कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आ.व. २०८२-०८३ का लागि ‘एक वडा एक बाली उत्पादन’ भन्ने नारासहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये कञ्चनले आगामी वर्षका लागि सबैभन्दा पहिले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पालिकाको १८औं गाउँसभामार्फत् पालिका अध्यक्ष नवराज ढकालले समुन्नत कञ्चन, सुखी कञ्चनवासी भन्ने नारालाई सार्थक तुल्याउने दर्जनभन्दा बढी महत्वाकांक्षासहित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । अध्यक्ष ढकालले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न नेपालको संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहको सरकारको रुपमा रहेको कञ्चनले आफ्नो पालिकाको १८औं गाउँसभामार्फत् नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पालिकाको वार्षिक नीति तथा कार्यक्रममा हाम्रो कञ्चन नामक स्थानीय पाठ्यक्रममार्फत् विद्यालय तहबाटै कञ्चनको ऐतिहासिक, धार्मिक तथा सांस्कृति सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्न स्थानीय पाठ्यक्रमको लेखन तथा प्रकाशन गरी कार्यान्वयन गर्न लागिएको र त्यसका लागि शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने नीति अख्तियार गरिएको अध्यक्ष ढकालले पालिकाको वार्षिक नीति तथा कार्यक्रमम उल्लेख गरेका छन् ।
अध्यक्ष ढकालले नीति तथा कार्यक्रममार्फत् कञ्चनलाई कृषि उतपादनमा आत्मनिर्भर बनाउन तरकारी मूल्य श्रृंखला परियोजना, आफ्नै उत्पादन खाउँ, कञ्चनमै रमाउँ, घर–घरमा प्राविधिक सेवा उत्पादनमा टेवा, बाली बिमा, पालिकाले सोंचेका, कृषकले रोजेको, पशुहरुमा नश्ल सुधार, उत्पादन वृद्धिको आधार, मागमा आधारित पशुपन्छी विकास कार्यक्रम जस्ता लोकप्रिय र महत्वाकांक्षी नारा सार्वजनिक गरेका छन् ।
यस्तै श्रम तथा रोजगारतर्फ प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत् सबै घरधुरीमा रोजगारीको अवस्था अभिलेखीकरण गरी बेरोजगार व्यक्तिहरुको व्यवस्थित अभिलेख तयार गरी सूचीकृत बेरोजगार व्यक्तिहरुलाई कार्यस्थलमा तालिमसहित रोजगार उपलब्ध गराउने, वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, भरपर्दो र सहज बनाउन व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदानसम्बन्धी कार्य रोजगार सेवा केन्द्रबाट गरिने नीति अख्तियार गरिएको, एक परिवार एक रोजगार, श्रमको सम्मान, राष्ट्रको अभियान, श्रम संसार जस्ता कार्यक्रमहरु पनि अध्यक्ष ढकालले सार्वजनिक गरेका छन् ।
पर्यटनतर्फ भने अतिथि देवोः भवः भन्ने संस्कारलाई कायम राख्न स्थानीयस्तरमा होम स्टे सञ्चालनमा प्रोत्साहन गरी कञ्चनमा रहेको विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्धनमा विशेष जोड दिइने उल्लेख गरिएको छ । यसैगरी कञ्चनमा रहेका सहकारी तथा वित्तीय संघ संस्थाहरुलाई कञ्चनको विकाससँग जोड्न नियमन र अनुगमनलाई बढी प्राथमिकता दिइने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मंगलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा परम्परागत सीप र उद्योगहरु सञ्चालन गर्ने व्यवसायीहरुलाई व्यवस्थित गर्दै उनीहरुको सीप र क्षमतालाई संरक्षण गर्दै लगिने पालिकाको उद्योग तथा वाणिज्य नीतिमा उल्लेख गरिएको छ ।
महिलाहरुलाई उद्यमशिल बनाउन आय आर्जन र स्वरोजगार बनाउनका लागि मागमा आधारित तालिम सञ्चालन गर्ने, उद्यमशिलताको विकास गर्न गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने, दलित, आदिवासी जनजात, सीमान्तकृत समुदायका महिला, अपांगता भएका व्यक्ति, एकल महिलाहरुलाई पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरुमा पहिलो प्राथमिकता दिने नीति सार्वजनिक गरिएको छ ।
पालिकाको वार्षिक नीति तथा कार्यक्रममा आगामी वर्षमा पनि सामुदायिक विद्यालयका कर्मचारी, शिक्षक, तथा बालविकास सहजकर्ताहरुलाई दिइदै आएको न्यूनतम पारिश्रमिकलाई निरन्तरता दिइने भएको छ । यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत सबै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क गराइनुका साथै छात्रा, दलित तथा अपांगता भएका विद्यार्थीहरुलाई दिइदै आइरहेको छात्रावृत्तिलाई पनि निरन्तरता दिइएको छ ।
अध्यक्ष ढकालले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिनुका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय खेलमा पदक तथा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिइएको छ ।
यस्तै स्वास्थ्यतर्फ भने पोषण विशेष कार्यक्रम सञ्चालन गरी पालिकालाई पोषणमैत्री स्थानीय तहको रुपमा विकास गर्ने, पूर्ण खोपयुक्त पालिका सुनिश्चितता र दीगोपनाको लागि विशेष कार्यक्रसहित स्वस्थ कञ्चन, समृद्ध कञ्चन, सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम, अध्यक्षसँग स्वस्थ शिशुदेखि जेष्ठ नागरिकसम्म जस्ता नारासहित कार्यक्रम सार्वजनिक भएको छ ।
यस्तै कञ्चनमा रहेका भाषा, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि विभिन्न सामग्रीहरुको उत्पादन तथा वितरण गरी विभिन्न जातजातिको परम्परा, संस्कृति पहिचान गरी जातीय र भाषिक पहिचान दिने परम्परागत उत्पादनहरुलाई पालिकाले प्रााथमिकता दिने भएको छ ।
अध्यक्ष ढकालले अध्यक्षसँग बालबालिका कार्यक्रम, विकटलाई निकट, सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा, नागरिकका लागि मुस्कानसहितको सेवा, मैले तिरेको कर मेरै विकासका लागि, कर तिर्नु कर्तव्य मात्र नभई गौरव पनि हो जस्ता अति महत्वाकांक्षी नारा र कार्यक्रम पनि अध्यक्ष ढकालले सार्वजनिक गरेका छन् ।
पालिकाको १८औं गाउँसभाको पहिलो बैठकले नै अध्यक्ष ढकालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ । सभामा शून्य समय लिएर गाउँ सभासद विष्णु थारु, भरतलाल यादवले पालिकाको समसामयिक विकास योजनाबारे बोलेका थिए भने गाउँसभा सदस्य टीकाराम सापकोटा, कुमारी घर्ती र मिना बिकले शुभकामना मन्तव्यसहित सभामा प्रस्तुत नीति तथा कार्यक्रमको पक्षमा बोलेका थिए ।




