२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘दर्ज्यु संलाप’ आत्मपरक प्रतिरोधी आवाज

‘दर्ज्यु संलाप’ आत्मपरक प्रतिरोधी आवाज

‘दर्ज्यु संलाप’ आत्मपरक प्रतिरोधी आवाज

‘दर्ज्यु संलाप’ आत्मपरक प्रतिरोधी आवाज

‘दर्ज्यु संलाप’ आत्मपरक प्रतिरोधी आवाज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  •  

    शंकर भण्डारी

    कुमारी लामाद्धारा लिखित ‘दर्ज्यु संलाप’ समकालिन नेपाली साहित्यको एउटा महत्त्वपूर्ण हस्तक्षेपको रूपमा उदाउन खोजेको कृति हो । शीर्षकमा प्रयुक्त ‘दर्ज्यु’ भन्ने शब्द तामाङ समुदायमा ‘दाजु’ वा ‘मान्यजन’ भन्ने अर्थमा प्रयोग हुन्छ । त्यस्तै ‘संलाप’ भन्नाले संवाद वा कुराकानी भन्ने जनाउँछ । तर यस पुस्तकको शीर्षक ‘दर्ज्यु संलाप’ले प्रतिरोधको आत्मसंवाद वा उत्पीडित समुदायको प्रतिध्वनी लाई संकेत गर्दछ । लेखकले यस कृतिलाई ‘प्रतिरोधी स्वर’को रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

    ‘दर्ज्यु संलाप’ आत्मपरक शैलीमा लेखिएको गैर–आख्यान हो । यसमा संग्रहित निबन्धहरूले भुँइमान्छेका कथा सुनाएको छ । किनारामा पारिएका जाति र समुदायको रहनसहन कला संस्कृतिलाई महत्त्वका साथ पस्केको छ । उत्पीडित समुदाय त्यसमा पनि तामाङहरूको जीवनको चर्चा छ । यो पुस्तक तीन भागमा विभाजित छ । पहिलो भाग ‘समाज संवार्ता’ हो । जसमा ७ वटा निबन्धहरू अटाएका छन् । भने दोस्रो र तेस्रो खण्ड ‘सैलानी समय’ र ‘दृश्य अ (दृश्य)’मा पाँच–पाँच वटा निबन्धहरू समावेश छन् । 

    यो एउटा सशक्त र संवेदनशील निबन्ध संग्रह हो । यसले हाम्रो समाजमा अदृश्य तथा दबिएका आवाजहरूलाई उजागर गर्ने कोशिस गरेको छ । यो कृति नेपाली साहित्यमा एउटा उज्यालो सङ्केत हो । यसले पाठकलाई सोच्न र आफैसँग संवाद गर्न बाध्य पार्छ । यसका निबन्धहरूले महिला, सीमान्तकृततामाङ समुदायका मुद्दाहरू बोकेको छ । लेखकले यी समुदायका पीडा र प्रतिरोधलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् । विशेषतः तामाङ समुदायको सांस्कृतिक स्व पहिचानको खोज र उनिहरूको संवेदना यस कृतिको आत्मा बनेको छ । 

    ‘दर्ज्यु संलाप’ विचार चिन्तन र अनुभूतिको संग्रह हो । यसका निबन्धहरूले लेखकको भावनात्मक संलग्नता, आत्मीयता र संवेदना पोख्दछन् । लेखकको स्वतन्त्र चिन्तनको मार्ग रोज्ने साहस प्रशंसनीय छ । यी निबन्धहरू ‘कथा भन्ने निबन्धहरू’ हुन् । यसका निबन्धहरू भित्र कथा लुकेका छन् । यसका पात्रहरू सजिव छन् र घटनाहरू अनुभूत छन् । यसका निबन्धहरू दस्तावेजी नभई आत्मपरक र छोड्ने खालका छन् ।यस संग्रहले सामाजिक चेतनाको प्रवाहीकरण गर्ने चेष्टा गरेको छ । यसले नसुनिएका आवाजहरूलाई मुखर गरेको छ । मौन संवादहरू गरेको छ । 

    यस कृतिको भाषा काव्यिक लाग्छ । यसमा काव्यको लाग्छ यसमा काव्यको सौन्दर्य र निबन्धको गाम्भिर्य दुवैको सामञ्जस्य पाइन्छ ।  ‘दर्ज्यु संलाप’ले समाजसँग प्रतक्ष्य विमर्श गर्ने कोशिस गरेको पाइन्छ । यसले समाजका संरचनागत अन्याय पितृ सत्ताको जरो, जातीय विभेदजस्ता मुद्दा माथि प्रश्न गरेका छन् । यस कृतिले मूलतः भूँइमान्छेको पक्षमा वकालत गर्छ । यसमा शक्ति हुनेहरूको होइन, शक्ति नहुनेहरूको कथा छ । मुलधारको होइन, छायाँमा परिएकाहरूको जीवनव्यथा छ । ललेखकले परिधिमा पुर्‍याइएका मान्छेहरूको आवाजलाई उठाउने प्रयत्न गरेका छन् ।

    ‘दर्ज्यु संलाप’ नयाँ क्षितिज पुग्ने उत्कण्ठ चाहनाले भरिएको कृति हो । यसले परिवर्तनको सम्भावना बोकेको छ । यस भित्रका निबन्धहरूले पाठकको संमवेदना मात्र होइन, चेतना पनि जगाउँछ । यसका निबन्धहरूले सामाजिक न्याय र मानवीयताको पक्षपोषण गर्छन् । यो कृति सौन्दर्य र विचारको संयोजन हो । 

    लेखकले आत्मपरक शैलीमा आफ्ना अनुभव र परिवेशलाई उजागरण गरेका छन् । उनका अनुभवहरू मुख्य रूपले तामाङ समुदायसँग गाँसिएका छन् । यो समुदायको आफ्‌नो भुगोल, भाषा, परम्परा, बहिष्करण र राज्यसँगको सम्बन्धलाई निबन्धमार्फत् अभिव्यक्त गर्ने कोशिस गरेका छन् । लेखकले यस पुस्तक मार्फत ‘पहिचान’को बहस उठाउने कोशिस गरेको देखिन्छ तर उनको बहस कुनै जाति र समुदाय विशेषको सांस्कृतिक पक्ष जस्तै भेषभुषा, पर्व, गीत, नृत्य आदि भन्दा पर जान सकेको छैन । उनको ‘सांस्कृतिक’ संकुचनका कारण निबन्धले माग गरे जस्तो बहस उठ्न सकेको छैन । अरु धेरै तथाकथित ‘पहिचानवादी’ नेपाली लेखकहरू जस्तै कुमारी लामाले पनि यो पहिचानलाई ‘कम्फर्ट जोन’ कै रूपमा मात्र प्रयोग गरेको हो कि भन्ने अनुभव हुन्छ ।

    पहिचानका मुद्दाहरूसँग गाँसिएका राजनीतिक,आर्थिक र ऐतिहासिक पाटोलाई निकै कम उजागर गरेको प्रतित हुन्छ । निबन्धहरू पढ्दै जाँदा पाठकका मनमा प्रश्न उठ्न सक्छ । के सांस्कृतिक स्वरूपको पुन रुत्थान मात्रले पहिचानको सवाललाई समेट्न सक्छ ? लेखकले कताकती इतिहासलाई कोट्याउन खोजेको देखिन्छ तर पहिचानका अन्य बहुआयामिक पक्षहरूबारे लेखकको बुझाई पुग्न नसकेको हो की जस्तो भान हुन्छ ।

    पुस्तकको पहिलो खण्ड ‘समाज संवार्ता’ भित्रका निबन्धहरूले पिछडिएका समुदाय भित्रको सामाजिक बनोट, लैङ्गिकता, जतियता र कमजोर आर्थिक अवस्थालाई दर्शाएका छन् । यस खण्डका निबन्धहरू बढि आत्मदर्शनात्मक छन् । लेखकले आफ्नो अनुभव र बुझाइको जगमा भुँइ मान्छेहरूका क्रन्दन र सुषुप्त विद्रोहलाई संकेत गरेका छन् । यस खण्डका कतिपय निबन्धहरूमा भने विचारको अस्पष्टता छ । विषयवस्तुहरू दोहोरिएका छन् । अप्रासंगिक उदाहरण र तथ्यहरू छन । वाक्य गठनमा भयंकर समस्या छ । 

    ‘सैलानी समय’ संग्रहको दोस्रो खण्ड हो । यसमा लेखकले समयको प्रवाहमा आफु बाँचेको समुदायको अस्तित्व कसरी बदलिएको छ अवलोकन गरेको महसुस हुन्छ । यो खण्ड स्मृति र अनुभुतिको सेतु हो । यसमा लेखक पुरै स्मृतिदंशको शिकार भएको अनुभुति हुन्छ । इतिहास, पुराना दिनहरू, पुराना रितिरिवाजहरू प्रतिको लेखकको मोह स्पष्ट देखिन्छ । यस्तो लाग्छ , यो जबर्रजस्त नोस्टाल्जिया भित्र लेखकको समसामयिक चेत ओझेलमा परेको छ । इतिहास स्मंरण महत्त्वपूर्ण हुदाँहुदै त्यसलाई आजको समयसँग जोड्न नसक्दा केहि निबन्धहरू भावनाको कोरा प्रदर्शन मात्र बनेका छन । 

    संग्रहको तेस्रो खण्ड ‘दृश्य अ (दृश्य)’ सबैभन्दा सशक्त खण्ड हो भन्न सकिन्छ । यहाँ लेखकले दृश्यता र अदृश्यताको द्वन्द्वलाई पक्रन खोजे जस्तो देखिन्छ । यस खण्डमा संग्रहित निबन्धहरूले जातीय पहिचान, भाषिक बहिस्करण, राज्यको दृष्टिकोण सँगसँगै ‘नदेखिए झै’ गरिएका जीवनका अनुभवहरू प्रस्तुत गरेका छन । संग्रहमा यो खण्ड अपेक्षाकृत दार्शनिक छ यसमा भनिएका वा देखाइएका तस्विरहरू भन्दा अव्यक्त संवेदना र राज्यले गरेको संरचनात्मक विभेदका मानस चित्रहरू बढि छोइने छन् । तर अझ गहिरो विश्लेषण र स्पष्ट दृष्टिकोणको अभावले यो खण्ड पनि अपुरो जस्तो लाग्छ ।

    लेखकले आफ्नै अनुभव र पीडाको भाष्यमार्फत यो पुस्तकलाई यर्थाथको नजिक पुर्‍याउने कोशिस गरेका छन । उनले आफ्नो व्यक्तिगत अनुभवबाट सामुहिक आवाज निर्माण गर्ने प्रयत्न गरेका छन । अझै पनि नेपाली साहित्यमा अल्पसंख्यकहरूको दृष्टिकोणबाट ती समुदायका कथा बोल्ने पुस्तकहरूको संख्या निकै कम छ । यो पुस्तक त्यहिं अभाव पूर्ति गर्ने प्रयास हो जस्तो लाग्छ । कतिपय निबन्धहरूमा कवितामय भाषाको प्रयोग गरिएको छ । विम्ब र प्रतिकहरूको प्रयोगले यस खण्डका केहि निबन्धहरूको भाषिक प्रस्तुती गज्जबको मान्न सकिन्छ । 

    पहिचान शक्ति सम्बन्धमा आधारिक राजनीतिक विमर्श हो । यसको बहुआयामिक पाटो हुन्छ । तर पुस्तकमा यस मुद्दाको बारेको बौद्धिक बुझाई सतही देखिन्छ । लेखक स्वयं तामाङ समुदायलाई प्रतिनिधित्व गर्ने भएता पनि उनी यस समुदायमा गहिरो गरि भिज्न नसकेको अनुभव हुन्छ । जसका कारणले लेखकले प्रस्तुत गर्न खोजेको विचार माथि विश्वसनीयताको सीमितता आभाष महसुस हुन्छ । पुस्तकमा भएका धेरै निबन्धहरूमा प्रयुक्त वाक्यहरूको गठन त्रुटिपूर्ण छ । विचारहरू दोहोरिएका छन । पुस्तक पढिसिध्याउँदा दरिलो सम्पादनको कमी महसुस हुन्छ । केहि निबन्धहरू अत्यन्त अस्पष्ट र अनावश्यक गन्थनले भरिएका छन् । पहिचानको बहसलाई केवल साँस्कृतिक पक्षमा सीमित एवम् मनोवैज्ञानिक पक्षको राम्रो अध्ययन गर्न चुकेका धेरै आफुलाई पहिचानवादी दावी गर्ने लेखकहरूको साझा समस्या लेखक कुमारी लामामा पनि स्पष्ट अनुभव गर्न सकिन्छ । 

    ‘दर्ज्यु संलाप’ नेपाली साहित्यमा आत्मपरक र पहिचान केन्द्रित निबन्धहरूको संग्रहको रूपमा सत प्रयास हो । कुमारी लामाले ‘आवाज विहिन’ बनाइएका समुदायको अनुभुति र कथालाई साहित्यको मुलधारमा ल्याउने प्रयास गरेकी छन् । तर यो कोशिस पूर्ण सफल छ भन्ने दावी मुर्खता हुनसक्छ । पहिचानको जटिलता बुझ्न आवश्यक सामाजिक र बौद्धिक गहिराइको अभाव, अनुभवको एकांगी प्रस्तुति र भाषिक कमजोरीले पुस्तकको प्रभाव क्षीण बनाएको छ ।

    तथापी लेखकले यस पुस्तक मार्फत् नेपाली साहित्यमा नयाँ स्वर उराल्ने कोशिस गरेको कुरा स्वीकारयोग्य छ । लामाको यो कृति भुँईमान्छेहरूको जीवन, भाषा र संस्कृति सहित एउटा सशक्त हस्तक्षेपको शुभारम्भ हो । ‘दर्ज्यु संलाप’ एकैसाथ शक्ति र कमजोरीको संगम हो । यो संग्रह न त पूर्णरूपमा राजनीतिक निबन्ध हो न त केवल कोरा अनुभव । बरु यो थोरै राजनितिक र समाज, धेरै व्यक्तिगत अनुभुति र बुझाईको दस्तावेजीकरण हो । संग्रहका निबन्धहरूमा आत्मसंवाद छ, स्मृति छ, असन्तोष छ र धेरै ठाउँमा लेखक स्वयंको ज्ञानको अपुर्णता छ ।

    जे होस् लेखकले आरम्भ गरेका यी संवादहरू अझ बृहत्‌रूपमा विस्तारित गर्न सकिएमा यसले नेपाली साहित्यमा पहिचान र प्रतिरोधको गहिरो बहस जन्माउन सक्छ । लेखकलाई आफ्नो अध्ययनको गहिराई, भाषिक स्पष्टता र आफ्‌नो समुदायसँगको प्रगाढ सम्पर्कमा अझ धेरै काम गर्न सुझाव दिनु अन्यथा हुँदैन । ‘दर्ज्यु संलाप’ प्रतिरोधी स्वरका रूपमा निःसन्देह स्वागत योग्य कृति हो । यसले नेपाली साहित्यमा नयाँ बहसको निम्ति ढोका ढक्ढकाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij