सैनामैना । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुर्गिया शाखाको आयोजना तथा सैनामैना नगरपालिका वडा नं ४ को समन्वयमा स्थानीय बृद्धबृद्धा, अपाङ्ग तथा असहाय व्यक्तिहरूलाई लठ्ठी वितरण गरिएको छ।
आयोजित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको मुर्गिया शाखा प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन १०३ वर्षीया कस्तुरी विष्टलाई लठ्ठी हस्तान्तरण गर्दै गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, वडा नं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी, बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले जेष्ठ नागरिकहलाई सम्मान स्वरुप लठ्ठी वितरण गरेका थिए ।
नगरप्रमुख शर्माले सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएका कार्यक्रमहरू प्रेरणादायक र सराहनीय रहेको बताए । कार्यक्रममा सैनामैना वडा नं ४ का १५ वटै टोलमा रहेका ४० जना वृद्ध, अपाङ्ग तथा असहायहरूलाई हिँडडुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले आधुनिक लठ्ठीहरू वितरण गरिएको बैंकका शाखा प्रबन्धक कृष्णप्रसाद पन्थीले बताए ।
शाखा प्रबन्धक पन्थीले बैंकद्वारा प्रदान गरिने सेवा–सुविधाहरूका साथै अस्पताल, ल्याब, होटल आदिमा बैंकका ग्राहकहरूलाई दिइने विशेष छुटबारे जानकारी गराएका थिए।
कार्यक्रममा सञ्चालन बैंककी कर्मचारी मनिषा पौडेलले गरेकी थिइन् । बैंकका प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले बैंक र स्थानीय निकायहरू नङ र मासुको सम्बन्धजस्तै भएको उल्लेख गर्दै यस्ता रचनात्मक सहकार्यबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे। साथै, बैंकको सफलतासँगै समुदायको आर्थिक समृद्धि पनि सँगसँगै अघि बढ्ने कुरामा उनले जोड दिए।




