बुटवल । २१२ औ भानु जयन्तीको अवसरमा ज्ञानज्योति पुस्तकालय बुटवलले माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । रुपन्देहीका विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने र विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले गरिएको प्रतियोगितामा रुपन्देहीका १७ विद्यालयका ३४ जना विद्यार्थीले भाग लिएका थिए ।
मणिमुकुन्द कलेजको सभा हलमा भएको प्रतियोगितामा तिनाउ ईङ्गलिस बोर्डिङ्ग स्कुलका ऐश्वर्या कार्की र ज्याक्सन दुतराजको टोली प्रथम भएको छ । यस्तै कान्ति मा विका कृष्टिना खनाल र गुगल रानाको टोली दोस्रो तथा आवर पिसल्याण्ड एकेडेमी बुटवलकी स्मृति विक र निशेष आचार्यको टोली तेस्रो भएका छन् । यस्तै स्मृति बोर्डिङ स्कुलका कृषल देवकोटा र सिमरन शर्मा सान्त्वना भएका कार्यक्रम संयोजक माधव गौतमले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले नेपाली भाषा र साहित्यमा भानुभक्तको योगदानलाई सांचो अर्थमा सम्मान गर्न भानु जयन्तीमा यस्ता प्रतियोगिताहरु आयोजना गर्नु सकारात्मक भएको बताए । कार्यक्रम सम्पन्न गर्न टेरा मोटर्स तथा ग्रीन सिटी भेइकलले आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक माधव गौतमले बताए ।
पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीले पुस्तकालयले विभिन्न कठिनाईका वावजुद नेपाली भाषा, साहित्यको संरक्षण प्रवद्र्धन संगै पठन संस्कृति विकास गर्न निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
२०४३ बैशाखमा सार्वजनिक पुस्तकालयको रूपमा स्थापना भएको ज्ञानज्योति पुस्तकालयवि.सं. २०५० सालमा टुकबहादुर क्षेत्रीको अध्यक्षतामा गठित नयां कार्य समिति बनेपश्चात पुस्तकालयको विकासमा निकै ठूलो मेहनत गरेको जानकारहरु बताउंछन् । क्षेत्रीकै लामो प्रयासपछि सुकुम्बासी आयोगबाट बुटवल ८ (सविकको बुटवल–१०), मिलनपथमा करिब ५ धुर जग्गा पुस्तकालयलाई प्राप्त भएको थियो । सोही स्थानमा पुस्तकालय भवन बनेर व्यवस्थितरुपमा सञ्चालनमा छ ।
पुस्तकालयको पहलमा सहरिया बालबालिकाहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आइएको छ । साथै सरसफाइ कार्यक्रम, छात्रछात्राहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटनको लागि हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, चित्रकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता, रामायण वाचन प्रतियोगिता र प्रौढ शिक्षा आदि पनि सञ्चालन गरिदै आएको व्यवस्थापक प्रकाश सुवेदीले बताए ।
पुस्तकालय भवनमा ज्ञानविज्ञान, कला, साहित्य तथा समालोचना, ग्रन्थ, पर्यटन, सञ्चार, समाजशास्त्र आदि विधाका करिब तीन हजार जति पुस्तकहरू रहेका छन् । बुटवलबाट प्रकाशित हुने सबै दैनिक पत्रिकाहरू पुस्तकालयमा नियमित रूपमा जाने गर्दछन् ।
पुस्तकालयलाई प्रभावकारी बनाउन र पाठकहरूको संख्यामा वृद्धि गराउन पुस्तकालयलाई २०७४ देखि ई लाइब्रेरीको रूपमा विकास गरिएको छ । विभिन्न शिक्षण संस्थाहरूबाट प्राप्त भएका १० थान कम्प्युटरबाट ई लाइब्रेरी संचालन गरि सेवा प्रदान गरिएको छ ।




