बुटवल । संघीयता कार्यान्वयनसँगै देशभर स्थानीय सरकारहरू सशक्त हुँदै गएका छन् । तिनैमध्ये एक उदाहरण बनेको छ- रुपन्देहीको बुटवल उपमहानगरपालिका । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकीकरण गर्दै नगरले पछिल्ला वर्षहरूमा जति काम गरेको छ, त्यसले अब उपमहानगरलाई नयाँ पहिचान दिइरहेको छ । उपमहानगरले नगरवासीका लागि ‘शिक्षा र स्वास्थ्य सबैका लागि’ भन्ने सिद्धान्त कार्यान्वयन गर्दै जनविश्वास जित्न थालेको छ । उपमहानगरपालिकाको पहिलो कार्यकालमा एमालेका शिवराज सुवेदी प्रमुख थिए, अहिले छन्, कांग्रेसबाट खेलराज पाण्डे ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य क्षेत्रमा विशेष सक्रियता देखाउँदै आएको छ । यहाँको जनस्वास्थ्य नीतिले विशेषगरी विपन्न, अशक्त र संवेदनशील समुदायलाई केन्द्रमा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । रक्त आपूर्तिको संवेदनशील विषयलाई समाधान गर्न नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बुटवल शाखासँगको सहकार्यमा निःशुल्क रक्त सेवा प्रदान गर्दै आएको छ, जसले आपतकालीन अवस्थामा नागरिकहरूको ज्यान बचाउन मद्दत पु¥याएको छ । आर्थिक रूपमा कमजोर वर्गका लागि यो सेवा जीवनरक्षक सावित भएको छ ।
एचआइभी संक्रमित १८ वर्ष मुनिका बालबालिकालाई मासिक तीन हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै नगरपालिकाले बालमैत्री शासनको स्पष्ट संकेत दिएको छ । यो कार्यक्रमले पोषण अधिकार मात्र होइन, सामाजिक संरक्षण र आत्मसम्मानको अनुभूति समेत दिलाएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बताउँछन् ।
त्यस्तै, मातृत्व र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरूलाई दुई हजार रुपैयाँको वित्तीय सहायता प्रदान गरिँदै आएको छ, जसले सुरक्षित प्रसूतिको प्रवद्र्धनमा टेवा पु¥याएको छ । मातृ मृत्युदर घटाउने उद्देश्यसहित गरिएको यो कार्यक्रमले संस्थागत प्रसूतिको दर उल्लेखनीय रूपमा बढाएको देखिन्छ ।
महिलाहरूको प्रजनन् अधिकार सुनिश्चित गर्न वडा नं. ११ र १२ मा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको छ । यो सेवा केवल चिकित्सा सुविधा मात्र नभई महिलाहरूको आत्मनिर्णयको सम्मानसमेत हो । त्यसैगरी, गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षणका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिएको छ, जसले गर्भावस्थाका सम्भावित जटिलताहरू पहिचान गर्न सजिलो बनाएको छ । प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको यो पहल आधुनिक जनस्वास्थ्य प्रणालीको सकारात्मक अभ्यास हो ।
बुटवल उपमहानगरपालिकाले क्षयरोग नियन्त्रणमा समेत उल्लेखनीय प्रयासहरू गरिरहेको छ । “टीबी अन्त्य २०३५” राष्ट्रिय लक्ष्यलाई सघाउँदै पालिकाले क्षयरोगमुक्त नगरको अभियान सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत जनचेतना, निःशुल्क परीक्षण, पोषण सहयोग र नियमित अनुगमन समावेश छन् । यसबाहेक, क्षयरोग संक्रमित विपन्न बिरामीहरूलाई पोषण सामग्री वितरण गरिएको छ, जसले उपचारको प्रभावकारिता र निरन्तरतामा सहयोग पु¥याएको जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा प्रमुख, युवराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य संस्था नियमनमा पनि बुटवल उपमहानगरपालिकाले ठोस कदम चालेको छ । सन् २०८० मा तय गरिएको मापदण्डअनुसार स्वास्थ्य संस्था दर्ता, नविकरण र स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । हालसम्म झण्डै ६० संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिएको छ, जसले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा सुधार ल्याएको उनले दाबी गरे ।
