२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्य र शान्तिका लागि अपरिहार्य योग

स्वास्थ्य र शान्तिका लागि अपरिहार्य योग

स्वास्थ्य र शान्तिका लागि अपरिहार्य योग

स्वास्थ्य र शान्तिका लागि अपरिहार्य योग

स्वास्थ्य र शान्तिका लागि अपरिहार्य योग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • • झरना अर्याल (योग प्रशिक्षक)

    २१ जुन २०२५ मा मनाइँदै गरिएको ११ औं अन्तर्राष्ट्रिय योग दिवसले सम्पूर्ण विश्वमा योगको महत्व र प्रभावलाई उजागर गरिरहेको छ। “एक पृथ्वी, एक स्वास्थ्य” भन्ने नारासहित मनाइँदै गरेको यस वर्षको दिवसले मानव स्वास्थ्य, पृथ्वीको पर्यावरणीय सन्तुलन र आन्तरिक शान्तिको गहिरो सम्बन्धलाई उजागर गरेको छ।आजको यान्त्रिक जीवनशैली, मानसिक तनाव र असन्तुलित खानपानबीच, योग एउटा यस्तो पद्धति हो जसले मानव जीवनलाई पुनः प्रकृतिसँग जोड्ने कार्य गर्छ। योग केवल शारीरिक व्यायाम नभएर जीवनशैली, चेतना र मानव सभ्यताको प्राचीन ज्ञान हो। हो। नेपालजस्तो आध्यात्मिक मुलुकमा जहाँ ऋषिमुनिहरूले ध्यान, साधना र योगको अभ्यास गरेका थिए, त्यहाँ यस्तो दिवसको महत्व झन् गहिरो छ। पतञ्जली जस्ता संस्थाहरूले योगलाई जन–जनसम्म पुर्‍याउने अभियानमा महत्वपूर्ण भूमिका खेलेका छन्।

    1000047348.jpg
    अन्तर्राष्ट्रिय योग दिवसको शुरुवात सन् २०१४ मा भएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभामा योगलाई विश्व शान्ति र मानव स्वास्थ्यका लागि उपयोगी साधन भन्दै अन्तर्राष्ट्रिय योग दिवस मनाउन प्रस्ताव राखेका थिए। सोही वर्ष डिसेम्बर ११ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गर्‍यो यस प्रस्तावलाई संयुक्त राष्ट्रसंघका १९३ मध्ये १७७ देशले समर्थन गरे, जुन अत्यधिक समर्थन प्राप्त प्रस्तावहरूमध्ये एक हो। त्यसपछि सन् २०१५ जुन २१ मा पहिलोपटक विश्वभर यो दिवस उत्साहका साथ मनाइयो। योग दिवसको उद्देश्य योगको महत्त्वलाई विश्वव्यापी रूपमा फैलाउनु हो, जसले शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउँछ।


    योग शब्द संस्कृतको "युज्" धातुबाट आएको हो, जसको अर्थ हुन्छ ‘जोड्नु या सम्बन्ध स्थापित गर्नु' भन्ने हुन्छ। योगको वास्तविक अर्थ शरीर, मन, भावना र आत्मालाई एकीकृत गरेर जीवनलाई सन्तुलित बनाउने कला हो। केवल शारीरिक व्यायाम वा शारीर तन्काउने अभ्यास मात्र होइन, योग जीवनको सम्पूर्ण पक्षलाई समेट्ने एउटा व्यापक अनुशासन हो।

    1000047345.jpg
    नेपाल एक अद्भुत देश हो, जसले प्रकृति र आध्यात्मिकताको अनुपम संयोजन प्रस्तुत गर्दछ। हिमालदेखि तराईसम्मको विविध भूभागमा यहाँको प्राकृतिक सौन्दर्य मनमोहक छ भने सांस्कृतिक र धार्मिक परम्पराले यसलाई विशेष बनाएका छन्। यही पवित्र भूमिमा अनेकौं ऋषिमुनिहरूले ध्यान, तपस्या, साधना गरेर संसारलाई आध्यात्मिक उर्जा र ज्ञानको उपहार दिएका छन्। 


