स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई घात गरेको भन्दै कांग्रेसले विभिन्न तहका नेतालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुगेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको साढे दुई वर्ष भएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको लुम्बिनीका महामन्त्रीदेखि खोटाङ जिल्ला सभापतिसम्मलाई निलम्बन र निष्काशन गरेको छ । दलीय व्यवस्थामा दललाई अनुशासित र मर्यादित बनाउन विधिसम्मत कारबाही स्वभाविक प्रक्रिया हो । पार्टी निर्णयको कार्यान्वयनमा इमान्दारीपूर्वक नलाग्ने र अराजक हुनेहरुलाई कारबाही गर्दा अन्ततः पार्टी पंक्तिलाई अनुशासित बनाउँछ ।
कांग्रेस उदार र लोकतान्त्रिक पार्टी भएकाले बोल्न, विरोध गर्न र असहमति राख्न खुला मानिन्छ । चाहे पार्टीको आन्तरिक बैठकमा होस् वा सार्वजनिक रुपमा पार्टी नेता कार्यकर्ताले असहमति सहजै राख्छन्, नेतृत्वका विरुद्ध कठोर प्रश्न उठाउँछन् । त्यति मात्रै नभएर चित्त नबुझेको निर्णय कार्यान्वयन नगरी अवज्ञा गर्छन्, कतिपय अवस्थामा आफ्नै उम्मेदवारलाई हराउन भूमिका पनि खेल्छन् । कांग्रेसमा आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेल्ने नेता कार्यकर्तालाई कारबाही नगर्दा अराजकता मौलाएको र पार्टीको आन्तरिक जीवन नै नासिएको भन्दै चर्को आलोचना भइरहेको बेला कांग्रेसको अनुशासन समितिले कारबाही गरेको छ ।
अनुशासन समितिले गरेको निर्णयअनुसार, निष्काशित हुनेमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता छन् । उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्काशन गरिएको हो । त्यस्तै पार्टीका केही नेतालाई तीन महिनादेखि ६ महिनासम्मका लागि निलम्बन गरिएको छ ।
चुनावमा उम्मेदवार हुन आकांक्षा राख्नु र कोही उम्मेदवार होस् भनेर शुभेच्छा राख्नु स्वभाविक हो । पार्टी निर्णय आफू अनुकुल नहुँदा निर्णयको पक्षमा नलाग्नु र विरोधीलाई सघाउ पु¥याउनु दललाई कमजोर बनाउनु हो । त्यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक जीवनलाई मात्रै असर नपु¥याइ समग्र व्यवस्थामाथि नै असर पु¥याइरहेको हुन्छ । लोकतन्त्रका मियो भनेका दल हुन् । दलीय व्यवस्थामा दल कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । दल बलियो हुँदा लोकतान्त्रिक प्रणाली बलियो हुन्छ । दलभित्रको अराजकता नियन्त्रण गर्न सक्दा मात्रै दल लयमा अघि बढ्न सक्छन् । चुनावमा घात गर्ने र पार्टी निर्णयविरुद्ध मैदानमा उभिनेलाई कारबाही गरेर कांग्रेस लयमा अघि बढ्न खोजेको छ । यद्यपी कतिपय अवस्थामा पार्टी नेतृत्वले असहमत पक्षलाई कारबाहीको डण्डा चलाउने पनि गर्छ । त्यस्तो पूर्वाग्रहलाई रोक्ने र खबरदारी गर्ने काम पार्टी पंक्तिको हो ।




