भैरहवा
उद्योगी व्यवसायीले भैरहवा भन्सार कार्यालयको सर्भर डाउनले मर्कामा परेको बताएपनि भन्सार एजेन्ट र उनका प्रतिनिधिको कारण पनि उद्योगी व्यवसायीहरु मर्कामा पर्ने गरेको भन्सार कार्यालयको दाबी छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा आयोजना गरेको भन्सार सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले भन्सारको सिस्टमका कारण आफुहरुले अतिरिक्त शुल्क तिर्नुपरेको बताए । उनीहरुले भन्सार प्रशासन र इन्टरमोडलको काम सर्भरमा आधारित रहेकोले सर्भर डाउन हुँदा आयात–निर्यात गर्ने व्यवसायीहरुले हैरानी खेपीरहेको बताए ।
सर्भर भन्सारको समस्या हो, तर त्यसको जरिवाना व्योहोर्नु पर्दा लागत बढी पर्ने गरेको उद्योगी व्यवसायीहरुले बताए । भन्सार कार्यालयले आयात–निर्यात गर्दा प्रयोग हुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आशिकुडा वल्र्ड हो, यो विश्वको सय बढी देशले प्रयोग गरेता पनि नेपालमा बेला बेलामा सर्भर जाने समस्या आउने गरेको उद्योगी व्यवसायीहरुको तर्क छ । व्यवसायीहरुले भन्सार बिन्दूमा समस्या, अनावश्यक चेकिङ, कर्मचारीको ढिलासुस्ती, र पार्किङमा समस्या रहेको अवगत गराएका थिए ।
तर भैरहवा भन्सार कार्यालय वर्षको २–३ दिन बाहेक यो सिस्टममा लामो समय सर्भर जाने समस्या नरहेको दाबी छ । भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बजेटको समयमा २ दिन र केही समय पहिला एक दिन मात्रै सर्भरमा समस्या आएको बताए । अन्य समयमा त्यस्तो लामो समय समस्या नआउने गरेको उनले जनाए ।
‘भन्सारका एजेन्टहरु सीमित छन्, उहाँहरुले खटाएको प्रतिनिधिहरुले समयमा प्रज्ञापन नचढाइ ढिलासुस्ती गर्दा उद्योगी व्यवसायीहरु भन्सारलाई दोष दिने गरेका छन् ।’–उनले भने । समयमा इन्ट्री भएको सबै मालबस्तु भन्सार पास सोही दिन भएको छ, कागजपत्र नमिलेको, भुक्तानी र अन्य कारणले भन्सार पास नहुँदा त्यसको दोष भन्सार एजेन्ट र उनका प्रतिनिधिहरुले सर्भरमा समस्या छ भन्दै उद्योगी व्यवसायीहरुलाई दिने गरेको बताए ।
उद्योगी व्यवसायीहरुले पनि कस्तो एजेन्टबाट काम गराउने भन्नेबारे अब सोंच्नुपर्ने उनले जनाए । एजेन्टबाट गराउने वा उनका प्रतिनिधी, कर्मचारीबाट ढिलासुस्ती हँुदा भन्सार दोषी नरहेको उनले भने । हो कहिले काही समस्या केही समय आउँछ त्यो भैरहवा भन्सार कार्यालयमा मात्रै नभई नेपालका सबै भन्सार कार्यालयमा सर्भर जाने हो तर दिनभरि नै समस्या नआएको उनले दाबी गरे । भन्सार प्रमुख रेग्मीले भन्सारको पहिलो काम नै सहजीकरण रहेको बताउँदै उद्योगी व्यवसायीहरु भन्सार प्रशासनसँगै हिंड्नु पर्ने बताए । एजेन्टको बद्मासी र समयमा काम नगरिदिँदा त्यसको मारमा उद्योगी व्यवसायीहरु पर्ने गरेको गुनासो आउने गरेको बताए । उनले भन्सार परिसरमा नियमपूर्वक आएको कुनै पनि मालवाहक गाडी नरेको समेत बताए ।
भन्सारका विभिन्न पाटाहरु त्यही सर्भरमा नै लिंक भएका छन् । करिब ४० बढी युनिटको लिंक आसिकुडामा भएकोले मालबाहक गाडी भन्सार प्रवेश गर्दा, पार्किङ, जाँचपास, प्रमाणीकरण, राजस्व भुक्तानी र बाहिरिँदासम्म आशिकुडा वल्र्डमार्फत् डिजिटल रुपमै काम गर्नुपर्छ । यो विश्विका थुप्रै देशले प्रयोग गर्दै आएको सिसटम रहेको भन्सारको भनाइ छ । भन्सारसम्बन्धी सबै प्रक्रिया यही प्रणालीबाटै हुन्छ । हाल यो आशिकुडा वल्र्ड प्रणाली भन्सारसँग सम्बन्धित ४२ वटा कार्यालयमा लागू छ । तर, सर्भर डाउन हुँदा सबै कार्यालयको काम प्रभावित हुने गरेको छ । विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले मुलुकभरका सबै भन्सार कार्यालयहरुमा सन् २०१७ देखि अनलाइन प्रणाली आशिकुडा लागु गरिएको थियो ।
यता उद्योगी व्यवसायीहरुले सर्भर डाउन भएकै कारण मालबाहक गाडी समममै भन्सार पास नहुँदा लागत बढ्ने गरेको बताउँछन् । ‘एकैदिनमा गाडी भन्सार पास भएन भने पार्किङ शुल्क, डिटेन्सन, गाडी भाडा सबै बढ्ने हँुदा यो समस्या समाधान गर्नुपर्ने माग गरे । सर्भरकै कारण भन्सार प्रवेश गर्नुपर्ने मालबाहक गाडी नाकामा लाइन लागेर रोक्नुपर्ने बाध्यता छ भने भन्सार जाँचपास भएर बाहिरिन कहिलेकाहीं दुई–तीन दिन समेत लाग्ने गरेको उनीहरुको भनाइ छ ।
भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधुप्रसाद पन्थीले सर्भर डाउनको समस्या बारे मुलुकभरका व्यवसायीहरुबाट गुनासो आइरहेको बताए । ‘धेरैले एजेन्टले ढिलासुस्ती गरे भन्छन्’, उनले भने–‘तर, समस्या सर्भरमा छ ,समाधान गर्न सरकार लाग्नु पर्ने बताए । पन्थीले यो भन्सार नाका सुकाउनका लागि विभिन्न बहानामा समस्या पार्ने कार्य भइरहेको भन्दै यस्ता तत्वहरुको निवारण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बेला भएको बताए । उनले ओभरलोडको नाम समस्या सिर्जना भएको भन्दै देशको अन्य नाकामा नभएको नियम यहाँ लागू गर्न खोज्दा यो भन्सारबाट हुने निकासी र पैठारीको कार्य अन्य भन्सार नाकामा सरेको बताए ।
केही भन्सार एजेन्टले नै यहाँ ढिलासुस्तीको कारण देखाई अन्य नाकाबाट भन्सार गराउन चलखेल गरेकोले यसको विषयमा भन्सार कार्यालयले सोच्नुपर्ने सहभागी उद्योगी व्यवसायीहरुको भनाइ छ । भन्सार एजेन्टले ट्रेड डाइभर्ट गर्नु यो नाकाको लागि गम्भीर हो ।
पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले भैरहवा भन्सार कार्यालयले विभिन्न बहानामा ढिलासुस्ती गर्दा वस्तुको उत्पादनमा लागत खर्च बढ्दो रहेको बताए । उनले भन्सारभित्रको पार्किङ, सर्बर र बैंकिङ प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रमुख भन्सार अधिकृतसमक्ष आग्रह गरे ।
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्माले यो नाका सबैको सहज र सुलभ हुने नाका भएकोले यहाबाट डाइभर्ट हुनु गम्भीर विषय रहेको छ । भन्सारको गेटमा समस्या छ, इन्ट्री भए पनि सिस्टममा नदेखिने भए म्यानुअल सिस्टमबाट पनि व्यवस्था मिलाउनु पर्ने औंल्याए । उनले भन्सार कार्यालयमा धेरै सुधारका काम भएपनि अझै केही नतिजा देखिने गरी काम गर्न आवश्यक रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले कुनै बेला सबैको रोजाई बनेको यो नाकाप्रति अहिले फेरिएको नजर हाम्रो लागि गम्भिर विषय रहेको बताए । यो नेपालको प्रमुख भन्सार भएकाले यसलाई व्यवस्थित र व्यापार सहजीकरणमा सबै क्षेत्रले भूमिका खेल्नुपर्ने बताउँदै भन्सारले वस्तुको निकासी र पैठारीमा सहज वातावरण सिर्जना गर्न समेत भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघलाई आग्रह गरे । वस्तुको निकासी र पैठारीमा उद्योगी–व्यवसायीलाई रहेको समस्या तुरुन्त समाधान गर्न गरी भन्सार कार्यालय र अन्नपूर्ण टर्मिनलबिचको समन्वय जरुरी रहेको बताए ।
निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भन्सार र टर्मिनलको सिस्टमले गर्दा व्यवसायी मारमा पर्न नहुने बताए । ओभरलोड यही नाकामा लागु हुनु, सिसटम पनि यही नचल्नुले नाकारात्मक सन्देश गइरहेको बताउँदै सुधार गर्नु पर्ने बताए । यसका लागि निजी क्षेत्र भन्सार विभागदेखि अर्थमन्त्रालयसम्म जान तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सर्भर व्यवसायीको समस्या नभए पनि मारमा व्यवसायी परेको बताउँदै यस्को जिम्मा इन्टरमोडलले लिई व्यवसायीहरुलाई सहज गराउनु पर्ने बताए । यहाँबाट डाइभर्ट हुनु ठूलो क्षति हो, सर्भरले गर्दा गाडी भाडा, डेमरेज, जरिवाना सबै व्यवसायीहरुले व्योहोर्नु पर्दा उपभोक्ता छन मारमा पर्ने बताए ।
निर्यात बढ्दो
भैरहवा भन्सार कार्यालय हँुदै बेलहिया नाकाबाट हुने निर्यात बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा गत वर्षको तुलनामा ४७.५१ प्रतिशतले निर्यात वृद्धि भएको छ ।
भन्सार कार्यालयका अनुसार चालु वर्षको साउनदेखि जेठसम्म ११ महिनामा १८ अर्ब ५९ करोड रुपैयाँ बराबरका बस्तु तथा सामानहरू निर्यात भएको छ भने गत आर्थिक वर्षको यस अवधिमा १२ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै विभिन्न सामानहरू निर्यात भएको थियो ।
‘गत वर्षको तुलनामा यो नाका हुँदै निर्यात ब्यापार राम्रो भएको यो तथ्याङकले देखाउँछ । कार्यालयका अनुसार ११ महिनामा सबैभन्दा बढी निर्यात हुने बस्तुहरूमा भटमासको तेल (प्रशोधित), सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयर कत्था, पिना अन्य, फलाम स्टिलका भाँडाकुँडा, नुडल्स पास्ता, जडीबुटी, खोटो रोजीन, प्लाइउडलगायत छन् । ११ महिनामा ५ अर्ब ८१ करोड ५४ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको २ करोड ९१ लाख ४० हजार पाँच सय एघार लिटर तेल भारत निर्यात भएको छ ।
भन्सार कार्यालयका अनुसार यो वर्ष सेन्थेटिक यार्न ३ अर्ब १८ करोड ३३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको १ करोड ५१ लाख ९४ हजार ४ सय ६७ किलो भारत तथा तेस्रो मुलुक निर्यात भएको छ । विगतका वर्षहरूमा सबैभन्दा बढी निर्यात ब्यापार सेन्थेटिक यार्नको हुने गरेकोमा चालु वर्ष भने भटमासको प्रशोधित तेलले उछिनेको छ ।
यस्तै, सिमेन्ट १ अर्ब ३३ करोड ६१ लाख ९० हजार रुपैयाँ, कत्था खयर ८४ करोड ७१ लख ७५ हजार रुपैयाँ, पिना अन्य ७८ करोड ३५ हजार रुपैयाँ, फलाम स्टिलका भाँडाकुँडा ७२ करोड १५ लाख ८८ हजार रुपैयाँ, चाउचाउ, नुडल्स पास्ता ६६ करोड २८ लाख १३ हजार रुपैयाँ, बिभिन्न किसिमको जडीबुटीहरू ५७ करोड ५६ लाख ७ हजार रुपैयाँ, खोटो रोजिन ५२ करोड १५ लाख ९४ हजार रुपैयाँ र प्लाइउड ४५ करोड ७६ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको भारत निर्यात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।