    नेपाल संसारकै महान शान्तिदूत भगवान गौतम बुद्धको जन्मभूमि । बुद्धले जीवनको दुःख, त्यसको कारण, समाधान र त्यसमा पुग्ने मार्गका बारेमा सत्य र अष्टाङ्गिक मार्गको शिक्षाद्वारा विश्वलाई नयाँ दृष्टिकोण दिनुभयो। करुणा, अहिंसा, समानता र मानवता उहाँको शिक्षाका मूल स्तम्भ हुन्। युद्ध, हिंसा, वैरभाव र भेदभावको विरुद्ध उहाँले शान्ति, सहिष्णुता र मैत्रीभाव फैलाउनुभयो। यही कारणले उहाँलाई "शान्तिका अग्रदूत" मानिन्छ। आज पनि बुद्धका विचारहरू संसारभरि बौद्ध धर्म, दर्शन र जीवनशैलीका रूपमा अङ्गिकार गरिन्छन्, र नेपालले उहाँको जन्मस्थल भएर गौरव अनुभव गर्दछ।


    नेपालको सांस्कृतिक र धार्मिक धरोहर विश्वभर चर्चित छ। यहाँका मठमन्दिर, स्तूप, आराधना स्थलहरू, र परम्परागत संस्कारहरूले नेपाली जनताको जीवनलाई गहिरो आध्यात्मिकतामा बाँधेको छ। नेपालको संस्कारहरू धर्म, अर्थ, काम र मोक्ष—चार पुरुषार्थमा आधारित छन्। यी पुरुषार्थले मानव जीवनलाई लक्ष्यपूर्ण बनाउँछन् र सबै क्रियाकलापलाई अर्थपूर्ण बनाउँछन्। हाम्रो संस्कृतिले के मात्र सिकाउँछ भने, जीवनको अन्तिम लक्ष्य आत्मकेन्द्रित हुनु होइन, बरु अरूको हित र कल्याणका लागि जीवन बिताउनु हो। यसमा नै हाम्रो मानवता र सेवा भावनाको जरा निहित छ।


    योगलाई प्राचीन भारतीय योगदर्शन अनुसार आठ भागमा विभाजन गरिएको छ, जसलाई अष्टाङ्ग योग भनिन्छ। यी आठ अंगहरू हुन्—यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यी सबै अंगहरूलाई क्रमशः अभ्यास गर्दा मानिस शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रूपमा उन्नत हुन्छ।


    अष्टाङ्ग योग र यसको महत्व

    • यम र नियम: सामाजिक र व्यक्तिगत आचारसंहिता हुन्, जसले व्यक्तिलाई नैतिकतामा अनुशासित गर्छ।
    • आसन: शारीरिक आसनहरू हुन्, जसले शरीरलाई स्वस्थ र लचकदार बनाउँछन्।
    • प्राणायाम: सासप्रश्वासको नियन्त्रण हो, जसले ऊर्जा सन्तुलन कायम गर्छ।
    • प्रत्याहार: इन्द्रियहरूको संयम हो, जसले बाह्य दुनियाँबाट मनलाई अलग गर्छ।

    • धारणा, ध्यान, र समाधि: मनलाई एकाग्र गराउने, गहिरो ध्यान गर्ने र अन्ततः आत्मसाक्षात्कार गर्ने अवस्थाहरू हुन्।
    योगको प्रत्येक अंगले मानिसको जीवनलाई सकारात्मक र उद्देश्यपूर्ण बनाउन भूमिका खेल्छ। योग अभ्यासले केवल शरीर स्वस्थ राख्दैन, मानसिक तनाव कम गर्छ, आत्मिक उन्नति गराउँछ र जीवनमा नैतिक मूल्यहरूको विकास गर्छ।

