बुटवल । तिलोत्तमा राइडर्स क्लबले तिलोत्तमा नगरपालिकामै पहिलोपटक प्रथम तिलोत्तमा कोरा २०८२ आयोजना गर्ने भएको छ ।
साइक्लिङमार्फत नगरका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन तथा अनाथ बालबालिकाको सहयोगार्थ आगामी साउन ३ गते कोरा हुन थालेको हो ।
कोराको अर्थ परिक्रमा (घुम्नु) हो । ड्राइभरटोलबाट शुरु भई विभिन्न वडा हुंदै ५० किलोमिटर साइक्लिङ पछि वनवाटिका पुगेर समापन हुने तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङले बताए ।
कोरामा भाग लिन साइक्लिस्टहरुको नाम दर्ता चलिरहेको र शनिबारसम्म ६० जना भन्दा बढीले नाम दर्ता गराइसकेका अध्यक्ष गुरुङले बताए । नाम दर्ताको समय असार २८ गतेसम्म रहेको छ । बढीमा ८० जनालाई कोरामा सहभागी गराइने क्लबका सचिव सुवास थापाले बताए ।
नगरपािलकामा पहिलो कोरा कार्यक्रम भएकाले व्यवस्थित, भब्य र स्मरणीय बनाउने गरी तयारी भइरहेको सचिव थापाले बताए ।
कार्यक्रमको तयारी बारे बसेको आयोजक क्लबको वैठकमा उपाध्यक्ष शंकर मल्ल, सल्लाहकारहरु सन्तोष केसी, क्याप्टेन कृष्णबहादुर कार्की लगायतले कार्यक्रमलाई उत्कृष्ट बनाउन विभिन्न सुझाव दिएका थिए । कार्यक्रमलाई किङ्स अब्रोड एजुकेसन कल्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ ।




