रामचन्द्र श्रेष्ठ
नेपाली समाज अध्ययनमा निकै चर्चित र महत्त्वपूर्ण मानिने फ्रेडरिक एच.गेज.को पुस्तक ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ प्रकाशन भएको ५० वर्ष पुगेको छ । यस अवसरमा विभिन्न मञ्च र माध्यमबाट यो पुस्तकमाथि चर्चा परिचर्चा चलिरहेको छ । यहाँ यो पुस्तकको संक्षिप्त चर्चा गरिने छ । यो चर्चा विश्लेषणात्मक भन्दा पनि परिचयात्मक रहेको छ ।
सन् १९७५ मा पहिलोपटक अंग्रेजी भाषामा प्रकाशित यो पुस्तक अमेरिकी समाज अध्येता फ्रेडरिक एच.गेजले सन् १९६७/६८ मा नेपालको तराईमा गरेको गहन अनुसन्धानको उपज हो । यो पुस्तकमा गेजले यो पुस्तकमा नेपलको तराई, क्षेत्रीयता र राष्ट्रिय एकताका समस्याहरू केलाउन खोजेका छन् । जुन समयमा गेजले अनुसन्धान गरिरहेका थिए त्यतिबेला समाजशास्त्री र मानवशास्त्रीहरूको अध्ययन क्षेत्र पहाड र हिमालमा मात्र केन्द्रीत थियो ।
कसैले पनि अध्ययनका लागि चासो नराखेको तराईमा गेजले आँखा ओच्छाए । जटिल, कष्टसाध्य अनुसन्धान गरे । त्यसैले उनी तराईको अध्ययन गर्ने शुरुवाती समाज अध्येता बन्न पुगे । गेजले आफ्नो पुस्तकलाई दश वटा अध्यायमा विभाजन गरेका छन् । ती दश अध्यायमा उनले तराईको भू–राजनीति, अर्थतन्त्र, नेपाल–भारत सीमा समस्या, बसाईसराई, नागरिकताको समस्या, राजनीति, भाषाको राजनीति, नेपाल राजनीति, तराईको प्रतिपक्षी राजनीति र राष्ट्रिय एकात्मकताको समस्याबारे व्यापक चर्चा गरेका छन् ।
नेपाल विशाल दुई छिमेकी देश चीन र भारतको बीचमा रहेको छ । यसका आफ्नै सुरक्षा चुनौती र समस्याहरू रहेका छन् । नेपाल पहाडी देश भए पनि नेपालको राष्ट्रिय कुल उत्पादनको आधा हिस्सा तराईले ओगट्छ । र, राजस्वमा पनि तराईकै उल्लेखनीय योग्यता छ ।
तराई र पहाडबीच फरकपना रहेको छ । तराईको भाषा, धार्मिक परम्परा, खानाको शैली, पोषाक, मनोरञ्जनको स्वरूप पहाडसँग निकै मात्रामा रहेको छ । तराईमा मैदानी भाषाहरूको वर्चश्व रहेको छ । तराईको सांस्कृतिक विशेषता धेरै हदसम्म उत्तरी भारतका उत्तर प्रदेश र बिहारसँग मिल्दो छ ।
वैवाहिक स्थिति हेर्दा पनि तराईका पहाडि समुदायकाले नेपालको पहाडि भेग र काठमाडौं उपत्यकासँग बिहेवारी गेरेको देखिन्छ भने राजपुत, ब्राह्मण आदिले उत्तरी भारतका क्षेत्रहरूमा बिहेवारी गरेको देखिन्छ । यसरी सांस्कृतिक सामञ्जस्यता धेरै हदसम्म उत्तरी भारतसँग रहेको छ । नेपाल सरकारले तराईमा नेपालीकरण प्रकृयालाइ बढावा दिने कदमहरू चाल्दा तराईका मानिसहरूले उनीहरूको संस्कृति बदलिने गरी चालेका कदमहरूको प्रतिकार गरेका छन् ।
नेपाल बृहत्त भारतीय अर्थमण्डलको परिधिमा रहेको छ । भारतसँग सीमाना जोडिएका कारणले पनि तराई नेपालको पहाडी भेगसँग भन्दा पनि बढी मात्रामा भारतीय अर्थमण्डलसँग गाँसिएको छ । अनि नेपालको पहाडी भेग परापूर्वकालदेखि नै तराईमाथि निर्भर छ ।
तराई नेपालको सबैभन्दा धेरै कृषि उत्पादन हुने र औद्योगिक क्षेत्रको रूपमा रहेको छ । नेपालको कुल जमिनको १७ प्रतिशत मात्र ओगट्ने तराईले राजस्व र उत्पादनमा आधाभन्दा बढी हिस्सा ओगट्छ । १९ औं शताब्दीको पछिल्लो चरणमा नेपाल–भारत सीमानामा रेलमार्गको विस्तारसँगै तराईमा भारतीय आर्थिक क्रियाकलाप पनि बढ्दो मात्रामा छ ।
नेपाल भारत खुला सीमानाको कारणले उल्लेखनीय समस्याहरू पैदा गरेको छ । खुला सीमानाको कारण तस्करी पनि मौलाएको छ भने सीमा विवादले बेलाबेलामा दुई देशबीच तनाव उत्पन्न गरेको छ । उदाहरणको लागि नवलपरासीको सुस्ता लिन सकिन्छ । सीमामा हुने आपराधिक कृयाकलाप थप समस्याको विषय बनेको छ । सीमा समस्याले राष्ट्रिय एकतामा पनि प्रश्न उठाएको छ ।
गेजले तराईको बसाइसराइबारे पनि विस्तृत चर्चा गरेका छन् । उनले नेपालको तराईको जनघनत्व र त्यसको उत्तरी र दक्षिणी भेगको जनघनत्वको तुलना गर्दै तराईलाई जनसांख्यीकरूपले रित्ता स्थान मानेका छन् । तराईका पुराना बासिन्दा थारु, राजवंशी, मेचे र गनगाई हुन्, जो धेरै पहिले केही वर्षपछि बसाई सर्दै हिड्थे ।
उनीहरू तराईमा पहाडीहरूबसाईं सरी आउनु अगाडि नै आप्रवासीको चपेटामा परेका हुन् । तराईंमा करिब ९०० ईपूबाट नै उत्तरी भारतबाट बसाइसरी आएको देखिन्छ । यद्यपि सन् १८६० र १९५१ को बीचमा सरकारले आर्थिक विकासको लागि पहाडी मूलका बासिन्दालाई तराईमा बसोबास गर्न प्रेरित गर्यो । तर, गर्मी र मलेरियाको कारण थोरै मात्र पहाडिले तराईमा बस्न रुचाए । यसर्थ, सरकारले तराईको विकासको लागि भारतबाट हुने बसाईसराईलाई सहमति दियो ।
पहाडबाट तराईमा स्थायी, अर्धस्थायी र मौसमी गरी तीन प्रकारले बसाइसराइ हुने गर्थ्यो । शुरुशुरुमा तराईमा निःशुल्क वा थोरै मूल्यमा धेरै जमिन हडपेको देखिन्छ । पहाडी भेगबाट तराईमा हुने बसाइसराइले सांस्कृतिक बराबरीको स्थिति सृजना गरी नेपालीकरणको प्रकृयालाई टेवा पुर्याउने ठानिएपनि प्रायःजसो पहाडी भेगबाट बसाइसरी आएका उपल्लो जातका र पढेलेखेको हुने कारणले सांस्कृतिक एकरूपता भन्दा विषमता धेरै देखियो ।