    1000051641.jpg
    योगका तीन प्रमुख अभ्यासहरू छन्—आसन (शारीरिक अभ्यास), प्राणायाम (श्वासको नियन्त्रण), र ध्यान (मानसिक एकाग्रता)। यी अभ्यासहरूले सँगै जीवनमा सन्तुलन ल्याउँछन्।
    • आसन: शरीरलाई बलियो, लचकदार र स्वस्थ बनाउने शारीरिक अभ्यास हो। नियमित आसन अभ्यासले रक्तसञ्चार सुधार्छ, मांसपेशीहरू सबल बनाउँछ र हड्डीहरूको मजबुती बढाउँछ।
    • प्राणायाम: श्वासप्रश्वासलाई नियन्त्रण गरेर शरीरमा ऊर्जा प्रवाह सन्तुलन गर्ने प्रक्रिया हो। यसले मानसिक शान्ति र भावनात्मक स्थिरता प्रदान गर्छ।
    • ध्यान: मानसिक चञ्चलतालाई शान्त पारेर गहिरो एकाग्रता र मनोवैज्ञानिक स्थिरता ल्याउने अभ्यास हो।
    दैनिक योग यात्रा 


    शारीरिक अभ्यास र योग: प्रारम्भ देखि सकल्पसम्म 
    १ प्रारम्भिक तयारी 
    व्यायाम सुरु गर्नुअघि प्रार्थना र शिथिलिकरणको अभ्यास गरिन्छ, जसको उद्देश्य मन र शरीरलाई शान्त पार्नु हो। प्रार्थनाले एकाग्रता बढाउँछ र सकारात्मक ऊर्जा दिन्छ भने शिथिलिकरणले शरीरको तनाव कम गर्न मद्दत गर्छ।


    २ शारीरिक सञ्चालन
    शारीरिक सञ्चालन अभ्यासमा टाउको अगाडि, पछाडि, दायाँ र बायाँ घुमाएर गर्दनका स्नायुहरू सक्रिय बनाइन्छ र लचिलोपन बढाइन्छ। काँधलाई उठाउने, झार्ने र घुमाउने अभ्यासले पिठ्युँ र काँधलाई लचिलो र बलियो बनाउँछ। कमरलाई दायाँ-बायाँ घुमाउने अभ्यासले मेरुदण्ड र पेटका मांसपेशीहरू सक्रिय र बलियो बनाउँछ भने घुँडा मोड्ने र उठाउने अभ्यासले खुट्टाको जोर्नीलाई बलियो बनाउन मद्दत गर्छ।

    1000047346.jpg
    ३ योगासन अभ्यास
    योगासन अभ्यासमा ताडासन शरीरलाई सिधा उभ्याएर तन्काउने आसन हो जसले मेरुदण्ड लम्बिन्छ र श्वासप्रश्वास सुधार हुन्छ। वृक्षासनमा एक खुट्टामा उभिएर सन्तुलन कायम गरिन्छ र यसले सन्तुलन तथा एकाग्रता सुधार गर्छ। पाद हस्तासनले अगाडि झुकेर खुट्टा छोइने अभ्यास हो जसले पाचन प्रणाली सुधार गर्छ र पीठ लचिलो बनाउँछ। अर्धचक्रासनमा ताडासनबाट शरीरलाई पछाडि झुकाएर मेरुदण्ड लचिलो बनाइन्छ, छाती खुल्छ र पिठ्युँका मांसपेशी बलियो हुन्छन्। त्रिकोणासनले खुट्टा फराकिलो राखेर शरीरलाई एक तिर झुकाएर लचिलोपन र सन्तुलन सुधार गर्छ भने भद्रासन ध्यान र प्राणायामका लागि उपयुक्त आसन हो जसले मानसिक शान्ति र जाँघको मांसपेशी लचिलो बनाउँछ।


    वज्रासनले घुँडा मोडेर बसेर पाचन सुधार गर्छ र ध्यानका लागि उत्तम आसन हो। अर्धउष्ट्रासनमा घुँडामा उभिएर एक हातलाई पछाडि टाँगेर शरीरलाई झुकाइन्छ जसले छाती खुल्छ र फोक्सो बलियो हुन्छ। उष्ट्रासन गहिरो पछाडि झुक्ने आसन हो जसले मेरुदण्ड, छाती र पेटका मांसपेशीलाई लचिलो बनाउँछ र मानसिक तनाव घटाउँछ। शशकासन विश्राम र मेरुदण्ड लचिलो बनाउने आसन हो जसले मानसिक तनाव कम गर्छ।


    मण्डूकासन पेट र पाचनमा केन्द्रित योगासन हो जसले ग्यास्ट्रिक समस्या र मधुमेहमा लाभ पुर्‍याउँछ। वकासन सन्तुलनमा आधारित आसन हो जसले हात, पेट बलियो र आत्मविश्वास बढाउँछ। मकरासन विश्रामयोग हो जसले थकान घटाउँछ र पिठ्युँ दुखाइ कम गर्छ। भुजङ्गासनले पछाडि झुकाएर पिठ्युँ बलियो बनाउँछ र फोक्सोको क्षमता बढाउँछ।

    1000047347.jpg
    अर्धहलासनमा खुट्टा माथि उठाएर मेरुदण्डमा लचिलोपन ल्याइन्छ र पाचन सुधार हुन्छ। पवनमुक्तासनले पेटको ग्यास हटाउँछ र तौल नियन्त्रणमा सहयोग गर्छ। अन्त्यमा शवासन पूर्ण विश्राम योग हो जसले मानसिक शान्ति दिन्छ, शरीरलाई विश्राम दिन्छ र तनाव कम गर्छ। यी सबै योगासनहरूले शरीर र मनलाई स्वस्थ राख्न तथा उर्जा र सन्तुलन विकास गर्न सहयोग गर्छन्।

    ४ प्रणायाम अभ्यास
    प्रणायाममा अनुलोम–विलोम सन्तुलनात्मक श्वासप्रश्वास अभ्यास हो, जसमा सुखासन वा पद्मासनमा बसेर बाँया नासिका बन्द गरी दायाँबाट श्वास लिइन्छ र त्यसपछि उल्टो प्रक्रिया दोहोरिन्छ। यसले श्वासप्रश्वास मार्ग सफा गर्छ, मन एकाग्र बनाउँछ र उच्च रक्तचाप तथा तनाव घटाउँछ। भस्त्रिका तीव्र र गहिरो श्वास लिने प्रणायाम हो जसमा नाकबाट तीव्र गतिमा श्वास लिइन्छ र फ्यालिन्छ, जसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र मानसिक ऊर्जा जागृत गर्छ। कपालभाति शुद्धिकरण प्रणायाम हो जहाँ नाकबाट तीव्र गतिमा श्वास फ्यालिन्छ र पेट फड्काएर श्वास निकालिन्छ, यसले पेटको बोसो घटाउँछ र मानसिक स्पष्टता दिन्छ।


    भ्रामरी ध्वनिसहितको प्रणायाम हो, जसमा कान, आँखा र नाक बन्द गरी गहिरो श्वास लिइन्छ र श्वास फ्याल्दै मधुमखीको गुन्गुनाहट जस्तो “म्…” ध्वनि निकालिन्छ। यसले तनाव र क्रोध घटाउँछ र निद्रा राम्रो ल्याउँछ। उद्गीथ प्रणायाममा गहिरो श्वास लिएर “ॐ” उच्चारण गरिन्छ, जसले मन शान्त र एकाग्र बनाउँछ र ध्यानका लागि तयारी गराउँछ।


    शीतली प्रणायाममा जिब्रो गोलो बनाएर मुखबाट श्वास लिइन्छ र नाकबाट फ्यालिन्छ, जसले शरीरमा गर्मी घटाउँछ र रक्तचाप कम गर्छ। शीतकारीमा दाँत खोल्दै जिब्रो पछाडि राखेर श्वास लिइन्छ र नाकबाट फ्यालिन्छ, जसले तातोपन घटाउँछ र उच्च रक्तचाप नियन्त्रण गर्छ। सूर्य भेदी प्रणायाम शरीरमा उष्णता र ऊर्जा बढाउने अभ्यास हो, जसमा बाँया नासिका बन्द गरी दायाँबाट श्वास लिइन्छ र उल्टो प्रक्रिया दोहोरिन्छ। यसले आलस्य घटाउँछ र पाचन प्रणाली सुधार्छ। यी सबै प्रणायामहरूले शरीर र मनलाई तन्दुरुस्त राख्न तथा मानसिक शान्ति र सन्तुलन ल्याउन महत्वपूर्ण भूमिका खेल्छन्।


    ५ ध्यान विधि
    ध्यान भनेको मनलाई एक बिन्दुमा एकाग्र बनाउने अभ्यास हो, जसको उद्देश्य मानसिक शान्ति, आन्तरिक सन्तुलन, र आत्मचिन्तन प्राप्त गर्नु हो। ध्यान गर्नका लागि सर्वप्रथम शान्त, सफा र व्यत्ययरहित स्थान छानिन्छ। त्यसपछि सुखासन, पद्मासन वा कुर्सीमा मेरुदण्ड सीधा राखेर बसिन्छ र आँखा हल्कासँग बन्द गरिन्छ। त्यसपछि आफ्नो स्वाभाविक श्वासप्रश्वासमा ध्यान दिनुपर्छ—श्वास आउँदा–जाँदा कस्तो अनुभूति हुन्छ, त्यसमा मन केन्द्रित गरिन्छ। मन विचलित भएमा पुनः श्वासमा फर्काउने अभ्यास गरिन्छ। सुरुवातमा ५–१० मिनेट ध्यान गर्न सकिन्छ र अभ्यास बढ्दै जाँदा समय विस्तार गर्न सकिन्छ। यस विधिले तनाव, क्रोध र चिन्ता घटाउँछ, स्मरणशक्ति र एकाग्रता बढाउँछ, तथा आत्मनियन्त्रण र भावनात्मक स्थिरता प्रदान गर्छ।

    ६ संकल्प विधि
    संकल्प विधि भनेको ध्यान वा गहिरो मानसिक स्थितिमा आफूलाई सकारात्मक प्रतिज्ञा दिने अभ्यास हो। संकल्प एक प्रकारको मनोवैज्ञानिक प्रतिज्ञा हो, जुन अवचेतन मनमा स्थिर गरिन्छ। संकल्प गर्नका लागि ध्यानकै जस्तै शान्त आसनमा बसिन्छ, श्वासप्रश्वास स्थिर बनाइन्छ र भित्रै एक सकारात्मक, छोटो र स्पष्ट वाक्य चयन गरिन्छ—जस्तै “म आत्मविश्वासी छु”, “म सफल हुन्छु”, “म अनुशासनमा बाँच्नेछु” आदि। त्यस वाक्यलाई मनमनै ३–५ पटक गहिरो भावनासहित दोहोर्याइन्छ। संकल्प गर्दा त्यो कुरा पूरा भएको अनुभूति गर्ने अभ्यास गरिन्छ, जसले मनोबल र आत्मविश्वास बढाउँछ। संकल्प विधिले लक्ष्यप्रति प्रतिबद्धता बनाउँछ, व्यवहारमा परिवर्तन ल्याउँछ र दीर्घकालीन आत्म-विकासमा सहयोग पुर्‍याउँछ।

    यी वाहेक पतञ्जलि युवा समिति नेपालले युवाहरूलाई शारीरिक, मानसिक र चारित्रिक रूपमा सक्षम बनाउन विभिन्न कठीन खालका योग प्रशिक्षण कोर्सहरू सञ्चालन गर्छ। मुख्य कोर्सहरूमा बाल तथा युवा योग शिविर, नेतृत्व विकास तालिम, योग शिक्षक प्रशिक्षण, संस्कृत तथा श्लोक वाचन कक्षा, र नशामुक्ति अभियान सामेल छन्। जसको उद्देश्य युवाहरूमा आत्मविश्वास, अनुशासन, देशभक्ति, सेवा भावना, सकारात्मक सोच, आत्मनियन्त्रण र स्वस्थ जीवनशैलीको विकास गर्नु हो, जसले गर्दा उनीहरू सक्षम नागरिक भई समाज, राष्ट्र र मानवताका लागि योगदान गर्न सकून्।


    योग, योगासन, प्रणायाम र ध्यान अभ्यासका सावधानीहरू र नियमहरु 
    योग अभ्यास गर्दा सबैभन्दा पहिले शरीर र मनलाई ध्यानमा राख्नुपर्छ। अभ्यास गर्दा कुनै पनि आसन, संचालन वा प्रणायामले पीडा वा असहजता दिने हो भने तुरुन्त रोक्नुपर्छ। खाली पेट, शान्त र सफा वातावरणमा मात्र अभ्यास गर्नुपर्छ ताकि ऊर्जा सन्तुलित रहोस् र ध्यान केन्द्रित हुन सकोस्। विशेषगरी उच्च रक्तचाप, हृदय रोग, श्वासप्रश्वास समस्या, मिर्गौला रोग वा अन्य दीर्घकालीन रोग भएका व्यक्तिले योग अभ्यास सुरु गर्नु अघि चिकित्सकको सल्लाह लिनुपर्छ। नवप्रवेशीहरूले विशेषज्ञको मार्गदर्शनमा अभ्यास गर्नुपर्छ ताकि आसन वा प्रणायाम गलत नहोस् र चोटपटकबाट बच्न सकियोस्। साथै, अभ्यास गर्दा श्वासप्रश्वासलाई सहज र प्राकृतिक राख्नुपर्छ, जबरजस्ती गर्ने वा अत्यधिक थकाइ लाग्ने अभ्यासबाट बच्नुपर्छ। नियमित अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक विकास गर्छ तर सावधानी अपनाएमा मात्र त्यसको पूर्ण लाभ लिन सकिन्छ।


    योग अभ्यासमा सफलता र स्वास्थ्य लाभका लागि निश्चित नियमहरूको पालना आवश्यक छ। यी नियमहरू पालन नगरेमा शरीरमा चोटपटक वा स्वास्थ्य समस्या पनि आउन सक्छ। यहाँ योग अभ्यासका आधारभूत नियमहरू उल्लेख गरिन्छ:


    योग अभ्यासको सबैभन्दा उचित समय बिहान खाली पेटमा हो। बिहानको ताजा हावा र शारीरिक ताजगीले अभ्यासलाई प्रभावकारी बनाउँछ। यदि बिहान अभ्यास गर्न सकिँदैन भने, खाना खाएको कम्तीमा ४ घण्टा पछि मात्र योग गर्नु उत्तम हुन्छ। खाना पचिन समय लाग्ने हुँदा यस अवधिमा अभ्यास गर्दा स्वास्थ्यमा असर पर्न सक्छ। अभ्यासपछि तुरुन्त भोजन नगर्नुहोस, कम्तीमा आधा घण्टा पर्खनुपर्छ।


    प्रारम्भमा दिनको २० मिनेट अभ्यास गर्नु पर्याप्त हुन्छ। अभ्यासको क्रम बढ्दै गएपछि ६० देखि ९० मिनेटसम्म समय बढाउन सकिन्छ। योग अभ्यासका लागि हल्का, खुकुलो कपडा लगाउनुपर्छ । योग अभ्यास शान्त, सफा, हावादार र हल्का न्यानो ठाउँमा गर्नुपर्छ। यस्तो वातावरणले ध्यान केन्द्रित गर्न सजिलो बनाउँछ र नकारात्मक ऊर्जा हटाउँछ। अभ्यास अघि शौचालयको आवश्यक कार्य सकेर मात्र योग गर्नुपर्छ। शारीरिक रुपमा हल्का महसुस गर्दै अभ्यास सुरु गर्नु राम्रो मानिन्छ।


    यदि तपाईँ चस्मा वा कन्ट्याक्ट लेन्स लगाउनुहुन्छ भने अभ्यास गर्दा तिनीहरू हटाउनु पर्छ जसले आँखाको सहजता बढाउँछ। कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती तान्नु हुँदैन; शरीरको लचक र तयारी अनुसार बिस्तारै अभ्यास विस्तार गर्नुपर्छ।


    महिनावारीको समयमा महिलाहरूले कडा शारीरिक आसन जस्तै तल्लो पेट चलाउने आसन गर्न हुँदैन। यस्तो अवस्थामा ध्यान, शिथिल प्राणायाम र विश्राममूलक आसन जस्तै शवासन मात्र गर्ने सल्लाह दिइन्छ।
    प्रत्येक आसन सुरुमा १५ सेकेन्डसम्म मात्र राखेर बिस्तारै १–३ मिनेटसम्म समय बढाउन सकिन्छ। अगाडि झुक्ने आसनहरूले तनाव कम गर्छन् र आत्मविश्वास बढाउँछन्। नियमित अभ्यासले स्मरणशक्ति, एकाग्रता र मनोबलमा उल्लेखनीय वृद्धि हुन्छ।


    दीर्घकालीन रोग (जस्तै मुटुरोग, उच्च रक्तचाप, दम, श्वासप्रश्वासको समस्या) भएका व्यक्तिले योग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। प्राणायाममा श्वास रोक्ने अभ्यास (कुम्भक) गर्न हुँदैन। शल्यक्रिया गरिएका व्यक्तिले कम्तीमा दुई वर्ष पर्खनुपर्छ वा विशेषज्ञको सल्लाह अनुसार मात्र योग गर्नुपर्छ।


    योग अभ्यासमा निरन्तरता आवश्यक छ। कम्तीमा तीनदेखि छ महिनासम्म नियमित अभ्यास गर्दा मात्र योगका दीर्घकालीन लाभहरू प्राप्त हुन्छन्। योगले मानसिक तनाव, पाचन विकार, दम, बाथ रोग र अन्य स्वास्थ्य समस्याहरूलाई सुधार्न सहयोग पुर्याउँछ।


    आजको आधुनिक, व्यस्त र तनावपूर्ण जीवनशैलीमा योग अत्यन्तै आवश्यक छ। शरीर र मनलाई सन्तुलित राख्न योगले प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्दछ। योगले न केवल स्वास्थ्य सुधार्छ, तर मानिसलाई सकारात्मक सोच र उद्देश्यपूर्ण जीवन बिताउन सहयोग गर्छ। सामाजिक रूपमा पनि योगले सहिष्णुता, करुणा र शान्तिको भावना बढाउँछ जसले समाजमा समृद्धि ल्याउँछ।


    नेपाल जस्तो धार्मिक र सांस्कृतिक दृष्टिले धनी देशमा योग अभ्यासलाई अझ बढी प्रोत्साहन दिइनुपर्छ। यो केवल व्यक्तिगत स्वास्थ्यको लागि मात्र होइन, देशको आध्यात्मिक विकास र सामाजिक सद्भावका लागि पनि महत्त्वपूर्ण छ।
    योग केवल शारीरिक तन्काउने वा व्यायाम मात्र होइन, यो जीवनशैली हो जसले अनुशासन, धैर्यता, र मानसिक, आध्यात्मिक उन्नतिमा जोड दिन्छ। यसको नियमित र सही अभ्यासले शरीर, मन र आत्मालाई एकीकृत गरी समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। योगले हाम्रो जीवनलाई खुसी बनाउँछ, तनाव हटाउँछ, र जीवनका चुनौतीहरूलाई सहज रुपमा सामना गर्ने सामर्थ्य दिन्छ।


    नेपालको पवित्र भूमि र यसको आध्यात्मिक वातावरण योगको अभ्यासका लागि अत्यन्त उपयुक्त छ। यहाँका जनजीवनमा योगको समावेशीकरणले मात्र हाम्रो सांस्कृतिक सम्पदा, धार्मिक चेतना र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउन सक्छ।तसर्थ, योगलाई जीवनशैलीको अभिन्न अंग बनाउँदै यसलाई निरन्तर अभ्यास गर्न सबैलाई प्रेरित गर्न आवश्यक छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij