जीतगढी युद्ध संग्रहालयको पूर्वाधार निर्माण सम्पन्न भएको दुई वर्ष भयो । बुटवललाई पर्यटकीय ढंगले विकास गर्न बुटवल उपमहानगरपालिका-१ बटौलीमा निर्माण गरिएको युद्ध संग्रहालय सञ्चालन गर्न बेवास्ता भएको छ ।
बुटवललाई पर्यटकीय ढंगले विकास गर्न जीतगढी युद्ध संग्रहालय निर्माण गरिएको हो । दुई सय वर्ष अघिको नेपाल- अंग्रेज युद्धका क्रममा बुटवलको जीतगढी किल्लाबाट नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको गौरवपूर्ण इतिहास छ । यही इतिहासलाई जिवन्त राख्न सक्दा बुटवलमा पर्यटन प्रवद्र्धन गर्न सकिने राम्रो संभावना भएकाले युद्ध संग्रहालय निर्माण गरिएकोे हो । तीन कठ्ठा क्षेत्रफलमा आर्कषक भवन तयार भएको छ ।
जीतगढी घुमेपछि नजिकैको संग्रहालयमा युद्धको जिवन्त इतिहास अवलोकन गर्न पाउने अवसर छ । पूर्वाधार निर्माणको काम ७ करोड रूपैयाँमा सम्पन्न भयो, ११ करोड रूपैयाँ संग्रहालय सञ्चालन गर्नका लागि लाग्ने अनुमान गरिएको छ । संग्रहालय सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले पहलकदमी लिनुपर्छ । प्रदेश र संघीय सरकारको सहयोग खोज्ने काम उपमहानगरपालिका नेतृत्वको हो ।
पूर्वाधार बन्यो, लामो समयसम्म बनेको पूर्वाधारको प्रयोग भएन भने पूर्वाधार बन्नुको अर्थ हुँदैन् । पछिल्ला वर्षहरुमा बुटवलले पहिचान र सार्मथ्य खोजी गरिरहेको बेला पर्यटन पूर्वाधार निर्माण र प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।
बुटवल व्यापारिक केन्द्र मात्रै नभएर यो एउटा पर्यटकीय केन्द्र पनि हो भन्ने छाप छाड्नका लागि संग्रहालय एउटा गतिलो उदाहरण हो ।
दुई निजी कम्पनीले बुटवल-नुवाकोट र बुटवल— बसन्तपुर केबलकार बनाएका छन् ।तहगत सरकारको संयोजनमा अरू पूर्वाधारका काम धमाधम अघि बढेका छन् । केही वर्ष अघि सम्म लथालिङ्ग जीतगढी अहिले हेर्नलायक भएको छ । फुलबारीमा पर्यटकीय पूर्वाधार बनेका छन् । नुवाकोट र बसन्तपुर नजिकको हिलस्टेशनको रुपमा विकास गर्न सकिन्छ ।
नेपाल—अंग्रेज युद्धको झल्को दिने संग्रहालय सञ्चालन गर्न सक्दा बुटवलको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण पाइला अघि बढ्नेछ । बुटवल उपमहानगरपालिकाको अगुवाईमा प्रदेश र संघीय सरकारको साथ आवश्यक छ ।




