अहिले धमाधम केबुलकार बनाउन लगानी गर्न व्यवसायी उत्साहित छन् । अहिलेसम्म पहिचान भएका १५ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन र केही निर्माणको तयारीमा रहेका छन् । पर्यटन प्रवर्धनका लागि केबुलकार चलाउन राज्य लचिलो भएकाले व्यवसायी उत्साहित भएका हुन् । व्यवसायीले मनपरी लगानी गर्दा हुने लगानीको जोखिम र वातावरणीय प्रभावका बारेमा राज्यले हेक्का राख्नुपर्छ ।
पर्यटकीय प्रवर्धनका लागि पूर्वाधार विकास जति आवश्यक छ, त्यसले पार्ने वातावरणीय प्रभावलाई नजरअन्दाज गर्न पटक्कै हुँदैन । मनपरी केबुलकार सञ्चालनको अनुमति दिँदा वन क्षेत्र मासिएको, व्यवसायीले स्थानीय समुदायको अग्राधिकार र अपनत्वलाई पटक्कै ध्यान नदिएकोले सामाजिक द्वन्द्वका बाछिटा देखिएका छन् । पाथिभरा केबुलकार निर्माणका क्रममा हिंसात्मक रुप लिएपछि अहिले स्थगित छ । अहिलेसम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक, अन्नपूर्ण, मौलाकाली, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा छन् । यस्तै जल्पादेवी, पुम्दिकोट महादेव, चम्पादेवी, पाथीभरा, सिकलेस, छिम्केश्वरी, र विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माणको तयारीमा छन् ।
अहिले बनेका र निर्माणाधीन ठाउँमा केबलकार कति आवश्यक थियो भन्ने बारेमा सरकारीस्तरबाट विश्लेषण हुनुपर्छ । बुटवलमा दुई वटा केबुलकार सञ्चालनमा आएका छन् । ती केबुलकारले पर्याप्त ग्राहक पाउन नसक्दा लगानीकर्तालाई अप्ठारो परेको छ । मुक्तिनाथ केबुलकार सुन्दा जति आकर्षक छ, जलवायु परिवर्तनको धेरै असर हिमालमा परिरहेको अध्ययनले देखाइरहेको बेला मुक्तिनाथ केबुलकार कति सुरक्षित भन्ने प्रश्न पनि उठ्नु स्वाभाविकै छ । पोखरामै कति केबुलकार आवश्यक छन् ? यसबारे व्यवसायी र राज्य दुवैले अध्ययन गरेका छैनन् । बुटवलमा व्यवसायीले मिहिन अध्ययन गरेको भए सम्भवतः दुईवटा केबलकार बन्ने थिएनन् ।
चुरे क्षेत्रमा भइरहेको मनपरी दोहनले तराई मरूभूमिकरणको जोखिममा छ । भूकम्पीय दृष्टिले पनि चुरे जोखिममा छ । चुरेको संरक्षणमा राज्य संवेदनशील बन्नुपर्ने बेला चुरे क्षेत्रलाई लक्षित गरी केबुलकार चलाउन कति दिने ? यसबारेमा पनि राज्य प्रष्ट छैन । ढुङ्गागिट्टी र काठ निकासी तथा सडक पूर्वाधार बढाउँदा बढेको चुरे दोहन अरु विकास पूर्वाधारले पनि दोहन बढिरहेको छ । वातावरणीय जोखिम न्यूनीकरण गर्न सक्दा मात्रै विकास पूर्वाधार दीगो हुन्छन् । पर्यटन प्रवर्धनका लागि केबुलकार बनाउनुपर्छ भन्ने छैन । सबै ठाउँमा सडक बनाउँदा पदमार्ग नासिएका छन् । केबुलकारले मौलिकता खोसिने जोखिम पनि उत्तिकै छ ।
विकास पूर्वाधारले सुविधा दिन्छ, समाजलाई नयाँ ढंगले अघि बढाउँछ । जीवनयापनमा गुणस्तर बढाउँछ, तर कतिपय विकास पूर्वाधारले मौलिकता नासिँदा त्यसले दुरगामी असर पर्छ । घान्दु्रकमा सडक पुग्दा त्यहाँको मौलिकता मासिएको र अबको केही वर्षमा पर्यटकको आकर्षण नहुने जोखिम बढ्दो छ । जलवायु परिर्वतनले हिमालमा पहिले जस्तो हिउँ देखिन छाडेकाले पनि घान्दु्रक पर्यटकको रूचीबाट अलगिनु अस्वाभाविक होइन । केबुलकार बन्दा पर्यटक बढ्दा समुदायले लाभ पाउँछन् कि पाउँदैनन् त्यो पनि महत्वपूर्ण प्रश्न छ । समुदायको आयआर्जन खोसिने, तर निश्चित व्यवसायिक घरानाले पर्यटकीय स्थल कब्जा जमाउने परिस्थिति पनि पटक्कै राम्रो होइन् ।