नगरले मातृस्वास्थ्यको क्षेत्रमा निःशुल्क प्रयोगशाला सेवा उपलब्ध गराएर रोगको प्रारम्भिक पहिचानमा सहजता ल्याएको छ । गर्भवती महिलाका लागि गरिएको यो व्यवस्था मातृ मृत्युदर न्यूनीकरणका लागि प्रभावकारी रहेको छ । यसैगरी, वृद्ध जनसंख्यालाई लक्षित गरी ‘बा आमा संग स्वास्थ्य’ कार्यक्रमअन्तर्गत २ हजार ६ सय जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । वृद्धमैत्री यो कार्यक्रमले समावेशी स्वास्थ्य सेवाको प्रवद्र्धन गरेको छ ।
बुटवल उपमहानगरपालिका ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ को मान्यता प्राप्त गर्ने थोरै पालिकामध्ये एक हो । यो केवल उपाधि होइन, नगरको समग्र स्वास्थ्य सूचकाङ्कमा गुणात्मक सुधार भएको संकेत पनि हो । किशोर–किशोरीहरूका लागि पनि विशेष पहल गर्दै शहरी स्वास्थ्य केन्द्र नं. ३ लाई किशोरमैत्री केन्द्रको रूपमा प्रमाणीकरण गरिएको छ । मानसिक स्वास्थ्य, यौनिकता, पोषणजस्ता विषयमा लक्षित सेवाहरू प्रदान गर्दै यो केन्द्रले युवावर्गको समग्र विकासमा योगदान पु¥याएको छ ।
दीर्घरोगबाट पीडित विपन्न नागरिकलाई सिफारिसका आधारमा १७ हजार रुपैयाँसम्मको नगद सहायता प्रदान गरिएको छ, जसले राज्यको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने काम गरेको छ । समग्रमा नगरपालिकाका १८ वटै वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालनमा रहेका छन्, जहाँ ६५ जना स्वास्थ्यकर्मीहरू-पारामेडिक, नर्सिङ, आयुर्वेदिक र ल्याब सेवा समेटेर-दैनिक रूपमा खटिएका छन् । जनसंख्याको अनुपातमा यो संख्या अपुग देखिए पनि सीमित स्रोतसाधनको भरपूर उपयोग गरिएको छ ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन
बुटवल उपमहानगरपालिकाले सूचना तथा प्रविधिमार्फत् शिक्षाको प्रवद्र्धनमा विशेष ध्यान दिँदै आएको छ । नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर र इन्टरनेट सेवायुक्त स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ । साथै, शिक्षकहरूको प्रविधिमैत्री शिक्षण क्षमता अभिवृद्धिका लागि क्ष्ऋत् तालिमहरू प्रदान गरिएको छ । स्थानीय डिजिटल प्लेटफर्म ‘मेरो शिक्षा’ मार्फत् पाठ योजना, सिकाइ सामग्री र अभ्यासका साधनहरू उपलब्ध गराइएका छन् ।
शिक्षकहरूको पेशागत विकासमा जोड दिँदै निरन्तर तालिम कार्यक्रम, विद्यालय अनुगमन, परामर्श र कार्यसम्पादन मूल्याङ्कन प्रणालीको अभ्यास सुरु गरिएको छ । शिक्षा समावेशी र पहुँचयुक्त बनाउन अपाङ्गतामैत्री संरचना, छात्रवृत्ति कार्यक्रम, बाल संरक्षण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीअन्तर्गत विद्यालय प्रगति मूल्याङ्कन तथा शिक्षा गुणस्तर सूचकांकको अभ्यास गरिँदै आएको शिक्षा शाखा प्रमुख टिकाराम पन्थी बताउँछन् ।
उनका अनुसार नवप्रवर्तनलाई प्रोत्साहन गर्न शैक्षिक नवप्रवर्तन पुरस्कार तथा मेला सञ्चालन गरिएको छ । नगरले २०७६–८१ सम्मको पाँच वर्षे शिक्षा योजना निर्माण गरी कार्यान्वयन गरेको छ भने दोस्रो योजना मस्यौदा अन्तिम चरणमा पुगेको छ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम विकास गरी कार्यान्वयन गरिएको छ । बालविकास कक्षाको स्तरीकरण, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको स्थापना, शिक्षक तथा कर्मचारीका लागि नियमित तलब–भत्ताको व्यवस्था, अनुदान शिक्षक कोटा व्यवस्थापन तथा मासिक प्रोत्साहन प्रणाली सञ्चालनमा छन् ।
शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्नेहरूलाई नगर स्थापना दिवसको अवसरमा सम्मान गरिन्छ । नगरको वार्षिक प्रकाशन ‘शैक्षिक दर्पण’ मार्फत् शैक्षिक कार्यक्रमहरूको पारदर्शिता र दस्ताबेजीकरण गरिन्छ । ‘नगर प्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत गरिएको छ । साथै, धार्मिक विद्यालयलाई वार्षिक अनुदान र छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गरिएको छ ।
संस्थागत विद्यालय वर्गीकरण, दरबन्दी मिलान र विद्यालयस्तरीय लोकनृत्य तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । निजी विद्यालयहरूको शुल्क संरचना व्यवस्थापन तथा वृद्धि प्रक्रियामा नियन्त्रण गर्दै अभिभावकको हित सुरक्षित गरिएको छ । “शिक्षामा अब्बल, हाम्रो बुटवल“ परिकल्पनाअन्तर्गत विद्यालयको समग्र विकासमा जोड दिइएको छ । विद्यालयहरूको न्यूनतम मापदण्ड अनुरूप पूर्वाधार विकास, ‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क द्यत्क्ष् मा अध्ययन सुविधा, स्थानीय बालबालिकालाई प्राथमिकता र प्रधानाध्यापक सरुवा नीति लागु गरिएको छ ।

‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरी असहाय विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, सामग्री उपलब्ध गराइएको छ । बीटीआइलाई उपमहानगरको मातहत ल्याउने पहल र प्राविधिक विषयहरूमा उच्च शिक्षाको विस्तारको तयारी भइरहेको छ । फरक क्षमताका बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रम तथा व्यवसायिक शिक्षाको पहुँच विस्तार गरी स्वरोजगारमुखी शिक्षामा ध्यान दिइएको छ । बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री वातावरण निर्माण गर्दै बालविकास केन्द्रहरूको सुदृढीकरणमा पहल गरिएको छ ।
शैक्षिक सम्मेलन तथा करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरी विद्यार्थीको भविष्य निर्माणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विकास, निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य लागू, विपन्न बालबालिकालाई निःशुल्क पोशाक वितरण, शिक्षक र कर्मचारीको क्षमता विकास तथा दरबन्दी समायोजन, छात्रवृत्ति वितरणमा एकद्वार प्रणाली लागू गरिँदैछ ।
स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै बुटवलको जातीय, भाषिक र सांस्कृतिक पहिचान समेटिएको विषयवस्तु विकास गरिँदैछ । बालशिक्षा दरबन्दी सिर्जना तथा समावेशी नियुक्ति नीति, विद्यालय खाजा कार्यक्रम, छात्राहरूलाई सेनेटरी प्याड वितरण, संस्थागत विद्यालय वर्गीकरण र न्यूनतम मापदण्डअनुसार सञ्चालनको नीति कार्यान्वयन हुँदैछ ।
विद्यालयस्तरमै सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य र पोषण सेवा प्रवद्र्धन गरिँदैछ । अन्ततः ‘एक विद्यार्थी एक बैंक खाता’ नीतिको कार्यान्वयनमार्फत बालबालिकामा बचत संस्कारको विकास र वित्तीय साक्षरता प्रवद्र्धन गरिने लक्ष्य रहेको छ ।
शिक्षा प्रणालीको सुदृढीकरण बुटवल उपमहानगरपालिकाको प्राथमिक कार्यसूचीमा परेको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार सुधार, स्मार्ट कक्षा कोठा स्थापना, क्ष्ऋत् प्रयोग, पठनपाठनमा नवीनता र व्यवस्थापनमा पारदर्शिता ल्याइएका छन् ।
शिक्षा शाखा प्रमुख टिकाराम पन्थी भन्छन्–‘बुटवलमा अब विद्यालयमा गएर पढ्न चाहने बालबालिकाका लागि कुनै अभाव छैन । सबै विद्यालयमा आधारभूत भौतिक संरचना, शिक्षकको उपस्थिति, शिक्षण सिकाइ गतिविधि र बालमैत्री वातावरणको प्रत्याभूति गरिएका छन् ।’
उनका अनुसार उपमहानगरका अधिकांश विद्यालयमा डिजिटल बोर्ड, क्ष्ऋत् ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला जस्ता संरचनाहरू थपिएका छन् । विद्यार्थी केन्द्रित सिकाइ विधिहरू अपनाइएका छन् भने शिक्षकहरूलाई नियमित तालिम प्रदान गरिन्छ ।
नगरप्रमुख खेलराज पाण्डेय भन्छन्–‘हामीले शिक्षा क्षेत्रको दीर्घकालीन योजना बनाएका छौं । गुणस्तरीय शिक्षा प्रवाह गर्नु हाम्रो दायित्व हो । त्यसका लागि हामीले विद्यालय व्यवस्थापन समितिदेखि शिक्षक, विद्यार्थी र अभिभावक सबैसँग समन्वय गरेर अगाडि बढिरहेका छौं ।’
साथै, शिक्षा शाखाको समन्वयमा हरेक विद्यालयमा बाल क्लब सक्रिय गरिएका छन् । बालमैत्री शिक्षा, किशोरी मैत्री कार्यक्रम, पोषण सचेतना कक्षा, मानसिक स्वास्थ्य सचेतना कक्षा लगायत कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।
स्वास्थ्यमा पहुँच, गुणस्तर र नवप्रवर्तन
स्वास्थ्य क्षेत्रको सुधारमा पनि बुटवल उपमहानगरपालिका अग्रसर छ । नगरले ‘स्वस्थ नागरिक, समृद्ध नगर’ भन्ने अभियानअन्तर्गत जनस्वास्थ्य सेवा विस्तार, पहुँच वृद्धि र नविन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे भन्छन्–‘हामी जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउन कटिबद्ध छौं । प्राथमिक स्वास्थ्य सेवा सबैका लागि सुलभ बनाउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले मोबाइल क्लिनिक, स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य परामर्श सेवा, पोषण कार्यक्रम, किशोरी मैत्री सेवा जस्ता कार्यक्रमहरू सञ्चालन गरेका छौं ।’

बुटवल उपमहानगरपालिकाले १६ वटा स्वास्थ्य संस्थामार्फत् सेवा दिइरहेको छ । प्रत्येक वडामा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरू सक्रिय छन् । मातृ तथा शिशु स्वास्थ्य, निःशुल्क औषधि वितरण, खोप सेवा, परिवार नियोजन सेवा लगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
उपमेयर साबित्रा अर्याल भन्छिन्–‘महिला र बालबालिकाको स्वास्थ्यमा हामीले विशेष जोड दिएका छौं । किशोरी स्वास्थ्य, महिनावारी व्यवस्थापन, पोषण कार्यक्रम, आमा समूह सशक्तिकरणजस्ता कार्यक्रमहरू नगरका सबै वडामा पु¥याएका छौं ।’
सहकार्य, सुशासन र पारदर्शिताका आधारमा विकास
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल भन्छन्–‘शिक्षा र स्वास्थ्यमा देखिएको सुधार आकस्मिक होइन, यो योजनाबद्ध र समन्वयात्मक प्रयासको परिणाम हो । हामीले सुशासनलाई आधार बनाएर बजेटको पारदर्शी उपयोग, अनुगमन र मूल्यांकनमा प्राथमिकता दिएका छौं ।’ बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्यसम्बन्धी बजेट अघिल्ला वर्षहरूमा भन्दा धेरै गुणा बढाइएको छ । विकास साझेदारसँगको सहकार्य, संघीय र प्रदेश सरकारसँग समन्वय गर्दै स्थानीय जनशक्ति र स्रोतको अधिकतम उपयोगमार्फत् बुटवलले उदाहरणीय काम गर्न सफल भएको छ ।




