नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनमा ढलानको काम गर्न गएकाहरू भोजमा च्याउ खाएर बिरामी भएका हुन् । बिरामी सबै बुलिङटार गाउँपालिका–२ का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिरामीमध्ये नौ जनाको भरतपुर अस्पतालमा र सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
डाक्टरहरूका अनुसार विषालु च्याउ खाँदा पेट दुख्ने, चक्कर आउने, बेहोस हुने, बान्ता र पखाला लाग्ने, आँखा वरिपरि अँध्यारो हुनेजस्ता लक्षण देखिन सक्छन् । विषको असर ७ देखि २४ घण्टाभित्रै वा कहिलेकाहीँ एक हप्ता पछिसम्म पनि देखिन सक्छ ।




