हाम्रो नेपाल वीर पुर्खाहरुले निर्माण गरेको देश हो ।
सांंस्कृतिक रुपमा हाम्रो देश प्राचीन कालदेखि नै पूर्वमा सिक्किमदेखि पश्चिममा सतलज नदीपारिसम्म र उत्तर चीनको तिब्बतदेखि दख्खिनमा गंगा नदीसम्म फैलिए पनि इतिहासको कालखण्डमा नेपाल देशको सीमा फैलिने र खुम्चिने अवस्था रहिरहयो । यो भूभागलाई एकीकरण गर्न सिंजाका खश मल्ल राजाहरुले ठूलै प्रयास गरे । वि.सं. १४६१ सम्म खश साम्राज्य शक्तिशाली रहयो । खश साम्राज्यले काठमाडौं उपत्यकाका मल्ल राज्यहरुमाथि पटकपटक आक्रमण गरेको हुँदा खश भाषा संस्कृति पश्चिमबाट पूर्वतर्फ फैलिंदै गयो । तर पनि एकीकरण गर्ने प्रयास सफल भएन ।
राजा नरभुपालका छोरा पृथ्वीनारायण शाह वि.सं. १७९९ मा सानो गोरखा राज्यको राजा भएपछि राजा नरभुपाल शाहको सपनालाई साकार पार्न १८०१ देखि नुवाकोट जिती क्रमशः बोलकोटमा आक्रमण गरी गोरखा राज्यमा गाभ्ने काम भयो ।
यही गोरखा राज्यले वि.सं. १८२५ मा कान्तिपुर र क्रमशः भक्तपुर र ललितपुरलाई कब्जा गरी काठमाडौं (कान्तिपुर) बसन्तपुर दरबारमा आवासीय राजधानी बनाएको इतिहास छ । तदुपरान्त नै नेपाल देश विश्व मानचित्रमा उदय भएको हो र हाम्रो देशको नाम नेपाल मानिन थालेको हो ।
गोरखा राज्यको विस्तार गर्ने अभियानमा नेतृत्व पृथ्वीनारायण शाहले गरे पनि यस अभियानमा जिउ ज्यानको बाजी लगाएर लाग्ने नेपाली वीर योद्धाहरु धेरै थिए ।
ती मध्ये कालु पाँडे, वीरभद्र थापा आदिको नाम अग्रस्थानमा आउँछ भने अन्य थर घरका वीर योद्धाहरुको पनि योगदान अतुलनीय छ ।
यस सानो लेखमा बगाले थापाहरुमध्ये वीरभद्र थापाका सन्तति साना काजी अमरसिंह थापा, जर्नेल एवम् मुख्तियार भीमसेन थापा र जितगढी युद्धमा साम्राज्यवादी अंग्रेज शक्तिलाई परास्त गर्न नेतृत्व गर्ने कणर््ोल उजिरसिंह थापाको र जितगढी किल्ला कसले बनाएको हो भन्ने विषयमा संक्षेपमा चर्चा गर्ने प्रयास रहेको छ ।
यो लेख अहिले लेख्नुको उद्देश्य के हो ?
प्रिय मित्रहरु, इतिहासविद्हरु, अध्येताहरु र जितगढी किल्लालाई माया गर्ने र तानसेनको रण उजेश्वरी मन्दिर र रणउजिरेश्वरी जात्राप्रति आस्था राख्ने जनसमुदाय !
तपाईं हामी सबैलाई थाहा छ वि.सं. १८७१-०७२ (सन् १८१४–१८१६) मा साम्राज्यवादी अंग्रेजसँग नुवाकोट, जितगढीमा भएको युद्धमा नेपालले विजय हासिल गरेको हो । प्रतिरक्षा युद्धको नेतृत्वकर्ता कर्णेल उजिरसिंह थापा हुनुहुन्थ्यो र युद्ध जितेपछि तानसेनमा भाद्र नवामीका दिन भगवती रथयात्रा हुन थालेको हो ।
तानसेनमा अमरनारायण मन्दिर, पाल्पा अमर नारायण गुठी रहेको हो । काजी पौवा, काजी धारा, थापाहरुसँग सम्बन्धित छन् । सन् १८१४–१६ को युद्धको कमाण्डर कर्णेल उजिर सिंह थापा थिए र उनकै अगुवाइमा झारा सेना (जन सहभागिता) बाट बुटवल जितगढी नुवाकोटमा युद्ध जितिएको हो । यो कुरा दिउँसोको घामझैं छर्लङ्ग छ ।
यति हुँदाहुँदै पनि आफूलाई धुरन्धर इतिहासविद् ठान्ने प्रेम सिंह बन्यास्त नामका एक व्यक्तिले जितगढी किल्ला राजा गिर्वाण युद्ध विक्रम शाहको पालामा निर्माण भएको होइन । जितगढी युद्ध सम्पन्न भएपछि उनका छोरा राजेन्द्र विक्रम शाहको पालामा गढी निर्माण भएको हो भनी तिथिमिति नखुलेको नक्कली पत्र फेसबुकमा राखेर आफूलाई अत्यन्तै धुरन्धर इतिहासविद् ठान्ने प्रेमसिंह बस्न्यातले भ्रम सिर्जना गरेको पाइयो । त्यही कुरालाई प्रष्ट पार्नका लागि यो लेख लेखिएको छ ।
यो कुरा प्रष्ट पार्न एआइलाई पनि प्रयोग गरिएको छ ।
ए–आइ समेतले लेख्छ÷भन्छ जितगढी किल्ला सेनवंशीय पृष्ठ भूमिमा निर्माण भएको हो ।
यसको सैन्य प्रयोग कर्णेल उजिर सिंह थापाले १८७१-७२ यु्द्धमा प्रयोग गरेका थिए ।
नेपाल अंग्रेज युद्धका क्रममा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अंग्रेज सेनालाई जितगढी किल्लाबाट पराजित गरेको गौरवपूर्ण इतिहास छ । यो युद्ध तत्काल नुवाकोट बुटवलक्षेत्रको जंगलभित्र नै भएको थियो । त्यसैले ए–आइले जंगली युद्धमा वीरता प्रदर्शन गरेर अंग्रेज जनरल सुनिलमान उडलाई भाग्न बाध्य बनाइएको तथ्य छ भनी उल्लेख गरेको छ । सन् १८१४–१८१६ मा युद्ध हुँदा गिर्वाण युद्ध विक्रम नै सिंहासनमा थिए, किल्ला निर्माण युद्ध समाप्ति भएपछि भएको भन्ने कुरा यसरी पनि खण्डित हुन्छ । युद्ध समाप्ति पछि राजा राजेन्द्र विक्रम शाहको पालामा जितगढी किल्ला निर्माण भएको भन्ने प्रेम सिंह बस्न्यातको भनाइ ऐतिहासिक रुपमै असत्य देखिन्छ ।
नेपाल राष्ट्रको एकीकरणको प्रारम्भिक दिनदेखि नै दरबारिया भाइभारका चर्काे गुटबन्दी रहेको देखिन्छ । प्रारम्भिक पृथ्वीनारायणको शासन कालसम्म गुटबन्दी सामान्य रहे पनि भूमि एकीकरणमा सबै लागेकै हुन् । यस क्रममा शाह, थापा, कुँवर, पाँडे, बस्नेत, मगर, खवास, देउजा आदि इत्यादि ।
तर जतिजति समयको पाँग्रो गुड्दै अघि बढ्यो भूमि एकीकरणतिर भन्दा पनि सत्ता स्वार्थको लागि गुटबन्दीकरण, चाकडी, चुकली, चापालुसीले चुचुरो छोयो । सात समुद्रपारिबाट भारतमा आई औपनिवेशिक शासन गरिरहेका अंग्रेजहरुले नेपालका भारदारहरुमा फुटपारी नेपाल देशलाई निल्दै तिब्बततिर दखल गर्ने कुत्सित चाहना बमोजिम नेपाली भारदारहरु बीच खेल्न थाले ।
एसियाबाटै अंग्रेजलाई लेखट्नुपर्छ भन्ने महान् देशभक्त भीमसेन थापाको आह्वानलाई उग्रवादी ठान्नेहरुले भीमसेन थापा र उनका समर्थकका विरुद्धमा धेरै गुटबन्दी र षड्यन्त्र गर्न थाले । अंग्रेजहरुले भीमसेन थापाको विरुद्धमा नेपाल दरबारका भाइभारदारहरुलाई उचाल्ने पछार्ने काम गरे ।
यसैबेला राजकुमार देवेन्द्रको कालगतिले मृत्यु भयो । राजकुमारलाई विष खुवाइ हत्या गर्ने काम भीमसेन थापाले नै गरेका हुन् भन्ने निराधार आरोप लगाई उनलाई गिरफ्तार गरी जेल हाल्ने काम भयो । साथै उनकी श्रीमतीलाई नांगै शहर परिक्रममा गराउने हल्ला फिजाइयो ।
भीमसेन थापाले आत्महत्या गरुन् भनेर खुकुरी समेत जेलभित्र राखियो । तर वीर देशभक्त भीमसेन थापा यति कमजोर थिएनन् आत्महत्या गरेर मरुन् । भीमसेन थापालाई जेलभित्रै हत्या गरियो ।
नेपाल देशको एकीकरण र संरक्षणमा अहं भूमिका खेलेका थापाहरुको उठिबास लाग्यो । भीमसेन थापाको अन्त्य भएको उनका विरोधीहरुले उत्सव मनाए भन्ने इतिहासमा उल्लेख छ ।
त्यसैको परिणाम स्वरुप बस्न्यात भारदार वंशीय सन्तति प्रेमसिंह बस्न्यातले जितगढी किल्ला १८७१-७२ को युद्धपछि राजा राजेन्द्र विक्रम शाहको पालामा निर्माण गर्न लगाएको हो भनी फेसबुकमा लेखेर चिहान खन्न थालेको देखिन्छ ।
तर यो उनी स्वयंलाई ठूलो भारी होला । यति मात्र होइन उनले त जितगढी किल्ला कसरी जितगढी हो ? किन जितगढी भयो भनी प्रश्न समेत उठाएका छन् ।
निचोडः
जितगढी किल्ला राजा राजेन्द्रको पालामा निर्माण भएको होइन । किल्ला निर्माण सेन वंशकालमै भई जितगढी युद्धकाल १८७१-७२ मा मर्मत सम्भार र आवश्यक संरचना पनि निर्माण भएको कुरामा विवाद गरे पनि प्रमाणित गर्न सक्ने छैनन् ।बुटवल गढी नामले निर्माण भएको गढी १८७१–१८७२ मा अंग्रेजलाई हराएपछि जितगढी भएको हो बस्नेतजी ! बुझे हुन्छ ।
सारतः
जितेपछि गढीको नाम जितगढी भयो ।
वीरताको निशानी हो हाम्रो शान रहयो ।।




