बुटवल । २१२ औ भानु जयन्तीको अवसरमा ज्ञानज्योति पुस्तकालय बुटवलले मावि स्तरीय रामायण वाचन प्रतियोगिता गर्ने भएको छ । रुपन्देहीका विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने र विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले असार २८ गते रामायण वाचन प्रतियोगिता गर्न लागेको पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिता बुटवल योगीकुटीस्थित मणिमुकुन्द कलेजमा २८ गते बिहान ८ बजे शुरु हुने अध्यक्ष क्षेत्रीले बताए ।
प्रतियोगितामा एउटा विद्यालयबाट एक जना छात्र र एक जना छात्रा सहभागी हुन सक्ने प्रतियोगिता संयोजक माधव गौतमले जानकारी दिए ।
ज्ञानज्योति पुस्तकालय २०४३ बैशाखमा सार्वजनिक पुस्तकालयको रूपमा स्थापना भएको हो । यसका संस्थापकमा पुर्व मन्त्री राधा ज्ञवाली, शान्तराम गिरी, बाबुराम आचार्य, कुशलप्रताप सेन, भेषराज पौडेल, टीकाराम घिमिरे, खिमलाल गिरी, सुरेश गौतम, गोपालमणि गौतम, तेजप्रसाद कंडेल, बाबुराम आचार्य लगायत हुन् ।
वि.सं. २०५० सालमा टुकबहादुर क्षेत्रीको अध्यक्षतामा गठित नयां कार्य समितिले पुस्तकालयको विकासमा निकै ठूलो मेहनत गरेको जानकारहरु बताउंछन् । क्षेत्रीकै लामो प्रयासपछि सुकुम्बासी आयोगबाट बुटवल ८ (सविकको बुटवल–१०), मिलनपथमा करिब ५ धुर जग्गा पुस्तकालयलाई प्राप्त भएको थियो । सोही स्थानमा पुस्तकालय भवन बनेर व्यवस्थितरुपमा सञ्चालनमा छ ।
पुस्तकालयको पहलमा सहरिया बालबालिकाहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आइएको छ । साथै सरसफाइ कार्यक्रम, छात्रछात्राहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटनको लागि हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, चित्रकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता, रामायण वाचन प्रतियोगिता र प्रौढ शिक्षा आदि पनि सञ्चालन गरिदै आइएको छ ।
पुस्तकालय भवनमा ज्ञानविज्ञान, कला, साहित्य तथा समालोचना, ग्रन्थ, पर्यटन, सञ्चार, समाजशास्त्र आदि विधाका करिब तीन हजार जति पुस्तकहरू रहेका छन् । बुटवलबाट प्रकाशित हुने सबै दैनिक पत्रिकाहरू पुस्तकालयमा नियमित रूपमा जाने गर्दछन् ।
पुस्तकालयलाई प्रभावकारी बनाउन र पाठकहरूको संख्यामा वृद्धि गराउन पुस्तकालयलाई २०७४ देखि ई लाइब्रेरीको रूपमा विकास गरिएको छ । विभिन्न शिक्षण संस्थाहरूबाट प्राप्त भएका १० थान कम्प्युटरबाट ई लाइब्रेरी संचालन गरि सेवा प्रदान गरिएको छ ।




