बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट तत्कालका लागि हट्नु सकारात्मक छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७ औं सेसनले तत्कालका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको छ ।
संरक्षणमैत्री र सुधारका काम भइरहेको जानकारी गराउँदै आश्वस्त पारेपछि युनेस्कोले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । यो निर्णयसँगै लुम्बिनीको अध्ययन गर्न एक मिशन पठाउने र त्यसले दिने प्रतिवेदनका आधारमा आगामी दिनमा निर्णय लिने युनेस्कोले जनाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षणमा चालिएका कदम पर्याप्त छैनन् । बढ्दो औद्योगिक प्रदूषण नियन्त्रण गर्न चासो नदिदा पुरातात्विक संरचना जोखिममा पर्न थालेको विज्ञहरुको चेतावनीलाई गम्भीर रूपमा नलिनु कमजोरी हो । संरक्षणका लागि चाल्नुपर्ने कदम कठोर ढंगले नचाल्ने हो भने लुम्बिनी पुनः सम्भावित खतराको सूची हुँदै खतराको सूचीमा झर्ने जोखिम छ । यो जोखिमलाई रोक्ने उपाय हो राज्य संयन्त्रलाई संरक्षणमा प्रयोग गर्ने र समुदायको सहभागितामा संरक्षणलाई प्रभावकारी बनाउने ।
नेपालको प्राथमिकता अब लुम्बिनीलाई खतराको सूचीबाट जोगाउने र तिलौराकोटलाई सम्पदा सूचीमा पार्न लविङ गर्नुपर्छ । बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा पर्ने चर्चा यसपाली निर्णयमा पुग्न सकेन् । युनेस्कोले सन् १९९६ मै तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो । अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै तिलौराकोट विश्व सम्पदा सूचीमा पर्ने अपेक्षा गरिएको थियो । कपिलवस्तु खुला संग्रहालय हो । पुरातत्व विभागले तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात् कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई संरक्षित स्मारक क्षेत्र घोषणा गरी संरक्षणको कामलाई अघि बढाएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न केही वर्षदेखि गरेको प्रयासलाई निरन्तर अघि बढाउन आवश्यक छ । सन् २०१४ सालदेखि तिलौराकोटको उत्खनन् तथा अन्वेषण भइरहेको छ, अहिलेसम्मको उत्खनन्बाट तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीनसय वर्षअघि नै व्यवस्थित शहर रहेको तथ्य भेटिएकोले महत्वपूर्ण सम्पदास्थल हो भन्ने पुष्टि भएको छ ।
उत्खनन् र संरक्षणमा राज्यले पछिल्ला वर्ष चालेका कदम सकारात्मक छन् । सम्पदा संरक्षण भावी पुस्तको लागि अमूल्य सम्पत्ति हो । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आगामी दिनमा सार्थक पहल हुनुपर्छ । छिमेकी मुलुकसँग सहज सम्बन्ध विकास गरी उनीहरुको सहयोग पनि अर्थपूर्ण हुन्छ भन्ने बुझ्नुपर्छ ।




