विद्यार्थी राजनीतिमा चिकित्सक, इञ्जिनियर र परिचारिका (नर्स) हरूको आकर्षण देखिनु मुलुकको समृद्धि र लोकतन्त्रको सवलीकरणका लागि आशालाग्दो विषय हो । नयाँ पुस्ता राजनीतिप्रति विकर्षण भइरहेको भन्ने सञ्चार प्रवाह भइरहेको बेला एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा डा. सुजन कडरियासहित तीन चिकित्सक निर्वाचित भए । त्यसैगरी, उपाध्यक्ष विकास श्रेष्ठसहित १३ इञ्जिनियर केन्द्रीय नेतृत्वमा निर्वाचित हुँदा मूलधारका राजनैतिक दलमा अब नयाँ पुस्ताले नयाँ दृष्टिकोणसहित हस्तक्षेत गर्दैछ भन्ने संकेत मिलेको छ ।
२०४६ सालको परिर्वतनपछि राजनीति र दलमा स्थापित नेतृत्वले अहिलेसम्म पार्टी र राजकीय सत्ता सम्हालिरहेको छ । लामो समयदेखि पार्टी र राजकीय सत्ता सम्हालेको पुस्ताप्रति क्रमशः आकर्षण घट्दो छ । राजनीतिमा नयाँ पुस्ताप्रति आकर्षण बढ्दो छ । यही आकर्षणकै कारण अनेरास्ववियूमा फरक पृष्ठभूमिका व्यक्तिहरु नेतृत्वमा आउनु विद्यार्थी राजनीति र अनेरास्ववियूका लागि राम्रो हो नै, मातृ पार्टी एमालेको सुन्दर भविष्यका लागि सकारात्मक मान्नुपर्छ । राजनीतिक दल विचारले निर्देशित हुन्छन् ।
विचारले निर्देशित दल अनुशासित र जिममेवार हुन्छन् । विचार नभएकाहरु अराजक हुन्छन् । मूलधारका दलसँग विचार छ, विचारलाई सही ढंगले निर्देशित नगर्ने र नागरिक आकांक्षा पूरा नगर्ने प्रवृत्तिले राजनीतिप्रति नागरिक निराश भएका हुन् । तर अनेरास्ववियूमा निर्वाचित नेतृत्वले परम्परागत ढंगले विद्यार्थी राजनीति नचल्ने त्यसका लागि फरक ढंगले जाने उद्घोष गरिसकेको छ । राजनैतिक दलका लागि युवा विद्यार्थीको संगठन नेतृत्व उत्पादनका कारखाना हुन् । अहिलेको अखिलको नेतृत्वले साँच्चै अहिले भन्दा फरक ढंगले काम गरेर आफूलाई अब्बल देखाउन सक्यो भने त्योे एमालेको पार्टी जीवनमा समेत प्रभाव पार्न सक्छ । समग्रमा एमालेलाई मात्रै नभएर अरु राजनैतिक दल र संगठनलाई पनि प्रभाव पार्न सम्भव छ ।
अनेरास्ववियुको अध्यक्षमा काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण डा. कडरिया निर्वाचित भएपछि देशका विभिन्न भूभागमा गएर स्वयंमसेवक चिकित्सकको रूपमा पनि काम गरेको अनुभव छ । त्यही लगन, मिहिनेत र क्रियाशीलताको आडमा उनले म्याग्दीका प्रकाश पौडेललाई सात मतले पराजित गर्दै अनेरास्ववियुको २४औं अध्यक्ष बने । देशका विभिन्न भागमा संवयसेवक भई खटिदा उनले समाजलाई नजिकबाट बुझ्ने अवसर पाएका छन् । विद्यार्थी राजनीति श्रृजनात्मक नभइरहेको र परम्परागत ढंगले चल्दा नयाँ पुस्ताको विकर्षण बढेको हो । सत्ता विरोधी गतिविधि गर्न अब्बल भएको विद्यार्थी संगठन अब मुद्दाका आधारमा अघि बढ्न सक्दा विद्यार्थीलाई संगठित गर्न सम्भव छ ।
अनेरास्ववियूमा नयाँ नेतृत्वले श्रृजनशिल ढंगले काम गर्न सक्दा मुलुकको राजनीति सही दिशामा अघि बढ्ने माहौल तयार हुनसक्छ । अरु विद्यार्थी संगठनमा पनि विभिन्न विषयमा दक्ष व्यक्ति नेतृत्वमा आउन सक्छन् । पार्टी राजनीतिको नर्सरी विद्यार्थी र युवा संगठन भएकाले विद्यार्थी र युवा संगठन श्रृजनशिल र गतिशिल हुँदा उनीहरुले भविष्यमा माउ पार्टीलाई सही बाटोमा हिंडाउने सामथ्र्य राख्न सक्छन् ।




