागिरहँदा वास्तवमा महिलालाई आर्थिक आयआर्जनमा जोड्न आर्थिक रुपले आत्मनिर्भर बन्नुपर्छ भनेर योजना बनाएर काम गरेको नगर उप–प्रमुख सावित्री अर्यालले जानकारी दिइन् । ‘महिलाहरुलाई सीप र रोजगारमा जोडियो भने मात्र महिला सशक्तिकरणले सार्थकता पाउँछ ।’– नगर उप–प्रमुख अर्यालले भनिन् ।


    नगरले स्वदेशमै रोजगारी श्रृजना गरेर आत्मनिर्भर बनाइ आत्मसम्मानका साथ आफ्नो निर्णय गर्न सक्ने अब्बल बुटवलवासी बनाउने भन्दै धेरै बजेट विनियोजन गरी कार्यान्वयन गरिरहेको छ । बुटवल उप–महानगर पालिका प्रमुख खेलराज पाण्डेले सबै नगरवासीलाई सीपसँग जोड्ने रोजगारी प्रदान गर्ने संगठित गराउने सामाजिकरण हुने र आफ्नो अनुभव आदानप्रदान गर्दै समाजमा भइपरी आएका विविध काममा सहयोग गर्ने गरी अभियानकै रुपमा लागेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij