सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरिरहेको अडिओ सार्वजनिक भएको छ । यो अडिओ सार्वजनिक भएपछि अडिओबारे जाँच गर्न फरेन्सिक ल्याब पठाइएको र प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाबारे मन्त्री गुप्तासहित विभिन्न पक्षसँग सुक्ष्म ढंगले बुझिरहेको बताइएको छ ।
घुस लेनदेनको विषयमा भएको मन्त्रीको कुराकानी अक्षम्य अपराध हो । यो विषय छानबिनले पुष्टि गर्ला वा मन्त्री निर्दोष पनि हुनसक्लान् । त्यसभन्दा अघि प्रश्न उठेका मन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउ गर्नुपर्छ । मन्त्रीले राजीनामा दिएनन् भने बर्खास्त गर्नुपर्छ प्रधानमन्त्रीले । त्यसो त प्रधानमन्त्रीले आरोपित मन्त्री गुप्तासँग घटनाबारे जानकारी लिनु भएको र सत्तारूढ गठबन्धनमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवासहितसँग छलफल गर्नुभएकाले विषयवस्तुको गाम्भीर्यतालाई अवश्य ख्याल गर्नुभएको देखिन्छ । प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ भन्ने कुरा सार्वजनिक रूपमा नै पटक–पटक भनिसक्नुभएकाले यो विषयमा निर्मम हुनुपर्छ । सरकारका कतिपय कमजोरीका बारेमा सामाजिक सञ्जालमा अतिरञ्जित गरी प्रचार भइरहेको र कतिपय अर्नगल प्रचार गरी भ्रम छर्ने प्रयास पनि भइरहेको बेला यो प्रकरणमा प्रधानमन्त्री निर्मम हुनुपर्छ । सरकार गलत क्रियाकलापलाई पूर्णतः रोक्छ भन्ने आम नागरिकको भरोसालाई विश्वासमा बदल्नुपर्छ । मुलुकमा सुशासनमा धेरै खालका समस्या देखिइरहेका बेला यो प्रकरणलाई सामान्य रुपमा लिंदा नागरिकमा सरकारप्रतिको भरोसा कमजोर बन्दै जाने जोखिम छ । मुलुकमा व्यवस्था विरोधी आवाज उठ्न थालिरहेको बेला यस्ता प्रकरणलाई सही ढंगले व्यवस्थापन नगर्दा व्यवस्था विरोधीलाई बल पुग्छ ।
यसअघि एमालेकै मन्त्रीहरु गोकुल बाँस्कोटा र शेरबहादुर तामाङले प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएका थिए । उनीहरुका बारेमा सार्वजनिक रूपमा प्रश्न उठेपछि राजीनामा दिए । बाँस्कोटाले पुनः चुनाव जितेका छन् । तामाङको पनि राजनैतिक उचाई घटेको छैन । प्रश्न उठ्ने बित्तिकै राजीनामा दिने विषय राजनैतिक व्यक्तिका लागि नैतिकताको विषय पनि हो । विगतका यी घटनालाई मन्त्री गुप्ताले सम्झन सकेनन् । एमाले नेतृत्वले पनि यी घटना सम्झाउन सकेन् ।
अब अविलम्ब उनको राजीनामा हुनुपर्छ, राजीनामा नभए बर्खास्त गर्नुपर्छ । र, घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक हुनुपर्छ । घटनामा मन्त्री गुप्ता दोषी देखिए कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई जिम्मा दिनुपर्छ ।




