२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मालारानी गाउँपालिकाको ६२ करोड बढीको बजेट सार्वजनिक

मालारानी गाउँपालिकाको ६२ करोड बढीको बजेट सार्वजनिक

मालारानी गाउँपालिकाको ६२ करोड बढीको बजेट सार्वजनिक

मालारानी गाउँपालिकाको ६२ करोड बढीको बजेट सार्वजनिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • अविजित पन्थी
    अर्घाखाँची ।
    मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उक्त बजेट गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष दीपा पोखरेलद्वारा प्रस्तुत गरिएको हो। बजेटमा चालु खर्चतर्फ ४५ करोड ७१ लाख २९ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १७ करोड २१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ। ‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारासहित बजेट दीर्घकालीन सोचमा आधारित रहेको बताइएको छ । 


    यस वर्षको बजेटले स्थानीय विकासको चौतर्फी पहललाई प्राथमिकता दिएको छ। गाउँपालिकाले कृषि, पशुपालन, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वातावरण, सूचना प्रविधि, सुशासन र सामाजिक समावेशीकरणलाई विशेष जोड दिएको छ। समग्र योजना मार्फत समावेशी, सशक्त र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको उल्लेख छ । आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि तथा पशुपालनलाई बलियो बनाउने उद्देश्यले १ करोड ७९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट अनुसार व्यावसायिक कृषकहरूलाई ७० प्रतिशत लागत साझेदारीमा अनुदान दिइने भएको छ। बाख्रा, गाई, भैसी, बोका वितरण, बीउ पाठी प्रवद्र्धन, आलु पकेट कार्यक्रम, हाते ट्याक्टर, मिनी मिल, भेटेरिनरी सेवा सबलीकरण, सिँचाइका लागि पाइप वितरण जस्ता कार्यक्रम सञ्चालन गर्ने तथा पर्यटन प्रवद्र्धनका लागि गाइड तालिम, टुरिस्ट म्याप निर्माण, भगवती मन्दिरको विकास तथा सन्तुला फल खेती जस्ता कार्यक्रम बजेटमा समावेश छन् ।


    सामाजिक विकास कार्यका लागि ७ करोड ३७ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा दीर्घरोगीलाई निःशुल्क औषधि, मातृ तथा नवजात कार्यक्रम, ल्याब सेवा विस्तार, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, औषधि आपूर्ति, क्षयरोग न्यूनीकरण, एचआईभी संक्रमितका लागि सहयोग लगायत कार्यक्रम छन्। साथै, रक्त सञ्चार, गर्भपतन सेवा, क्याल्सियम चक्की वितरण, ल्याब मर्मत, शौचालय तथा खानेपानीको पहुँच विस्तार पनि समेटिएको छ ।


    शिक्षामा गुणस्तरीय सुधारका लागि विद्यालय पाठ्यक्रम विकास, परीक्षा व्यवस्थापन, छात्रवृत्ति, पोषणयुक्त खाजा, विज्ञान तथा प्राविधिक धार सञ्चालन, शिक्षक व्यवस्थापन र भौतिक पूर्वाधार विकासमा ध्यान दिइने भएको छ। ‘हाम्रो मालारानी’ नामक स्थानीय पाठ्यक्रम सञ्चालन, शिक्षक तालिम, शैक्षिक अनुगमन र मूल्याङ्कन सशक्तिकरणका लागि पनि बजेट विनियोजन गरिएको छ। यसअन्तर्गत खेलकुद कार्यक्रमहरू पनि समावेश गरिएका छन्।


    पूर्वाधार विकासका लागि ६ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। मोटरबाटो स्तरोन्नति, विद्यालय भवन निर्माण, झोलुङ्गे पुल, टोल विकास संस्था सक्रियता तथा सिमेन्ट पाता वितरणजस्ता कार्यक्रमहरू समावेश छन्। संघ र प्रदेश सरकारसँग साझेदारीमा बृहत् पूर्वाधार निर्माण गर्न लागत बाँडफाँडको अवधारणामा योजना अघि बढाइने जनाइएको छ ।


    वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५८ लाख रुपैयाँ छुट्याइएको छ। वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, पहिरो नियन्त्रण, सडक सुरक्षा, विपद् जोखिम न्यूनीकरण र वातावरणमैत्री पहलहरू सञ्चालन गरिने भएको छ। जलवायु परिवर्तनप्रति संवेदनशील योजनाहरूलाई प्राथमिकतामा राखिएको छ। 


    संस्थागत विकास तथा सुशासन प्रवद्र्धनतर्फ ८ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। यसभित्र सूचना प्रविधि प्रवद्र्धनका कार्यक्रम पनि समावेश छन्। इन्टरनेट पहुँच विस्तार, डिजिटल सूचना डिस्प्ले बोर्ड, सार्वजनिक सुनुवाइ, एकीकृत घुम्ती शिविर, कर्मचारी क्षमता अभिवृद्धि, सशक्तीकरण तथा प्रविधिमैत्री सेवा संरचना निर्माणका कार्यक्रम समावेश गरिएका छन् ।


    ९ वटै वडाका लागि वडा स्तरीय कार्यक्रम अन्तर्गत १ करोड ५७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। प्रत्येक वडाको आवश्यकता र प्राथमिकता अनुसार मागमा आधारित योजना छनोट, कार्यान्वयन र अनुगमन गरिने भएको छ स्थानीयस्तरमै योजना कार्यान्वयनमा जनसहभागिता बढाइने जनाइएको छ।


    सामाजिक समावेशीकरण अन्तर्गत महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, भूमिहीन, सुकुम्बासी र सीमान्तकृत समुदायका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन्। उपाध्यक्ष साहारा योजना, विचल्लीमा परेका नागरिक सहयोग कार्यक्रम, परम्परागत संस्कृति संरक्षण, चाडपर्व र सांस्कृतिक सम्पदाको प्रवद्र्धन पनि बजेटमा समेटिएको छ ।
    गाउँपालिकाको आम्दानी समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा विशेष अनुदान र आन्तरिक स्रोतबाट जुटाइनेछ। समानीकरण अनुदान अन्तर्गत ११ करोड ३६ लाख ७२ हजार, राजस्व बाँडफाँडबाट ९ करोड ९७ लाख १६ हजार, सशर्त अनुदानबाट ३५ करोड ५१ लाख, विशेष अनुदानबाट ८७ लाख र आन्तरिक आम्दानीबाट ३ करोड २३ लाख ६२ हजार ८ सय ५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।


    गएको वर्षको तुलनामा यो बजेट व्यावहारिक र सन्तुलित रहेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्ष २०८१÷८२ मा ७२.३२ प्रतिशत बजेट खर्च भइसकेको, आन्तरिक राजस्व लक्ष्यभन्दा १२ लाख बढी संकलन भएको, ८८७२ जना दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरिएको र समावेशी विकास सूचकांकमा उल्लेखनीय प्रगति हासिल गरिएको गाउँपालिकाले जनाएको छ ।
    यद्यपि, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौती, आन्तरिक आयको सीमितता, कानुनी जटिलता र योजना कार्यान्वयनमा दोहोरोपनाका चुनौती अझै रहेका छन्। ती चुनौतीहरूलाई समाधान गर्दै स्रोतसाधनको न्यायोचित उपयोग, पारदर्शिता र उत्तरदायित्वका साथ समृद्ध मालारानी निर्माण गर्ने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।


    बजेट सार्वजनिक गर्दै उपाध्यक्ष दीपा पोखरेलले समृद्ध, समावेशी र सुशासित मालारानी निर्माण गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले स्रोतको सीमितता हुँदाहुँदै पनि आवश्यकता, प्राथमिकता र सहभागितालाई आधार मानेर बजेट निर्माण गरिएको स्पष्ट पार्नुभयो ।


    गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले यो बजेट नागरिकलाई गुणस्तरीय सेवा, सीपयुक्त शिक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नीति, योजना र कार्यान्वयनमा सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।


    प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बजेट कार्यान्वयनमा छरितोपन, पारदर्शिता र प्रविधिमैत्रिता कायम राख्दै पञ्चवर्षीय योजना तथा मध्यमकालीन खर्च संरचनालाई आधार मानेर दीगो विकासको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij