२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्याको एमालेमा पुनरागमन

विद्याको एमालेमा पुनरागमन

विद्याको एमालेमा पुनरागमन

विद्याको एमालेमा पुनरागमन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • भनिन्छ एउटा जंगलमा दुईवटा बाघ मिली बस्न सक्दैन । यो भनाइ मात्रै होइन एकदमै सत्य कथन पनि हो । प्रत्येक बाघले जंगलमा आ–आफ्नो क्षेत्र बाउन्डरी अर्थात् घेरा बनाइ बसेका हुन्छन् । उक्त क्षेत्रभित्र अरु कुनै बाघलाई आउन र बस्न दिँदैन । बसे आक्रमण गरी भगाउँछ । ठीक यो हिजो सामन्ती राज्य व्यवस्था र शासन सत्ताअन्तर्गत राजा महाराजाहरु हुने गरेको थियो । नेपालमा पनि यस्ता थुप्रै भुरे टाकुरे राजा–रजौटाहरुको शासन सत्ता चल्दै आएको थियो । ती सबैलाई आक्रमण गरी पृथ्वीनारायण शाह र उनका सन्तानले नेपाल एकीकरण गरी नेपाल राज्य बनाएका थिए । तर पनि यो राज्यका लागि आ–आफ्नै दाजुभाई–सन्तान र भारदारबीच पटकपटक लडाइँ हुँदै आयो । अन्तिममा राजा वीरेन्द्रको वंश नास नै गरी त्यो पुरानो शाही शासन सत्ता खतम पारियो । यसका लागि पनि आफ्नै भाइ ज्ञानेन्द्र र उनका छोरा पारसको हात रहेको शंका गरियो । प्रत्यक्ष तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले त्यतिबेलै कान्तिपुर दैनिकमा एउटा लेख लेखी त्यसको खुलासा गरेका थिए । यो कथन सामन्ती राजा–रजौटामा मात्र लागू नभई लोकतान्त्रिक गणतन्त्र भनिने हालको शासन सत्ता र पार्टीमा समेत देखिंदै आएको छ ।
    आज देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ ।

    दलीय शासन सत्ता छ । प्रत्येक दलहरुका आ–आफ्ना दल नेताहरु छन् । तिनै दल नेताहरुद्वारा नै देशको शासन सत्ता चल्दै आएको छ । तर यी सबैले शासन सत्ता लोकतन्त्रमा आधारित भएर होइन व्यक्ति केन्द्रित निरंकुशतन्त्रमा आधारित भएर सञ्चालन गर्दै आइरहेका छन् । शासन सत्ता मात्रै होइन स्वयं आ–आफ्नै पार्टी प्रशासन सबैमा त्यस्तै शक्ति केन्द्रित निरंकुशता हावी हुँदै आएको छ । कांग्रेसमा देउवा–अराजु, एमालेमा ओली अनि माओवादीमा प्रचण्डको एकलौटी आन्तरिक बोलवाला छ । पार्टीभित्र जनवाद छैन । कथम कदाचित पार्टी भित्रबाट नेतृत्वको आलोचना कसैबाट भयो भने यी कुनै पनि नेताहरुलाई त्यो पाच्य हुँदैन । तत्काल कारबाही भइहाल्छ । अन्तर पार्टी संघर्ष चल्नै सक्दैन । कम्युनिष्ट पार्टीमा त यो छँदै छैन । हरेक पार्टीभित्र आ–आफ्नै गुटउपगुट । सबै व्यक्ति केन्द्रित स्वार्थमा आधारित, विचार दृष्टिकोण सबैमा सुन्यता । खाली आआफ्ना पद, प्रतिष्ठा र कुर्सी केन्द्रित लडाइँ हुँदै आएको छ । 


    नेकपा एउटा तर यहाँ त्यसैको नाममा दर्जनभन्दा बढी अघि पछि पुच्छर झुण्डयाएर अनेक थरी कम्युनिष्ट नामधारी पार्टी यहाँ छन् । यी मध्ये पहिलो नेकपा एमाले र दोस्रोे नेकपा माओवादी केन्द्र यी दुई दलभित्र पनि पहिले र अहिले यस्तै टुटफुट हुँदै आएको छ । एमालेबाटै  सीपी नेतृत्वको नेकपा (माले) र माधव नेतृत्वको नेकपा (एस) र माओवादीबाट वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी भनी विप्लव नेतृत्वको नेकपा भई नै सकेका छन् । तर फेरि अहिले यी दुवै पार्टीमा पनि त्यस्ता नयाँ गुटगत नयाँ विवाद र द्वन्द्वको थालनी हुन थालेको छ । एमालेमा ओली र अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीबिच अन्तर द्वन्द्वको सुरुवात हुन थालेको छ । त्यस्तै माओवादीभित्र प्रचण्ड र नारायणकाजी अनि प्रभाकरबीच त्रिपक्षीय अन्तर संघर्ष भई नै रहेको छ । 


    पहिले एमालेभित्रको अन्तर पार्टी संघर्ष र यसको परिणामको बारेमा केही चर्चा गरौं । मदन भण्डारी र जीवराज आश्रितको निधनपछि एमालेमा दुई गुट एउटा माधव–झलनाथ र केपी ओली अनि अर्काे सी.पी.– वामदेव गुट देखा प¥यो । महाकाली सन्धि सम्झौताप्रति तत्कालीन एमाले नेतृत्व खासगरी केपी ओलीद्वारा भएको राष्ट्रघातविरुद्ध सीपी वामदेवहरुले राष्ट्रवादको नारा अघि सार्दै एमाले छोडी नेकपा (माले) बनाए । तर पछि माले छोडी वामदेव एमालेमै फर्किए । सीपी एक्लैले माले पार्टी सञ्चालन गर्दै आएका छन् । तै पनि फेरि एमालेमा माधव–झलनाथ र ओलीबिच एकता भएन, छुट्टाछुट्टै गुट–उपगुट सञ्चालन भई नै रह्यो । लामो समयसम्म ओली अल्पमत नै रहे । उनलाई साथ विद्या भण्डारीको रहयो । यो त्रिपक्षीय अर्थात् माधव–झलनाथ र ओलीबीचको अन्तर संघर्षमा माधव–झलनाथ एक हुँदा ओली अल्पमतमा र यी दुई अलग हुँदा ओली बहुमतमा हुँदै आए । यही दुईको अन्तर संघर्षकै परिणाम ओलीले पहिलो पटक एमाले अध्यक्षमा बाजी मारे । तर पार्टी अन्तर संघर्ष रोकिएन । झन हाँगाविगा हाल्दै झाँगिन पुग्यो । एउटा पार्टी तीन ठूला नेता एकले अर्काको अस्तित्व स्वीकार्ने कुरै थिएन । त्यसमा पनि अझ ओलीमा माधव–झलनाथप्रति पुरानो रिस द्वेष पूर्वाग्रह र बदलाको भावनाले बढी काम गरिरहेको थियो ।


    यही अवस्थामा वाम एकताको नाममा पहिले एमाले र माओवादीबिच चुनावी एकता अनि पछि पार्टी एकता गर्ने निर्णय ओली र प्रचण्डबिच भयो । त्यसबाट एमालेभित्रको अन्तर संघर्षले नयाँ मोड लियो । माधव–झलनाथ र वामदेव सबै ओझेलमा परे । ओली–प्रचण्ड दुवैले हालीमुहाली आलोपालो सरकारको नेतृत्व गर्ने भनियो । त्यतिबेला दुवैले आ–आफ्ना पार्टीका विचार, सिद्धान्त र कार्यदिशाको कुनै चर्चा नै गरेनन् ।  माओवाद, नयाँजनवाद वा जनताको बहुदलीय जनवाद (जवज) सबैलाई छोडियो । खाली सत्ता र कुर्सीलाई मात्र हेरियो । त्यसको विरोध गर्ने कोही भएनन् । सबै रमिते । यता माधव–झलनाथ र वामदेवलाई पन्छाइएको र प्रधानमन्त्रीको कुर्सी हात पारेकोमा ओली दंग । उता एमाले जस्तो ठूलो पार्टीको ठूलो नेता भएकोमा र ओली पछि आलोपालो प्रधानमन्त्री भइनेमा प्रचण्ड झन दंग । करिब दुई तिहाई बहुमत प्राप्त एकलोटी वाम नेतृत्वको सरकार तर काम शून्य खाली बढी प्रचार मात्रै । 


    प्रधानमन्त्रीको कुर्सी ओलीबाट झर्ला र खाउँला भनी मुख आँ गरी बसेका प्रचण्ड पछि त्यतिबेला झस्किए–जब ओलीले यो पुरै कार्यकालकै प्रधानमन्त्री आफू भन्दै हिंड्न थाले । त्यसपछि प्रचण्ड पनि के कम ओली शेर भए प्रचण्ड झन सवा शेर । अन्तर पार्टीको नयाँ द्वन्द्वको थालनी भइहाल्यो । वर्षौंदेखि ओलीबाट आकुलव्याकुल भएका माधव–झलनाथ अनि वामदेवका लागि के खोज्छस आँखो भने जस्तै भयो ओली र प्रचण्डबिचको यो द्वन्द्व । यी सबै एक भई ओलीलाई एक्लाए । हुँदाहुँदा ओलीलाई अल्पमतमा पारी कारबाही समेत गरियो । यतिसम्म भयो कि केपी ओलीले अर्काे नयाँ पार्टी नै निर्वाचन आयोगमा दर्ता गर्ने जमर्काे गरिसकेका थिए । तर ओलीको भाग्य त्यतिबेला कुनै एक अर्काे मुद्दामा सर्वाेच्च अदालतले तत्कालीन सत्ताधारी दल नेकपालाई अवैध ठहराई खारेज गरिदियो । त्यसको खारेज मात्रै होइन पूर्व एमाले र माओवादी दुवै दलहरुलाई पुनर्जीवित गराउनेसम्मको फैसला गरिदियो । जसको फाइदा ओलीले लिंदै एमाले भित्रका आफ्ना प्रतिद्वन्द्वी सबैलाई एकपछि अर्काे गरी हटाउँदै आफ्नो एकछत्र नेतृत्व एमालेमा स्थापित गर्न सफल भए । आजसम्म त्यही नै छ । उनका अगाडि अरु सबै एमाले नेता गरुडको छायामा सर्प परे जस्तै ओलीसामु  सदा नतमस्तक भइरहेका छन् । कसैले ओली ‘बा’ भन्दै उनको गुनगान र प्रशंसा गर्दैछन् भने कसैले हाम्रा झोले नेता क. ओली भन्दै गुनगान गाउँदै हिडिरहेका छन् ।


    आज एमालेभित्र प्रम ओलीको एकलौटी वर्चस्व छ । प्रतिद्वन्द्वी कोही पनि छैन । ओली जे भन्छन् र जे गर्छन् त्यही पार्टीको नीति कार्यक्रम हुन्छ । अरु पार्टीको विधान दस्तावेज नीति सिद्धान्त सबै रद्दीको टोकरीमा फालिंदै छ । पार्टी नेतृत्वको ७० वर्षे उमेर हद अनि नेतृत्वको दुई कार्यकालको अवधि सबैलाई तत्पाउँदै ओली खुलम्खुला भन्दैछन्– एमालेभित्र नयाँ नेतृत्वको लागि अझै २०,२५ वर्ष कुर्ने धैर्यता राख्नु पर्दछ । न म अहिले रोगी छु न बुढो नै भएको छु । बल्ल फेरि दारी जुंगा कपाल कालो हुँदैछ आदि इत्यादि  । एमाले पार्टी भित्र र बाहिर चारैतिर उनको दबदबा छ । मानौं असनको छाडा साँडे जस्तै जे मन लायो त्यही गर्दै हिंड्ने ।


    तर अब क. ओलीको स्थिति त्यस्तो रहेन । नेता क. मदन भण्डारीकै कथन अनुसार राजनीतिमा स्थायी मित्र र स्थायी सत्रु सदा कोही पनि हुँदैन । ठिक यो अब प्रम ओलीमा पनि लागू हुन थालेको छ । कुनै बेलाका एमाले लालजोडी भनिने ओली–विद्या बीच आज ठूलै विवाद देखिन थालेको छ । केही महिना पहिलेदेखि नै ओली विद्यादेखि अलि बढी संशकित देखिन थालेका थिए । बारम्बार ओलीले कसैको नाम नलिई विद्याप्रति कटाक्ष गर्दै आएका थिए । त्यस्तै विद्याले पनि एक वर्षदेखि एमाले पार्टीभित्र र  बाहिर अनि देश–विदेश चारैतिर विचार विमर्स अनि राय सल्लाह गर्दै आइरहेकी थिइन् । अन्ततः यही गत असार १४ गते मदन भण्डारीको ७४औं जन्म जयन्तीको अवसरमा पुनः सक्रिय राजनीतिक जीवनका लागि एमाले पार्टी फर्केको घोषणा गरिन् । यतिसम्मकि उनले पूर्व राष्ट्रपति भए बापत राज्यले प्रदान गर्दै आएको सुविधा समेत नलिने घोषणा गरिसकेकी छन् । यसरी अन्ततः प्रम केपी ओलीको एमाले पार्टीभित्र र बाहिरको एकलौटी हैकमविरुद्ध स्वयं आफ्नै लालजोडी विद्या भण्डारीले नै चुनौती तेर्साउन थालेकी छन् । आजसम्म एमालेभित्र ओलीको विकल्प नदेख्नेहरुका लागि पनि यसले ठूलै चुनौती दिएको छ । रातारात पार्टी पंक्तिभित्र कित्ताकाट अर्थात् ओली पक्ष र विद्यापक्ष बीच तीब्र धु्रवीकरण देखिन थालेको छ । 


    हरेक वस्तुमा जस्तै गतिशिल पार्टीमा पक्ष–विपक्ष र अन्तर विरोध र संघर्ष हुन द्वन्द्ववादको नियम नै हो । तर अहिले जुन नेपालमा पार्टी छन् यी सबैमा त्यस्तो गतिशिलता छैन । सबैमा जडता छ । एक प्रकारले सबैमा सामन्ती अवसरवाद छ । अन्तर्विरोधको नाममा अन्तरघात छ । द्वन्द्ववादको नाममा अद्वेत र एकमनावाद । जनवादको नाममा निरंकुशतावाद । एकताको नाममा अनेकतावाद हुँदै आएको छ  । त्यसैको परिणाम एउटा जंगलमा दुई वा बढी बाघ मिली बस्न नसके जस्तै एउटा पार्टीमा दुई विचार दुई नीति कार्यक्रम र सिद्धान्त र दुई नेता मिली बसेको स्थिति कमै छ । माथि केही उदाहरण बताई सकिएको छ । एमाले पार्टीभित्रकै उदाहरण सीपी–वामदेव, माधव–झलनाथ अनि भीम रावल र केपी ओलीबीचको यस्तो द्वन्द्वमा ओलीको एकलौटी वर्चस्व अहिले देखिए पनि अब विद्या भण्डारीको पुनरागमनले एमालेभित्र नयाँ द्वन्द्वको सिर्जना गरेको छ । एमाले पार्टीभित्रका यी दुई ओली र विद्याबीचको यो द्वन्द्वमा हार–जित कसको हुन्छ ? हेर्न बाँकी छ । प्रम ओलीमा अहिले हतास मानसिकता, विस्तृष्णा र नकारात्मकताले घर जमाइसकेको छ । मदन भण्डारीको जन्म दिवसकै अवसरमा उनले भनेका धेरै कुुराहरुले यो देखाइसकेको छ । यतिसम्मकि बे प्रसंग, बेतुक र बेप्रमाण त्यतिकै मदन भण्डारीको गुनगान गाए जस्तै गरी ओलीले मदनका विरुद्ध भ्रमक धेरै श्रीमती भएको र साझा सहकारीको रकम हिनामिना गरेको प्रसंग त्यसैको उपज हो । यसको प्रतिकार अब विद्याले कसरी गर्लिन् ? घायल बाघ बढी आक्रमक हुन्छ त्यसबाट पहिले बच्नु नै पहिलो उपाय हो । घायल पछि आफै मरिहाल्छ नि ।


    अन्त्यमा कुनै पनि राजनीतिमा को कति अवधि र पदमा रहनु पर्छ पर्दैन यसको बारेमा कुनै स्पष्ट नीति हुनुपर्छ भन्ने कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता छैन । यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा प्रतिक्रियावादी राज्य व्यवस्था भएकाले यहाँ जसले जे गर्दा पनि हुन्छ ? जसको शक्ति उसैको भक्ति र जय जयकार यहाँ हुन्छ । चीनमा राष्ट्रपति सिपिङ जो दुई कालपछि पनि सदा राष्ट्रपति बनिरहने गरी सिपिङ विचार अघि सारिसकेका छन् । त्यस्तै रुसी राष्ट्रपति पुटिन पटकपटक कहिले राष्ट्रपति अनि कहिले प्रधानमन्त्री बन्दै पुनः वर्षौंदेखि राष्ट्रपति भइरहेका छन् । अहिले नेपालमा पनि प्रधानमन्त्री ओली त्यस्तै चिनियाँ राष्ट्रपति पथमा भने एमाले पूर्व राष्ट्रपति विद्या भण्डारी रुसी राष्ट्रपति पुटिन पथमा अग्रसर छन् । आखिरी यी दुवैको मूल उद्देश्य र चाहना भनेकै देश र जनताको हितमा भन्दा बढी सदा आआफ्नै पद, प्रतिष्ठा र कुर्सीकै लिप्सा हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij