बुटवल । प्रभु ग्रुप्सको सहायक कम्पनी प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित बुटवलको सिद्धार्थ केवलकार लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठामाडौं तिनकुनेमा स्थापना गरेको छ ।
गत वर्ष भाद्र १९ गतेदेखि सञ्चालनमा आएको यस केवलकारमा हालसम्म दश महिनाको अवधीमा २,७५,००० जना भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरुले यात्रा गरिसकेका छन् । यात्रा गर्ने पर्यटकहरुमा स्वदेशी र विदेशी झण्डै समान संख्यामा हुने गरेका छन् कम्पनीले निकट भविष्यमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) गर्ने योजना बनाएको छ ।
सार्वजनिक शेयर निष्कासन गर्न सहजिकरण गर्न र कम्पनीको व्यापार प्रवर्द्धन एवं बजारीकरण गर्ने मुख्य उद्देश्यले कम्पनीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको हो । यस कम्पनी अन्तर्गत नुवाकोट गढी पर्यटन कम्पनी, ऋषि कालदेवल पर्यटन कम्पनी र हिलसाईड भिलेज रिसोर्ट सहित थप तीनवटा कम्पनीहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् ।
भगवान गौतम बुद्धका अनुयायीहरुले अत्यधिक यात्रा गर्ने यो नेपालको पहिलो बौद्ध धर्मावलम्बी लक्षित केवलकार परियोजना हो । यो केवलकार भगवान गौतम बुद्धको कुलगुरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटमा रहेको पुरानो भैरवकामना मन्दिरमा जाने गर्दछ । यस केवलकारले प्रति घण्टा ७०० यात्रुहरुलाई यात्रा गराउँदछ ।
कम्पनीको कार्यालयको शुभारम्भ कम्पनीका सञ्चालक ई. रमेशप्रसाद सापकोटाले वैदिक विधि अनुसार पूजा गरेका थिए भने कम्पनीको समुद्घाटन विभिन्न शेयरधनी एवं सञ्चालकहरुको उपस्थितिमा प्रभु ग्रुप्सका अध्यक्ष भोजकुमार खड्काले गरेका थिए । प्रभु केबलकारको अरु थप दुईवटा केवलकार परियोजनाहरु निर्माणको विभिन्न चरणमा रहेका छन् ।
जसमा ईच्छाकामना देवी केवलकार परियोजना ३५० करोड लगानीको परियोजना हुनेछ भने बाजुरा जिल्लामा अवस्थित बढीमालिका केवलकार परियोजना भने ५०० करोडको हुनेछ । उक्त परियोजनाहरुमा विभिन्न पर्यटकीय गतिविधि गर्ने गराउने कम्पनीले लक्ष्य लिएको छ ।




