पाल्पा
पाल्पाको विभिन्न क्षेत्रमा अझैँ पनि प्रशस्त मात्रामा बालविवाह भएको पाइन्छ । विशेषगरी मगरी समुदायमा बालविवाहको प्रचलन अझैँ पनि कायम रहेको देखिन्छ । बालविवाहको प्रहरी तथा वडा कार्यालयमा उजुरी नपरे पनि गर्भवती भई स्वास्थ्य संस्थामा पुगी गर्भ परीक्षण गर्नेको संख्या प्रशस्त देखिन्छ । समुदायस्तरमै जनचेतना बढाएर बालविवाह र आत्महत्या न्यूनीकरणको लुम्बिनी प्रदेश सरकारले जनचेतना अभियान चलाएको छ ।
लुम्बिनी प्रदेश सरकारले सन २०३० भित्र १०९ वटै पालिकामा बालमैत्री स्थानीय शासन लागू भएको पालिका घोषणा गरी समग्र लुम्बिनीलाई बालविवाह मुक्त भएको प्रदेश घोषणा गर्ने रणनीतिका साथ काम गर्दै आएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, पाल्पाविकास केन्द्रको आयोजना र पूर्वखोला गाउँपालिकाको समन्वयमा बालविवाह तथा आत्महत्या न्यूनीकरणसम्बन्धी दुई दिने सचेतना कार्यशाला कार्यक्रम भएको हो ।
जनचेतना कार्यक्रममा पालिका अध्यक्ष नुनबहादुर थापाले मगरी समुदायमा अझैँ पनि बालविवाह चलनचल्ती रहेको बताए । पहिले, पहिले बाबु आमाले नै बालविवाह गराउँथे, तर आजकल बाबु आमा सचेत भएका छन्, तर केटा केटी मोबाइलको कारण विद्यालयमा पढ्दा पढ्दै भागेर लुकिछिपि बालविवाह गर्ने गरेको पालिका अध्यक्ष थापाले बताए । बालविवाह गर्दा दुबै पक्षको भविष्य अन्धकारमा धकेलिने, आर्थिक समस्याका कारण घर झगडा बढ्ने, भनेजस्तो नभएपछि डिप्रेसनमा जाने र आत्महत्याको बाटो रोज्ने अवस्थालाई रोक्न जनचेतना अभियान जरुरी रहेको पालिका अध्यक्ष थापाले जोड दिए ।
पालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले सानै उमेरमा विवाह हँुदा, पढाइ कमजोर हुने, कलिलै उमेरमा बच्चाको आमा बन्ने, कम उमेरमै पारिवारिक बोझले सताउने, समय–समयमा स्वास्थ्य समस्या हुने जस्ता समस्याले आत्महत्यासम्मको घटना हुने भएकोले निरन्तरको जनचेतनाबाटै बालविवाह र आत्महत्या न्यूनीकरण गर्न सकिने बताइन् ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले पालिकाभित्र लुकि छिपी भइरहेका बालविवाहलाई न्यूनीकरण गर्न कार्यक्रमले सहयोग पुग्ने बताए ।
कार्यक्रममा कानुन व्यवसायी नारायण ज्ञवाली, प्रहरी सहायक निरीक्षक रमेशबहादुर कँुवर, पाल्पा विकास केन्द्रका कार्यवाहक कृष्ण गहतराज, कार्यक्रम संयोजक किरण कौशललगायतले सहजीकरण गरेका थिए । कार्यक्रम वडा नंं. ५ का वडाध्यक्ष विष्णुकुमार पल्लीको अध्यक्षतामा भएको थियो । कार्यशालामा वडा नंं. १ सिलुवा, वडा नंं.५ विरकोट र वडा नंं. ६ हेक्लाङ्गका शिक्षक, विद्यार्थी, वडा सदस्य, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वयम्सेविका, समाजका अगुवाको सहभागिता रहेको थियो ।




