केही दिनको प्रतिपक्षी दलहरुको अवरोध पछि प्रतिनिधिसभाको सदन अहिले चालु छ । तर त्यहाँ गाईजात्रा छ । दैनिक नारा, जुलुस, घेराउ र धर्ना हुने गरेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले छोडे पनि अरु प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदहरुको दैनिकी नै सदनमा त्यही भइरहेको छ । सभामुखले सदन चालु भएको जानकारी गराउने, तर रास्वपा र राप्रपाका सभासदहरु भने उठेर होहल्ला नारा, जुलुस, घेराउ र धर्ना गरिहाल्ने । तै पनि कांग्रेस, एमाले र माओवादी केन्द्रका सभासदहरु भने मञ्चमा गई भाषण छाँटिरहेका हुन्छन् । अझ माओवादी केन्द्रका सभासदहरु लाजै नमानी त्यस्तो भाषण छाँटिरहँदा अचम्म लाग्छ । संसदीय परम्परा र मान्यताविपरीत जसले जे गर्दा पनि हुने यो कस्तो चालु संसद र सदन हो ? खासमा कुनै एक सभासदले उठी विरोध गर्दा चालु सदन रोक्ने परम्परा र मान्यता छ । तर यहाँ त एक जना मात्रै होइन दर्जनौं सभासदहरु उठ्ने मात्रै होइन नारा, जुलुस, घेराउ र धर्ना दिइरहँदा पनि सदन चलिरहेकै छ । कस्तो विडम्बना ? गर्नेलाई भन्दा त्यो देख्नेलाई लाज । हुनत यो संसद र संसदीय राज्य व्यवस्था नै यस्तै बाहिर खसीको टाउको देखाएर भित्र कुकुरकोे मासु बेच्ने थलो । के को लाज, श्रम र नैतिकता ? जे गर्दा पनि हुन्छ ।
अझ लाजै नमानी माओवादी अध्यक्ष प्रचण्डले भन्छन्– आफू प्रतिपक्ष भए पनि सत्तासिन दलकै जस्तो भूमिका निर्वाह गरेको हो । साउनमा आँखा फुटेको गोरुले बाह्रै महिना नै हरियो देख्छ भने झैं प्रचण्डले पनि त्यस्तै जहिले पनि खाली सत्ता नै सत्ता मात्र देखिरहेका हुन्छन् । हिङ नभए पनि हिङ बानेको टालो जस्तै सत्तासिन नभए पनि प्रचण्ड जहिले पनि सत्ताधारी नै भन्न रुचाउँछन् । धन्यवाद क. प्रचण्ड–कांग्रेस–एमालेलाई हाईहाई पार्नु भयो । तर रास्वपालाई बाईबाई र धोका । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने वाचा गरी रास्वपालाई समेत उचाली सदन अवरुद्ध पार्ने गरेका प्रचण्ड एकाएक ३६० डिक्रीकोणको फन्को मारी आखिर कांग्रेस– एमालेसामु आत्मसमर्पण गरेका छन् ।
गत जेठ २५ गते ‘मानव तस्करीको जालो’ शीर्षकमा यही दैनिक लुम्बिनीमा मैले लेखेको थिएँ– ‘वर्तमान यो राज्य व्यवस्था सामन्ती दलाल र नोकरशाही बुर्जुवा स्वरुप र चरित्रको छ । यहाँ यस्तो भ्रष्टाचार, तस्करी त्यसमा पनि अझ मानव तस्करी अनि कालो बाजरिया, कमिशन, लुटपाट र ठगी आदि हुनु स्वाभाविक नै छ । यसबाट विश्वका यस्ता कुनै पनि मुलुक शुद्ध र चोखो छँदै छैनन् । यहाँ पनि यस्ता अनेकौं काण्डै काण्ड हुने गरेका छन् । केही बाहिर प्रकटमा छन् भने केही अप्रकट शंकाको घेरामा छन् । यसबाट यसमा कुनै पनि नेता, कार्यकर्ता, कर्मचारी सबै अछुतो शुद्ध छँदैछैनन् । सबै कुनै न कुनै सेटिङ वा डिजाइनमा आबद्ध भई नै रहेका हुन्छन् । नेपालका यस्ता संसदीय दल अनि यिनका नेता, कार्यकर्ता साथै सरकारी तल्ला पियनदेखि ठूला हाकिम, सेना पुलिस अड्डा, अदालत सबै कुनै न कुनै यस्ता काण्डमा मुछिएर डाँमिदै आएका छन् । यी सबैले अहिले एकले अर्कालाई आरोप–प्रत्यारोप गर्दै आए पनि यो कुनैमा पनि शुद्ध र चोखा छँदै छैनन् । अन्ततः यी सबै एउटै काले काले मिलेर खाउँ भाले मै र सबै तैहीं चुप मै चुप भई बस्नेमा छन् । ठीक यो अहिले प्रचण्ड–ओली र देउवामा देखिंदै आएको छ ।
माथि भने जस्तै राज्य सत्ताको स्वरुप र चरित्र नै यस्तो भएपछि यसका सञ्चालन सबै नै यस्ता हुनु र देखिनु स्वाभाविक नै छ । धेरै पछि भर्खर यो राजनीतिमा आएका रास्वपाका सभापति रवि लामिछाने पनि करोडौं सहकारी रकम ठगीमा जेलमै छन् । नयाँ र स्वतन्त्र उम्मेदवार भनिने काठमाडौंका मेयर बालेन शाह अनि धरानका मेयर हर्क साम्पाङहरु माथि पनि यस्ता विभिन्न आर्थिक रकम अपचलनमा तानिन थालेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि अख्तियारले करोडौंको रुपैयाँ भ्रष्टाचार काण्डमा मुद्दा चलाइसकेको छ । त्यस्तै प्रम ओलीको पनि गिरीबन्धु टि गार्डेन जग्गा जमिन अपचलन गरेकोमा अख्तियारमा मुद्दा विचारधीन छ । प्रचण्डको नाममा क्यान्टेनमेन्टका माओवादी लडाकूको अर्बांै रकम हिनामिना गरेको त्यस्तै हजारौं मान्छे मारिएको आरोप प्रचण्डमाथि छ । स्वयं प्रचण्डले ५ हजार मान्छे मारेको जिम्मा लिने स्वीकारी सकेका छन् । क्यान्टेनमेन्टका लडाकूको बारेमा पनि खाली लडाकू ८–१० हजार मात्रै भएको र अरु सबै नक्कली भएको स्वयं प्रचण्डले नै बताएका छन् । ने.का. सभापति आरजुमार्फत् नक्कली भुटानी शरणार्थीको मानव तस्करी काण्डमा मुछिएकै छन् । दिनप्रतिदिन यी सबै दलका कुनै न कुनै नेता र कार्यकर्ताहरु त्यस्ता काण्डमा धमाधम मुछिदै आएका छन् ।
यसरी हेर्दा यी सबै नेताहरु जो कोही पनि चोखा छँदैछैनन् । कुनै न कुनै काण्डमा यी सबै मुछिएकै छन् । तर पनि बेला मौकामा एकले अर्कालाई तर्साउने र जनताको मन जित्न यस्ता काण्डको कुरा उठाउने गर्दछन् । जस्तो अहिले एकातिर अग्नि सापकोटा ज्यान मुद्दा र माधव नेपालको सरकारी जग्गा अपचलन गरेको अख्तियारको मुद्दाले यी सबै नेताहरुको ओठमुख सुकिसकेको छ । कहाँ जान्छस मछेली मेरै ढडिया भने जस्तै प्रचण्ड जतिसुकै उफ्रर्दै प्रम ओलीको विरोध गरे पनि आखिर यस्तै काण्डहरुले गर्दा देउवा–ओलीसामु आत्मसमर्पण नगरी सुखै भएन । कस्तो लाजमर्दाे सदन मै पूर्व पञ्चे राप्रपाका नेता राजेन्द्र लिङदेनले प्रचण्डलाई बडो वीरता र बहादुरीका साथ ओली–देउवा समक्ष आत्मसमर्पण गरेको भन्दा हामी जस्ता केही वामपन्थीहरुको समेत लाजले शिर झुकेको छ । हिजोका पञ्चे, फटाहा र राजावादी दलालहरुले पनि त्यस्तो आरोप लगाउँदै प्रचण्डलाई होच्याउने खिसी टयूरी र कार्टुन–जोक्कर बनाइरहेका छन् । ओरालो लागेको मृगलाई बाछाले पनि खेदी लखेट्छ भनेको यही नै हो । अब के गर्ने र भन्ने प्रचण्डकै राजनीतिक गतिविधि दैनिकी नै यस्तै छ । भिरबाट लड्ने गाईलाई रामराम भन्नुभन्दा अरु के नै गर्न सकिन्छ र ?
धोका, षड्यन्त्र र जालझेल क. प्रचण्डको नानीदेखिकै बानी हो । पहिले क. निर्मल लामा र क. मोहन विक्रमलाई त्यसपछि आफ्नै पार्टीका नेता मोहन वैद्य किरणलाई धोका र षड्यन्त्र गरेर माओवादी नेता बने । त्यसपछि फेरि किरण–गजुरेल, बाबुराम अनि विप्लव आदि सबैलाई धोका दिँदै बाह्र बुँदे दिल्ली समझदारीबाट सत्तामा पुगे । त्यहाँ पनि कांग्रेस–एमालेहरुलाई धोका दिँदादिँदै अहिले आफैँले धोका पाएका छन् । तै पनि कुकुर तल परे पनि माथि परे पनि काइकाई भने जस्तै प्रचण्डको त्यो काइकाई र कुइकुई अहिले पनि यथावत नै छ । भिजिट भिसा प्रकरणलाई उचालेर रास्वपा र राप्रपाको साथबाट सरकार ढाल्ने योजना बुन्दाबुन्दै उल्टो ओली–देउवाले उनकै घाँटीमाथि तरबार तेर्साइ हाले । अग्नि सापकोटाको ज्यान मुद्दा र माधवकुमार नेपालको मुद्दा पछि प्रचण्डकै माथि भनिएका अनेक खाले मुद्दा तेर्साउन थाले पनि अन्ततः प्रचण्डका लागि ओली–देउवासामु त्वाम शंरणम–आत्म समर्पण गर्नुको अर्काे विकल्प नै भएन । तै पनि उनी भन्छन्– कांग्रेस–एमालेकै कारण अर्थात् सदनमा प्रस्तुत हुने केही महत्वपूर्ण इस्युले गर्दा सदन चालु नगराई नहुने नै भयो । आखिर कुकुर तल परे पनि माथि परे पनि काई काई भनेकोे यही हो ।
यस पटक भने प्रचण्डबाट धोका रास्वपालाई बढी भएको छ । प्रचण्डकै कारण यी सबै घर न घाटका विचल्लीमा परेका छन् । सदन घेराउ, नारा, जुलुस, धर्ना यो सबै उनीहरुलाई तातो आलु मुखमा हालु निलुकी ओकलु भने जस्तै भएको छ । प्रचण्डले ललाई फकाई यिनीहरु रुख चढाएर रुख काट्न थालिहाले । विचरा ! रास्वपाका सभासदहरुले अब गर्छन् के ? रुखबाट पछारी सिद्धिने कि प्रचण्डकै जस्तो ओली–देउवासामु आत्मसमर्पणको बाटो रोज्ने ?




