शंकर भण्डारी
‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ मनिकर कार्कीद्वारा लेखिएको एक महत्त्वाकांक्षी पुस्तक हो । यस पुस्तकले नेपालको वर्तमान आर्थिक अवस्थालाई ऐतिहासिक, संरचनात्मक र विभिन्न राजनीतिक सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरेको छ ।
३०२ पानाको पुस्तकमा लेखकले पाँच अध्याय मार्फत् नेपालको अल्पविकासको कारण, अर्थतन्त्रको स्वरूप र यससँग सम्बन्धित अनेकौं राजनीतिक पक्षहरू केलाउन खोजेका छन् । नेपाली भाषामा नेपालको अर्थतन्त्रको सांगोपांगो इतिहास र यसको अर्थराजनीतिक विश्लेषण, नेपालको अल्पविकासको कारणहरूको निक्र्यौल र यसबाट उम्कने उपायहरूको खोजीबारे निकै कम पुस्तकहरू लेखिएको सन्दर्भमा कार्कीले गरेको प्रयत्न पक्कै पनि सह्राहनीय कार्य हो । र, विषयवस्तुको महत्त्व र विस्तृतिको कारणले महत्त्वाकांक्षी पनि हो ।
पुस्तकको एउटा महत्वपूर्ण पक्ष भनेको यसले वर्तमान समस्यालाई संकेत मात्र गरेको छैन बरु यसको कारणहरूमाथि घोत्लिने प्रयत्न गरेको छ । पुँजी र प्रविधिको आयात, र वस्तु तथा सेवाको निर्यात आवश्यक रहेको सन्दर्भमा लेखकले नेपाल जस्तो मूलुकमा दीर्घकालिन आर्थिक परर्निभरता हटाउन सकिने सम्भावनाहरू देखाएका छन । यसै सन्दर्भमा नीजि जनसमुदाय, सरकारी तथा राज्यको साझेदारीमा आधारित वैकल्पिक अर्थतन्त्रको अवधारणा लेखकको प्रस्ताव हो ।
कार्कीले विश्व राजनीतिमा भइरहेको समकालिन विमर्शहरूलाई पनि कोट्याउने प्रयास गरेका छन । अर्थतन्त्र सम्बन्धि बहसहरूमा प्रचलित नवउदारवादी ढाँचाको लेखकले आलोचना गरेका छन । उनले रैथाने परिस्थिति अनुकुलको बाटो पहिल्याउनु पर्ने तर्क पनि संकेत गरेका छन । नेपालको आर्थिक अवस्थालाई ऐतिहासिक रूपले विवेचना गर्दै वर्तमान अवस्थाको चित्रण गर्नु पुस्तकको सबल पक्ष हो ।
लेखकले पाँच अध्याय मार्फत नेपालको अल्प विकसित अर्थतन्त्रको स्वरूप, कारण र त्यसको राजनीतिक पक्षहरू केलाउन खोजेका छन । लेखकको विषय र उद्देश्य महत्त्वपूर्ण छ तथापी यस पुस्तकको प्रस्तुती यसको विश्लेषणको गहिराई र यसको दृष्टिकोणमा कैयन अष्पष्टता र कमजोरीहरू छन् ।
पुस्तकको पहिलो अध्याय ‘इतिहासको अर्थदृष्टि’मा नेपालको आर्थिक विकास वा अविकासको ऐतिहासिक पृष्ठभूमि केलाउने प्रयत्न गरिएको छ । तर यो प्रयास अत्यन्त हतारो र सतही छ । लेखक अर्थराजनीतिक इतिहास अध्ययनका निम्ति आवश्यक दृष्टिकोण र ‘मेथोडोलोजी’मा चुकेका छन् । उनको व्याख्याले अध्ययनको समग्रतालाई पक््रmन सकेको छैन । पुस्तकमा लेखकले महेशचन्द्र रेग्मीका उद्दरणहरू उद्धृत त गरेका छन् तर उनको विश्लेषण हेर्दा महेशचन्द्र रेग्मीलाई पर्याप्त बुझेको भान हुँदैन । इतिहास र अर्थशास्त्रको अन्तरसम्बन्धको गहिराइमा प्रवेश नै नगरी सतही ढंगले पुस्तक अगाडि बढेको छ ।
दोस्रो अध्याय ‘अर्थतन्त्रको ढाँचा’ मा लेखकले नेपालको अर्थतन्त्रको संरचनागत स्वरूप विश्लेषण गर्ने प्रयास गरेका छन् । तर यहाँ पनि उनले समग्र आर्थिक ढाँचा विश्लेषण गर्दा आवश्यक तथ्य, आँकडा, तथा तुलनात्मक सन्दर्भ प्रभावकारी ढंगले प्रस्तुत गर्न चुकेका छन् । उदाहरणका लागि, नेपालको कृषि, सेवा र उद्योग क्षेत्र योगदान, रोजगारीको स्वरूप, औपचारिक–अनौपचारिक क्षेत्रको सम्बन्ध आदि बारेको विश्लेषण अत्यन्त सामान्य छ । ढाँचागत विश्लेषणलाई राजनीतिक व्याख्यासँग जोडेर हेर्न सकिने ठाउँ हुँदाहँुदै लेखकले त्यो पक्षलाई त्यति छुन सकेका छैनन् ।
तेस्रो अध्याय ‘नेपाली अर्थतन्त्रका समस्याहरू’ तुलनात्मकरूपले महत्त्वपूर्ण खण्ड हो । लेखकले यहाँ केही ठोस समस्याहरू उजागर गरेका छन, जस्तै आयातमुखी अर्थतन्त्र, धनको स्थानान्तरण, निर्वाहमुखि कृषि क्षेत्र र राजनीतिक अदुरदर्शिता । यी सबै मुद्दाहरू नेपालका समकालिन आर्थिक समस्याका महत्त्वपूर्ण पक्ष हुन् । यद्यपि लेखकले यिनको उत्पत्ति, संरचनागत त्रुटी र समाधानका सम्भावनाहरूबारे गहिरो विश्लेषण गर्न सकेका छैनन् । आयातमुखी अर्थतन्त्र किन र कसरी विकसित भयो ? यसको विकल्प के हुनसक्छ ? भन्ने जस्ता अहम प्रश्नहरू अनुत्तरित छन ।
चौथो अध्याय ‘अल्पविकासको अर्थ–राजनीति’ पुस्तकको केन्द्रिय अंश हो ।
लेखकले यहाँ अल्पविकासलाई शुद्ध आर्थिक समस्या भन्दा बढी राजनीतिक संरचना र शक्ति सम्बन्धसँग जोडेर हेर्न खोजेका छन । यो दृष्टिकोणले माक्र्सवादी अध्ययन विधिलाई आकर्षित गरेको छ । तर पुस्तकमा व्यक्त विश्लेषण भने छिपछिपे मात्र छ । लेखकले कहिँ कतै पनि ‘अल्पविकास’ लाई परिभाषित गरेका छैनन् । यो भाष्य कहाँ र कसरी निर्माण भयो कुनै चर्चा छैन । लेखक कुन र कति कारणले यो भाष्यसँग सहमत भए बुझ्न सकिदैन । पुस्तकको कभरमा दिइएको शीर्षकको यो महत्वपूर्ण अंश पुस्तक भित्र कतै सान्र्दभिक ढंगले ‘स्थापित’ गरिएको छैन । यस खण्डमा विश्वबजारमा नेपालको स्थिति, शक्ति संरचना, राज्यको वर्गीय चरित्र तथा ‘विकास’ भाष्य माथि अन्तरराष्ट्रिय संस्थाको राजनीति मसिनोगरि व्याख्या हुन सकेको छैन । पुस्तकको पाचौँ अध्यायमा लेखकले पुँजीवादी संरचनाको आलोचना गर्ने प्रयास गरेका छन् । नेपालजस्तो परर्निभर मुलुकमा पुँजीवादको प्रभाव र त्यसले निमत्याएको संकटको चर्चा गर्नु एकदम सान्दर्भिक देखिन्छ । तर, लेखकको त्यो आलोचना सैद्धान्तिक भन्दा बढि सामान्य असन्तुष्टी जस्तो छ । यहाँ उठाउन खोजिएको मुद्दाको अवधारणात्मक व्याख्यामा कमी छ ।
पुस्तकको निष्कर्षमा लेखकले वैकल्पिक अर्थतन्त्रको खोजी गर्नुपर्ने आवश्यकता औँलाएका छन् । तर त्यो वैकल्पिक मोडल के र कस्तो हुनसक्छ ? राज्यकोे भूमिका, उत्पादन सम्बन्ध, बजार संरचना वा उपभोक्तावादबारे कुन दृष्टिकोण लिनु उचित हुन्छ? भन्ने कुनै स्पष्टता छैन । यो खण्ड पढि सिध्याउँदा लेखकको बुझाई अझ परिपक्क भइनसकेको प्रष्ट हुन्छ । लेखकको विचार केही शब्द र पदावली वरीपरी जेलिएको छ तर विचारको संरचनागत प्रस्तुती अत्यन्त कमजोर देखिन्छ । अल्पविकासको अर्थ–राजनीति पुस्तकको मुल विषय भएपनि लेखकले यस विषयको सैद्धान्तिक र ऐतिहासिक परिपेक्ष्यबाट ठोस ब्याख्या गरेका छैनन् । विकासका मोडलहरू बारे विमर्श छैन । लेखकले कुन मोडलको वकालत गरेका हुन स्पष्ट छैन ।
एन्ड्रयु फ््रयांक, समिर अमिन, अमत्र्य सेन आदि विकास बारेका आलोचकहरूबारे लेखकको धारणा के हो थाहा हुँदैन । त्यसो त पन्ध्र पेजको सन्दर्भ सूचि उल्लेख गरिएको छ पुस्तकमा । तर लेखकले व्यक्त गर्न खोजेको कुरा र ती सन्दर्भ सुचिमा भएका सामग्रीहरूको तादम्यता मिल्न सकेको छैन । पढ्दैजाँदा कतै–कतै यस्तो प्रतित हुन्छ, लेखकले ती सन्दर्भमा भएका सामग्रीहरूको उल्लेख केवल आफ्नो अध्ययनको प्रमाणीकरणको लागि मात्र उल्लेख गरेका हुन कि ? धेरै सन्दर्भ सूचिले मात्र भन्न खोजेको कुरा स्पष्ट र ‘स्थापित’ हुने होइन ।
पुस्तकमा प्रयुक्त भाषा सरल छ । जुन सामान्य पाठकका लागि उपयोगी हुन सक्छ । तर वैचारिक स्पष्टता र तार्किक संरचनामा प्रसस्त कमजोरीहरू छन । कतिपय अशंहरूमा दोहोरिएका विचारहरू, अस्पष्ट शब्दावली र सन्दर्भ विहिन तर्कले पाठकलाई अलमलमा पार्न सक्छ । ‘अर्थदृष्टिःअल्पविकासको अर्थ–राजनीति’ एक प्रारम्भिक प्रयास हो । यसले नेपालको अर्थ–राजनीतिक समस्याहरूको सतही चित्र प्रस्तुत गरेको छ । यसमा उठाइएका विषयहरू महत्वपूर्ण छन । अल्पविकास, पुँजीवाद, राजनीति, कृषि प्रणाली, आयातमुखि प्रवृत्ति, र राजनीतिक नेतृत्वको अदुरदर्शिता यिनै हुन् आजका विषय र मुद्दाहरू । यी सबै विषयलाई गम्भिर ढंगले पर्गेल्न प्रयास सह्राहनीय छ तर विश्लेषण पर्याप्त छैन । यद्यपि यो पुस्तक आलोचनात्मक दृष्टिकोण निर्माण र विषयवस्तु पहिचानतर्फ लाग्न चाहने नवलेखकहरूको लागि सिकाइको स्रोत बन्न सक्छ । त्यस्तै नयाँ पाठक र अर्थराजनीतिका विद्यार्थीको लागि यो पुस्तक प्रारम्भिक र आधारभूत पठन सामग्री हुनसक्छ ।
समग्रमा ‘अर्थदृष्टिःअल्पविकासको अर्थ–राजनीति’ एउटा सम्भावनायुक्त तर अधुरो प्रयास हो । यसले नेपालको आर्थिक बहसको खाचोँ औल्याएको छ । तर, यो बहसलाई गहिरो बनाउने सामग्रीको अभाव देखिन्छ । पुस्तक पढिसिध्याउँदा यसले हामीसँग भएका थुप्रै प्रश्नहरूलाई व्युत्याईदिन्छ । पुस्तकको पाण्डुलिपीको पियर रिभ्यु भएको भए अझै गहन र विश्लेषणात्मक हुन्थ्यो कि ? समग्रमा लेखकले नेपालको अल्पविकासको अर्थराजनीतिको ऐतिहासिकता र बहुआयामिक समीक्षा गर्ने प्रयत्न गरेका छन् । तर, यो पुस्तकमा अभाव खट्केको विश्लेषणात्मक पक्षको लागि भने लेखकले अर्को पुस्तकको तयारी गर्नु उपयुक्त हुन्छ । लेखन कार्कीमा प्रशस्त सम्भावना रहेको हुनाले नै यो पुस्तकको निरन्तरतामा अर्को पुस्तकको सुझाव सहित यो टिप्पणी लेखिएको हो ।




