२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुलुककै लाइफलाइन भांचिएको ६ महिनासम्म छैन विकल्प

मुलुककै लाइफलाइन भांचिएको ६ महिनासम्म छैन विकल्प

चार दिनसम्म बर्दघाटमा सयौं ट्रक सडकमै रोकिंदा चालकहरु लामखुट्टेको टोकाईले डेंगु संक्रमित भएर अस्पताल भर्ना हुन वाध्य भए । राज्यप्रति आक्रोश व्यक्त गर्दै सोध्छन्‌– सरकार के हेरेर बसेको छ ?

मुलुककै लाइफलाइन भांचिएको ६ महिनासम्म छैन विकल्प

मुलुककै लाइफलाइन भांचिएको ६ महिनासम्म छैन विकल्प

चार दिनसम्म बर्दघाटमा सयौं ट्रक सडकमै रोकिंदा चालकहरु लामखुट्टेको टोकाईले डेंगु संक्रमित भएर अस्पताल भर्ना हुन वाध्य भए । राज्यप्रति आक्रोश व्यक्त गर्दै सोध्छन्‌– सरकार के हेरेर बसेको छ ?

मुलुककै लाइफलाइन भांचिएको ६ महिनासम्म छैन विकल्प
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • बुटवल ।  सुनवल–६ का थीरलाल पराजुली क्यान्सर रोगी आफ्‌ना छिमेकी प्रेमलाल रिमाललाई भेट्न र अप्रेशनका लागि रगत दिन बुधबार बिहानै क्यान्सर अस्पताल चितवनका लागि घरबाट हिंडे । तर आधा घण्टामै बर्दघाट पुग्दा बस रोकियो । चार घण्टासम्म बस रोकिंदा र कहिले जाम खुल्ने हो ठेगान नहुंदा उनमा छटपटी र बेचैनी भयो । ‘पञ्चायतकालमा राजा महेन्द्रले बनाएको सडक अहिलेसम्म उस्तै हालतमा हुनु विडम्वना हो’–पराजुलीले भने–‘अहिलेको सरकारलाई सत्ता जोगाउने बाहेक अरु कुरामा ध्यान छैन,कहिले सडक खुल्ने हो र विरामी भेट्न पाइने हो ठेगान छैन ।’ 

    सडकको सास्तीले उनी सरकारप्रति निकै रुष्ट देखिए र प्रधानमन्त्री,मन्त्रीविरुद्ध मुर्दावादकै नारा लगाउन पुगे । सडकमा रोकिएका ट्रक चालकले उनलाई साथ दिंदै नारा भट्ट्याए । उनले व्यवस्था नै परिवर्तन गर्नुपर्नेसम्मको तर्क गरे । 

    ……
    नेपालगन्ज–काठमाडौं चल्ने भे १ ख ४३६० नम्बरको बस गत साता बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, मुग्लिन हुंदै काठमाडौं पुग्यो । नेपालगन्जबाट बुटवल, बर्दघाट दाउन्ने नियमित र छोटो रुट हुंदै काठमाडौं जानुपर्ने बस विनयी खोलाको डाइभर्सन बगेको र दाउन्नेको उकालोमा पानी पर्दा गुड्न नसक्ने डरले यसरी रुट परिवर्तन गर्न वाध्य भएको हो ।  यसरी रुट परिवर्तन गरेर गाडी चलाउंदा  यात्रु कम पाइने, सरकारले तोकेको भाडा नपाइने, डिजेलमा मात्रै एक पटकमा १५ हजार सम्म बढी खर्च हुने गाडीका मालिक र चालक विकास बडुवालले बताए । आफू जस्तै धेरै बस यसरी नै रुट परिवर्तन गर्न वाध्य भएको उनले बताए ।  

    ‘दुम्किबासको डाइभर्सन बगेको र पानी पर्दा दाउन्नेमा गाडी गुडाउन नसकिने डरले १४ घण्टाको बाटो बदलेर २८–३० घण्टा लाग्ने पोखरा रुटमा हिंड्नुपरेको छ’–बडुवालले भने–‘१४ किलोमिटरको दुम्किबास दाउन्नेमा पुल र सडक बन्दा नयां बाटोमा गाडी चलाउनुपर्दा सकस हुन्छ, यात्रु पनि पाइंदैनन्, भाडा बढ्न जांदा यात्रुले पूरा भाडा दिन खोज्दैनन्, डिजेल मात्रै १५ हजार बढी खर्च हुन्छ ।’ 
    बडुवालले अहिलेका प्रधानमन्त्री केपी ओलीले रेल र पानी जहाजका कुरा छाडेर पहिले राम्रो सडक बनाउनुपर्ने सुझाए । ‘हामीलाई अहिले रेल र पानी जहाज चाहिएको हैन, गाडी गुड्ने राम्रो सडक चाहियो’–बडुवालले रुष्ट हुंदै भने–‘सरकार वर्ष भरि निदाउंछ, वर्खा लागेपछि बाटो खन्न तातेर कहां हुन्छ ?’ 

