राजनैतिक दल लोकतान्त्रिक व्यवस्थाका औजार हुन् । ती विधि, पद्दती र संविधान अनुसार चल्नुपर्छ । यदि प्रचलित मान्यतालाई आत्मसात गर्न सकेनन् भने व्यवस्थामा अराजकता आउँछ नै, स्वंय दलहरुमाथि नै संकट निम्तिन्छ । अहिले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था त्यस्तै भएको छ ।
सुशासन र वैकल्पिक राजनीतिको मुद्दा उठाएका दुई दल भ्रष्टाचार र ठगीको अभियोग लागेका नेतालाई नेतृत्वमै राखेर पार्टी र देशको भविष्यबारे चिन्ता गर्नु स्वाभाविक पटक्कै छैन । २०६४ को संविधानसभा निर्वाचनमा एमालेले अनपेक्षित हार व्यहोरेपछि तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताका आधारमा राजीनामा दिएका थिए, तर अहिले उनै नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्दासमेत पार्टीको प्रमुख पदमा रहँदै आएका छन् । सुशासन र वैकल्पिक राजनीतिको नारा दिएर राजनीतिमा आएका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा लागेर कारागार चलाउन हुँदा पनि पार्टी सभापतिबाट राजीनामा दिएका छैनन् । नेपाल र लामिछाने दुवैको राजिनामा पार्टी पंक्तिभित्रबाटै माग्नुपर्दथ्यो, तर पार्टीभित्र उनीहरुले गल्ती नै गरेका थिएनन् भन्ने गरी प्रचार र लविङ हुनु गलत छ । भ्रष्टाचार जस्तो विषयमा मुद्दा लागेपछि छानबिनका लागि सघाउन सबै तयार हुनुपर्छ । अझ राजनैतिक दलको शीर्ष नेतृत्वले पटक्कै यो विषयलाई स्विकार गर्दैन ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपालको सांसद पद निलम्बनमा परेको छ । लामिछानेको हकमा पनि भएको त्यही हो । सांसद पद निलम्बनमा पर्दा पार्टीको नेतृत्व छाड्न तयार नहुनुको संकेत हो, पार्टी सत्ता जुनसुकै हालतमा नछाड्ने । सांसद पद निलम्बनमा भएसँगै पार्टी नेतृत्वबाट समेत मुद्दा किनारा नलाग्दा सम्म निलम्बनमा राख्नु राम्रो हो । अझ नेपाल विधि र पद्दतीको धेरै कुरा गर्ने व्यक्ति हुन् । विधि र पद्दतीको कुरा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति नेता नेपालमा पनि देखिएको छ । विधि र पद्दतीको कुरा गर्दै उनी एमालेबाट अलग भएर नयाँ दल खडा गरेका छन् । विधि र पद्दतीको कुरा गर्दा व्यवहारमा पनि उतार्न उत्तिकै महत्व दिनुपर्छ । लामिछानेले सुशासन र विधिको धेरैलाई पाठ पढाए तर सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएपछि उनको सांसद पद निलम्बन भयो, तर उनको रास्वपा सभापतिको पद कायमै छ ।
अब विधि र नैतिकताको कुरा गर्ने हो भने मुद्दा दायर भएपछि पार्टीको कार्यकारी पदबाट राजीनामा दिनु अनिवार्य छ । कमजोरी गर्नेलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्न हुन्न । राजनीतिमा नैतिकता प्रमुख विषय भयो भने मात्रै राजनीति सही बाटोमा जाने हो ।