अल्पसङ्ख्यक भए पनि उच्च जातिका पहाडी मूलका मानिसहरूले जहाँसुकै बसोबास गरे तापनि नेतृत्व आफ्नो हातमा लिन सक्थे । सरकारले सुरक्षाको दृष्टिकोणले बेलायती, भारतीय र नेपाली सैन्य सेवाबाट अवकाश प्राप्त सैनिक परिवारहरूलाई अर्धसैनिक शक्तिको रूपमा बसोबास गराउने कार्यक्रम ल्यायो । मलेरिया उन्मुलन पश्चात सरकारले भुपू–सैनिक परवार र पहाडि इलाकाका मानिसहरूलाई तराईमा बसाइ सरी आउन प्रोत्साहन गरेसँगै मैदानी इलाकाबाट आएका मानिसहरूले आफूहरू अल्पसङ्ख्यक भएको महसुस गरेको देखिन्छ ।
गेजले नागरिकताबारे पनि विशद चर्चा गरेका छन् । नेपालले नागरिकता सम्बन्धमा कसरी र किन उदार विचार त्यागे कठोर नीति अवलम्बन गर्यो र यसबाट तराई मूलका कुन वर्गका मानिसमा कस्तो असर पर्यो भन्ने चर्चा गरेका छन् । नागरिकताका लागि नेपाली भाषाको अनिवार्यता, नेपालमै पेसामा संलग्न भएको हुनुपर्ने र निवेदन दिनुपर्ने जस्ता प्रावधानले तराईका गाउँका शिक्षा नपाएका र शिक्षामा पहुँच नभएका मानिसलाई कठिनाई उत्पन्न गरायो ।
पहाडी मूलका प्रतिनिधिहरूले निर्माण गरेको नागरिकता सम्बन्धी व्यवस्थाले गैरनेपाली भाषी र मैदानी मूलका बासिन्दाहरूलाई नागरिकता प्राप्त गर्नमा कठिनाई र भेदभावको स्थिति सृजना गरेको छ । नागरिकताको कारणले सरकारी पेसा, शिक्षण, जग्गा किनबेच आदिमा कठिनाई उत्पन्न भएको छ । भेदभावपूर्ण नागरिकता नीतिले तराईका जनतालाई दोस्रो दर्जाको नागरिक बनाएको छ र राष्ट्रिय एकतामा गाँस्न कठिनाइ उत्पन्न भएको छ ।
भाषाको विवाद तराईमा चर्को ढंगले उठ्दै आएको छ । तराईमा सन् १९५१ देखि नै हिन्दिलाई दोस्रो राष्ट्रिय भाषा बनाउनुपर्ने आवाज उठे पनि सन् १९५७मा सरकारले स्कुले पाठनपाठनमा नेपाली भाषा अनिवार्य गरेपछि भाषाको विवाद झनै चर्किन थाल्यो । सन् १९५१मा गठन भएको वेदानन्द झाको नेतृत्वको नेपाल तराई काँग्रेस पार्टीले आफ्ना मुख्य तीन उद्देश्य राखेको थियो ।
ती उद्देश्यहरू निम्न थिए—
क) स्वायत्त तराई राज्यको स्थापना
ख) राज्यको भाषाको रूपमा हिन्दिको सुनिश्चितता
ग) नेपालको निजामती सेवामा तराईका बासिन्दाको उपयुक्त रोजगारी ।
सन् १९५७मा नेपाल तराई काँग्रेसको ‘हिन्दि बचाऊ अभियान’ चलायो । १९५७को नोभेम्बरमा विराटनगरमा स्थानिय हिन्दि बचाऊ समिति र नेपाली प्रचारिणी सभाका मानिसबीच झडप पनि भयो । आन्दोलनको दबावले सरकारले केही छुट पनि दियो । तर, वेदानन्द झाको पार्टीले वि.सं. २०१५ को चुनावमा नराम्रो हार बेहोर्यो ।
गेजले सरकार भाषाको कारणले नै जनतासँग संवाद गर्न नसकेको प्रष्ट्याउँछन् । उनका अनुसार तराईका अधिकांश गाउँलेसँग सम्पर्क राख्न पनि सरकारले नेपाली बाहेक अन्य भाषा अपनाउनुपर्छ ।
गेजले नेपालको राजनीतिको बारेमा पनि मिहिन चर्चा गरेका छन् । उनका अनुसार नेपाली राजनीतिमा सफल हुन आर्थिक स्रोतको नियन्त्रण, उच्च जातको हैसियत, पहाडि संस्कृतिको पहिचान र उच्च शिक्षा । उनको यो विश्लेषणा अनुसार नेपालको राजनीतिमा क्षेत्री–ब्राह्मण–नेवार घरानाको प्रभुत्व रहेको देखिन्छ । तर, राजनैतिक रूपले सफल हुन आर्थिक हैसियत भएर मात्र पुग्दैन । तराईका ब्राह्मण, भुमिहार, राजपुत, कायस्थ र मारवाडीहरू माथिल्लो र व्यापारी वर्गको भए पनि, उच्च जातको हैसियत, शिक्षा र आर्थिक स्रोत भए पनि राजनीतिमा प्रभावशाली भएनन् । त्यसैले गेजले निष्कर्ष निकालेका छन्, “नेपालको इतिहासमा जुनसुकै शासन व्यवस्था आए पनि शासक घराना फेरिएका छैनन् ।”
गेजले निजामती कर्मचारीमा तराईका जनताको पहुँचबारे तथ्यांकीय विश्लेषण पनि गरेका छन् । त्यस्तै, गेजले तराईको प्रतिपक्षी राजनीतिबारे पनि प्रकाश पारेका छन् । तराई असन्तोषको मैदान भएकाले प्रतिपक्षी राजनीतिको लागि उर्वर भूमि रहेको प्रष्ट्याएका छन् ।
अन्तिम अध्यायमा गेजले ‘राष्ट्रिय एकात्मकताको समस्या’बारे चर्चा गरेका छन् । बसाइसराइ, भूमिसुधार आदिको अभ्यासबाट तराईको कृषियोग्य जमिनहरू मैदानी बासिन्दाहरूको हातबाट खोसेर पहाडी बासिन्दाको स्वामित्वमा पारेको देखिन्छ । तैपनि नेपाली सरकार मैदानी मानिसहरूलाई दमन गर्न सक्दैन । यसका पछाडि दुई कारण छन् ।
एक, तराईमा दमन हुँदा उत्पन्न हुने शरणार्थी समस्याले भारतलाई पनि पिरोल्ने कारण भारत नेपाललाई दवाब दिन्छ । दुई, तराईका मानिसहरूसँग आर्थिक शक्ति छ । पहाडि शासकहरूले सैन्य र प्रशासनिक आडमा दबाएता पनि मैदानका अल्पसङ्ख्यकहरूले नेपालको ठूलो सम्पत्तिको हिस्सा ओगटेका छन् । त्यहि आर्थिक शक्तिको बलमा उनीहरू सरकारी विभेद विरुद्ध लड्छन् ।
गेजले तराईको असन्तोषको चर्चा गर्दै विविधता स्वीकार गरेर राष्ट्रको नयाँ परिभाषा खोज्न जोड दिन्छन् । तराईका मानिसहरूलाई पहाडी संस्कृति ग्रहण नगराइकनै पनि उनीहरूसँग सहभागितामूलक सम्बन्ध कायम गर्न सकिन्छ भन्ने गेजको विश्लेषण रहेको छ ।
गेजको सुझाव थियो— सरकारले राष्ट्रिय एकात्मकताको बृहत् योजना तयार गरेर, अहिलेका नीतिमा सुधार र समन्वय गरी केही नयाँ नीति कार्यान्वयन गरेको खण्डमा तराईको समस्या समाधान हुनसक्छ र मैदानमा बस्ने मानिसबीच शत्रुता घट्न सक्छ ।
यसका लागि गेजले निम्न उपाय सुझाएका उल्लेख गरेका छन्—
क) तराईका मानिसप्रति भेदभाव गर्ने नागरिकता सम्बन्धी ऐनको खारेजी
ख) नागरिकता प्रमाणपत्र लिने प्रकृयाको सरलीकरण
ग) निजामती कर्मचारी, प्रहरी र सेनामा मैदानका धेरै मानिसलाई भर्ती गर्न १० देखि २० प्रतिशत कोटा निर्धारण ।
गेजको यो पुस्तक नेपालको समग्र शक्ति संरचना, शासन प्रणाली र नेपाल–भारत सम्बन्धको विश्लेषण हो । यद्यपी गेजले नेपालको राष्ट्रिय एकताको समस्या र चुनौतीबारे विशद चर्चा गर्दै सुझावहरू दिएका छन् । गेजका अनुसार पृथ्वीनारायण शाहको राज्य विस्तार पश्चात् नेपाली शासक वर्गले तराईप्रति अपनाएको नीतिले तराई आन्तरिक उपनिवेशको अवस्थामा परिणत गर्यो ।
पृथ्वीनारायण शाहको राज्य विस्तारदेखि उत्पन्न परिणामको विशद् चर्चा गरेका गेजले आफ्नो अध्ययनको समयका राजा वीरेन्द्रको हुर्काइ र नेपालको राष्ट्रिय एकतामा योगदानको सम्भावना इंगित गरेका छन् । गेज लेख्छन्, “तत्कालका लागि उनले (राजा वीरेन्द्रले) आफ्ना पिताका भर परेका परम्परागत कुलीन वर्गको सहयोग लिनुपरे पनि उनी राष्ट्रका अन्य समुदायसम्म पुग्नका लागि बढी मात्रामा तयार छन् । उनले यसो गर्न चाहेका खण्डमा उनी नेपाललाई पूर्ण राष्ट्रिय एकताको लक्ष्यतिर अघि बढाउन सक्षम हुनेछन् ।”
गेजको यो पुस्तक प्रकाशनको ५० वर्षको यो अवधिमा पहाडबाट तराईमा बसाइसरी ज्यादै घनिभूत भएको छ जसले तराईको मानवीय भूगोलमा उल्लेखनीय परिवर्तन गरेको छ । गेजले पञ्चायतको कठोर राजतन्त्रकालमा अध्ययन गरे । त्यसपछि देशले संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा गरेको छ ।
माओवादी सशस्त्र संघर्षले सतहमा ल्याइदिएको जातिय र क्षेत्रीय पहिचानको मुद्दा तीन वटा मधेस आन्दोलनले झनै उत्कर्षमा उठायो । यो लामो अवधिमा मधेसका कैयन् नेताहरू राज्यको मूलधारमा पुगे र देशले पहिलो राष्ट्रपति र उपराष्ट्रपति नै मधेसबाट प्राप्त गर्यो । निजामती कर्मचारी, न्यायक्षेत्रदेखि सैन्य क्षेत्रमा मधेसको उल्लेखनीय सहभागिता बढ्यो ।
एक मधेस एक प्रदेश नभए पनि मधेस प्रदेश अस्तित्वमा आयो । के नेपालको एकात्मकताको प्रश्न पूर्ण रूपले निरूपण भइसक्यो त ? गेजले अध्ययनमार्फत् प्रष्टाएका समस्याहरू पूर्णरूपमा समाधान भइसके त ? के मधेसको समस्या क्षेत्रीय पहिचान र पहाडी राष्ट्रवादसँगको संघर्षमात्र रहेछ वा अन्य केही पनि रहेछ ? मधेसको विशाल जमिन, जमिनदार किसानको संघर्ष र भूमि स्वामित्वको प्रश्न, हिन्दू वर्णव्यवस्थाले सिर्जना गरेको जातिगत विभेद र त्यसविरुद्ध संघर्ष आदि थुप्रै प्रश्नहरू अझै पनि बाकी छन् । तथापी, गेजको यो पुस्तक नेपाली समाज र राजनीतिको अध्ययनको लागि सँधै एक क्लासिक पुस्तक रहिरहनेछ ।




