कालिकामा विद्यार्थीलाई सम्मानबुटवल । बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसईईको परीक्षामा ४ जीपीए ल्याउने ७ जना विद्यार्थीहरुसहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी ग्रेडेट भएका विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको हो ।
अनिस जिसी, अस्मीना पराजुली, प्रसंसा पराजुली, प्रतिक पौड्याल, स्वरुप न्यौपाने, सुर्दशन न्यौपाने र सुजन बाह्रघरेले जीपीए ४ ल्याएका थिए । कालिका मानवज्ञान माविबाट यो वर्ष ७ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । जुन रुपन्देही जिल्लामा सामुदायिक विद्यालयमा दोस्रो हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यायका प्रमुख शैक्षिक सल्लाहकार तथा पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले अभिभावकको संस्कारसहितको शिक्षाका कारण उपलब्धि हाँसिल भएको बताएका थिए । आमाबाबु र शिक्षकले मात्रै विद्यार्थी सर्वश्रेष्ठ रहेको हेर्न चाहाना रहेको भन्दै उनले अहिले प्राप्त गरेको नतिजालाई जोगाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी, अभिभावक संघका अध्यक्ष केशवराज न्यौपानेसहितका विभिन्न व्यक्तित्वहरुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका कक्षा १० इञ्चार्ज दिपक बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षकहरुको कडा मिहिनेत, विद्यार्थीहरुको अथक प्रयासबाट विद्यालयले उच्च नतिजा प्राप्त गर्न सफल भएको भन्दै सबैलाई बधाई तथा धन्यावाद दिएका थिए ।
उच्च शिक्षाको नयाँ खुड्कीलो सुरुवात भएको भन्दै विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो भविश्य कस्तो बनाउने भन्ने निर्णय लिने बेला पनि आएको भन्दै सोहीअनुसार आफ्नो ईच्छा, आकांक्षा र योजना अनुसारको विषय छनौट गरी अगाडि बढ्न सुझाव समेत दिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले कालिकाको सिर उचो राख्ने कालिकाका नक्षत्रहरुलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको लागि कालिकामा नै स्वागत गरिएको जानकारी गराएका थिए ।