    ………………..
    भैरहवा–काठमाडौं रुटमा ट्रक चलाउंदै आएका कृष्णबहादुर श्रेष्ठ असार ८ गते भैरहवाबाट पुर्व पश्चिम राजमार्ग हुंदै पश्चिम नवलपरासीको बर्दघाट पुगे । बर्दघाटमा प्रहरीले दुम्किबासको डाइभर्सन बाढीले बगाएको भन्दै ट्रक त्यहीं रोक्न भन्यो । त्यस यता चौथो दिनसम्म श्रेष्ठ बर्दघाटको सडकमै दिन–रात बिताउन वाध्य छन् । 
    ना ५ ख ७४११ नम्बरको ट्रक चालक श्रेष्ठले दुई दिनमा पुगिने रुटमा अहिले चार–पांच दिन लाग्ने गरेको बताए । ‘चार दिनसम्म सडकको बास भयो, ल्याएको खर्च पनि सकियो, होटेलमा बसौं भने पैसा छैन, ट्रकमा सुत्दा गर्मीले सकिन्न, बाहिर लामखुट्टेले टोकेर सुत्न दिन्न, दिशा पिसाब गर्न पनि शौचालय पनि छैन, असाध्यै दुख पाइयो’–श्रेष्ठले आक्रोश पोख्दै भने–‘केही दिन अघि काठमाडौंबाट भैरहवा आउंदा दुम्किबासमा पनि चार दिन रोकिनुपरेको थियो, यतिका दिनसम्म राज्यले के हेरेर बसेको छ ?।’  

    ……..
    ना.६ ख ३२८४ नम्बरको ट्रकका चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । भैरहवाबाट काठमाडौं हिंडेका उनी पनि चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्‌ना दुई जना चालक साथी लामखुट्टेको टोकाईबाट डेंगु संक्रमित भई अस्पताल भर्ना हुनुपरेको र आफूले सास्ती बेहोर्नुपरेकोमा न्यौपाने राज्यसंग रुष्ट छन् । ‘राज्यले ६ महिनासम्म डाइभर्सनको विकल्प दिन त सकेन नै, विनयी खोला पारीबाट होङसी सिमेन्ट उद्योग हुंदै दुम्किबास पुग्ने वैकल्पिक मार्ग चलाउन समेत नसक्दा यात्रु र चालकले दुख पाए’–न्यौपानेले भने–‘राज्यले स्थानीयलाई चित्त बुझाएर त्यहां ग्राभेल गर्दिएको भए यसरी चार पांच सय ट्रक ४–५ दिन सडकमा रोकिनुपर्ने थिएन, यो सरकार निकम्मा भएर यस्तो भएको हो ।’

    सरकारले अब पनि सडक सुचारु गर्न नसके ट्रक चालकले आफै सडक बन्द गरेर आन्दोलनमा उत्रिने भन्दै न्यौपानेले आक्रोश पोखे । ‘गृहमन्त्री, यातायात मन्त्री,उद्योग वाणिज्य संघ, ट्रक व्यवसायी, मजदुर संगठन कोही पनि सडकको यस्तो हालत प्रति संवेदनशील छैनन्‌’–उनले आक्रोश पोख्दै भने–‘अब पनि सडक खुलेन भने चालकहरु कपडा खोलेर नांगै सडकमा उत्रिने हो ।’ 

    ………..
    ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज भरिएको छ । अरु २२ वटा आलु प्याज बोकेका  ट्रक पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । चर्को गर्मीमा छिटै कुहिने बस्तु ट्रकमा भएपनि प्रहरीले जान नदिएको चालक सुवोध पासवानले गुनासो गरे । ‘बसलाई जान दिएको छ तर ट्रकलाई चार दिन देखि रोकेर राखेको छ, यहां आलु र प्याज कुहिन लागिसक्यो’–पासवानले भने–‘नबिग्रियोस भनेर दिनमा २०–२५ पटक त्रिपाल खोल्ने र बन्द गर्ने गर्नुपरेको छ, बिग्रेर गन्हाउन थालिसक्यो, गन्धले ट्रकमा आफू पनि बस्न र सुत्न सकिन्न, अरु साथीलाई पनि गाह्रो भएको छ ।’

    …….
    बीरगञ्ज– भैरहवा रुटका ट्रक चालक अनवर हुसेनले चार दिनसम्म  सयौं ट्रक सडकमा रोकिंदा सम्बन्धित पालिकाका मेयर,उपमेयर र वडाध्यक्षहरु अवस्था के कस्तो छ भनेर जानकारी दिन समेत नआएको गुनासो गरे । ‘चार पांच सय सडकमा ट्रक लाइन लागेका छन्, यत धेरै ट्रकका चालक सहचालक सडकमा कसरी बसे होलान्, खाए होलान् कि भोकै होलान्, दिशा पिसाब कहां गरे होलान् भन्ने  न्यूनतम मानवीयता पनि देखिएन’–हुसेनले भने–‘हामी बेखर्ची भइयो, कसैले खाना खान पाएका छैनन् तर कसैले वास्ता गरेनन् ।’

    ……
     बर्दघाटमै भेटिएका चालक ज्ञानबहादुर कार्कीले पुल भांचिएको ६ महिनासम्म भरपर्दो विकल्प राज्यले दिन नसक्दा हजारौं चालक र लाखौं यात्रुले सास्ती भोग्नुपरेको बताए । ‘यो सरकारको हदैसम्मको लाचारी र निकम्मा हो’–कार्कीले भने–‘अरु देशमा भएको भए ६ घण्टामै विकल्प तयार हुन्थ्यो तर हाम्रोमा लाजमर्दो अवस्था छ ।’ 
    असार ५ गते राति साढे ११ बजेतिर काठमाडौंबाट नेपालगञ्ज जांदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस पुर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीमा फस्यो । डाइभर्सन बाढीले बगाएसंगै बाढीको भेलमा फसेको बसबाट राती साढे ११ बजेदेखि २ बजेसम्मको प्रयासमा २४ जना यात्रुको सकुशल उद्धार भयो । दुईजना यात्रु पहिले नै आफै बसबाट ओर्लिएर सुरक्षित भएका थिए । यो घटनाले सरकारको चर्को आलोचना भएपछि प्रहरीले उक्त सडकखण्डमा यात्रा नगर्न बिहीबार बिहानै सूचना जारी गरेको थियो । सोही सूचनाका कारण एक हप्ता बढी देखि  दुम्किबास– दाउन्ने खण्डमा यात्रु र सवारी चालकले सास्ती खेपेका छन् । 


     २०८१ पुस २६ गते दिउँसो भारतीय नम्बर प्लेटको हेभी ट्रक (लरी) का कारण बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल भांचिएपछि  पुल भन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो ।  तर केही हप्तामै भारी वर्षा हुंदा डाइभर्सन बगाएर पुर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । त्यति बेलै राज्यले यसलाई गम्भीररुपमा लिएन ।  फलस्वरुप अहिले वर्षायाममा डाइभर्सन बगाउने नियति दोहोरिंदा मुलुकको पुर्व पश्चिम जोड्ने लाइफलाइन हाइवे बारम्बार अवरुद्ध हुन पुगेको छ । 


    बुटवल–नारायणगढ सडक विस्तार आयोजना पुर्व खण्डका सूचना अधिकारी चुडा ढकालले विनयी खोलामा निर्माणाधीन पुलको काम तीब्र गतिमा भइरहेकाले छिटै सञ्चालनमा आउने बताए । नवलपुर प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले असार भित्र पुल सञ्चालनमा आउने बताए । पुल सञ्चालनमा नआउंदासम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइएकोमा स्थानीयले मालवाहक ट्रक चल्न अवरोध गरेकाले समस्या आएको उनले बताए । ‘वैकल्पिक मार्गबाट मालवाहक सवारी साधन पनि सञ्चालन गर्न स्थानीय लाई सहमत गराउने काम प्रहरीको भन्दा पनि स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालयको हो’–नेपालले भने–‘ट्रकहरु धेरै दिन सडकमा रोकिने अवस्था अन्त्य गर्न सम्बन्धित निकायको ध्यान जानुपर्छ,गएको होला ।’  

    b77e2b75-e378-4c82-82b6-1c1cf7dd482e.jpg
    तीनपटक म्याद थप्दा पनि पूरा भएन काम
    पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका काम समयमा नै नसकिँदा सर्वसाधारणले चार वर्षदेखि झेल्दै आएका छन् । ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) मा बाँडेर गरिएको विस्तार भइरहेको छ ।

    १६ अर्ब ९९ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले दुवै खण्डसडक विस्तार गर्ने गरी ठेक्का पाएको थियो । आयोजनाको पश्चिम खण्डमा ६७ प्रतिशत र पूर्वी खण्डमा ६८ प्रतिशत  भौतिक प्रगति भएको छ ।

    पश्चिम खण्डमा दाउन्नेको १० किलोमिटर मध्ये ३ किलोमिटर कालोपत्र भइसकेको र बांकी असार मसान्तसम्म सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शंशाक मिश्रले जानकारी दिए । तर मिश्रले दावी गरे अनुसार काम हुने अवस्था देखिन्न । दाउन्ने पुर्वको ४ किलोमिटरमा पनि ढलानको काम भइरहेको तर वर्षाले काममा ढिलाई भएको आयोजनाका पुर्व खण्डका सूचना अधिकारी शिव खनालले बताए । 


    बर्खा अगाडि नै पूर्वी खण्डको यात्रा सहज बनाउने गरी काम भैरहेको  खनालले बताए । 
    सडकको हाल रहेको दुई लेनलाई बढाएर चार लेन र बजार क्षेत्रमा छ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति गरिएको हो । २०७५ चैत ८ मा सुरु भएको सडक विस्तारका काम २०७९ साउन २२ भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाई, खानेपानीको पाइपलाइन, स्थानीय अवरोध, मजदुरका समस्या, ठेकेदार कम्पनीको कारणले निर्माण पूरा हुन सकेको छैन । २०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रोपटक थपिएको अवधिमा पनि सडक विस्तार पुरा हुन नसक्ने निश्चित छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij