दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक हुँदा नेपाली समाजमा उत्साह जागेको छ । पेट्रोलियम पदार्थसहित विभिन्न ग्यास आयात गरिरहेको मुलुकका लागि आत्मनिर्भर हुनका लागि दैलेखको यो खबरले उत्साह जगाउनु स्वभाविकै हो ।
चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर दिएको प्रतिवेदनले समाज जति उत्साहित छ, अब यो उत्साहलाई कायमै राख्न उत्खनन् र प्रशोधनको काममा ढिलाइ गर्न हुन्न । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इञ्जिनियरिङ कम्पनीले २०८० बैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनिएको थियो ।
त्यतिबेला जमिन मुनिबाट ग्यासको गन्ध आएको थियो । तर ग्यासको मात्रा र गुणस्तरलगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्यास व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लगाउनु थियो । अहिले प्राप्त रिपोर्टले ११२ अर्ब घनमिटर मिथेन ग्यास छ भन्ने पुष्टि भयो । मिथेन ग्यास पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । मिथेन ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न सकिने खानी तथा भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् । मिथेन ग्यासबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्याँस निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिने उनीहरूको भनाइले नेपाल जस्तो मुलुकका लागि निकै उपयोगी छ । जुन मुलुकभित्रै उपभोग गर्न सकिन्छ, बढी भएको निर्यात गर्न उत्तिकै सम्भव छ ।
दैलेखका विभिन्न स्थानहरुमा आगोको ज्वाला बल्दै गरेको देखिन्छ । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । जमिन मुनि प्रज्ज्वलनशील ग्यास भएको र त्यही बाहिर निस्किएर आगो बलेको विज्ञहरुको भनाइ अहिले पुष्टि भएको छ ।२०७२ सालमा भारतीय नाकाबन्दीका कारण ग्यास र इन्धन आपूर्तिमा संकट भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको अध्ययन गर्न चीनलाई निम्तो दिएको थियो । ओली प्रधानमन्त्री भएकै बेला अध्ययन प्रतिवेदन तयार भएको छ । नेतृत्वको इच्छाशक्ति हुने हो भने मुलुकमा उत्साह जगाउने काम सम्भव छ । अब चिनियाँ प्राविधिक टोलीले विस्तृत प्रतिवेदन दिएपछि ग्यास उत्पादन प्रक्रिया सुरु गर्नुपर्छ । परीक्षण उत्पादन लगत्तै व्यवसायिक गर्ने गरी काम अघि बढाउन ढिलाइ गर्न हुन्न ।




