रजवती हुनु किशोरी र करिब ५० वर्ष सेरोफेरोका महिलाको शारीरिक स्वस्थता र क्षमताको कुरा हो । सन्तान उत्पादनको क्षमता छ भन्ने पूर्व लक्षण हो । यो महिलाको प्रजनन् अधिकारको ग्यारेन्टी पनि हो ।
पुरुषहरु रज हुँदैन । पुरुषका वा किशोरका ओंठमा जुंगा आउनु, पहिलेभन्दा बोलीको स्वर धोन्द्रो हुनु अर्र्थात् स्वर परिवर्तन हुनु किशोरको लक्षण हो ।
किशोर किशोरीमा यस्ता संकेतहरु देखा पर्नु शुभ संकेत हो, भविष्यको सौन्दर्य हो, जुन स्वागतयोग्य छ । स्वागत गर्नु हामी सबैको धर्म÷कर्तव्य हो । रज पवित्रताको प्रतीक हो ।
तर अत्यन्त पुराना विचारले निर्देशन गरेको समाजमा वा इण्डियन चलन चल्तीले निर्देशित गरेको नेपाली समाजका किशोरी एवम् महिलाका लागि रजवती हुनु घातक सावित भएको छ ।
इण्डियन चलन चल्ती भन्नुको अर्थ हिन्दू संस्कार नै हो । यसले काल्पनिक अनेक नाटीकुटी र चलनले नेपाली महिला जगतलाई गर्नुसम्म दमन गरेको छ । यसो भन्दा यो कलमकारलाई धर्म विरोधीको लाहा छाप लाग्न पनि सक्छ । नास्तिक र क्रिश्चियन भन्ने आरोप पनि लाग्न सक्छ । साँचो कुरा यही नै हो ।
स्मरणीय छ कञ्चनपुरकी कल्पना दमिनी छाउगोठमा सुत्दा विषालु सर्पले टोकेर ठहरै पारेको उदाहरण ताजै छ । मिडियाले भन्दैछन्– जागरुक नरनारीले छाउगोठ भत्काउँदै छन् रे ! यो सुनेर जागरुक र रुढीवादी विचार प्रवृत्तिका विरुद्ध बोल्न र लड्न तम्सिने तपाईंमा पनि आक्रोश र जोश चढ्न सक्छ । यद्यपि सुदूर पश्चिम र कर्णालीमा जस्तो छाउपडी जस्ता घातक कुप्रथा तपाईंको लुम्बिनी प्रदेशदेखि पूर्वतिर प्रदेशमा प्रत्यक्ष रुपमा छैन । तर धार्मिक रुपमा र संस्कारगत रुपमा दिमागको कुनामा कही न कही छ । यो कुप्रथाले आतंक मच्याएको छ । मेट्न गाह्रो छ ।
तर अधिकांश जनजातिमा छाउपडी कम छ । उनीहरु नुहाइधुवाइ र सरसफाइ गरेर भात भान्छा तयार गर्ने जस्ता सबै काम गर्छन् ।
छाउपडीले कल्पना दमिनी नानीको हत्या गरेको थाहा पाएर कञ्चनपुर नगरपालिकाले छाउगोठ भत्काउन आदेश दियो रे । यो राम्रो पक्ष हो । मानव हितकारी कदम हो । यसलाई प्रगतिशील कदम पनि मान्नु पर्छ ।
यतिले पुग्दैन । ठ्याक्कै पुग्दैन हुँदैन । छाउपडी हट्नुपर्छ, उन्मूलन गर्नुपर्छ भनेर विगतमा श्री ५ को सरकार र विभिन्न एजेन्सी, एनजीओ, आइ. एनजीले ठूलो धनराशी खर्च गरेका हुन् । एक्सन एण्ड इन्टरनेशनल र एक्सन एड नेपाल जस्ता संघ संस्थाले त डलर पौण्ड र युरो बिच्छ्याएकै हुन् । गोष्ठी र सेमिनार त कति भए भए । छाउपडीका गोठहरु भत्काएका हुन् । ढुंगामाटोले बनाइएका छाउपडी गोठ त घनले हिर्काएर भत्काउन सकिदोरहेछ र भत्काइए पनि । तर भत्काएर के भो र पुनर्निर्माण गरिए । यस्तो किन भयो त ? यसको कारण हो– दिमागी रुपमा अंकित छाउपडी गोठ र संस्कार भत्काइएन ।
संयोग कुरा आजभन्दा करिब २५ वर्ष पहिला यो पंक्तिकारलाई पनि नेपालगञ्जमा आयोजित कार्यशालामा सहभागी हुने र कार्यपत्र प्रस्तुत गर्ने अवसर जुरेको स्मरण हुन्छ ।
त्यस कार्यशाला गोष्ठीमा एक जना कार्यपत्र प्रस्तोता एवम् सामाजिक अभियन्ता सगौरवले भन्नुभयो– हामीले पुराना थोत्रा छाउगोठ भत्काएर नयाँ राम्रा छाउगोठ निर्माण गरेका छौं ।
मलाई अलिअलि कन्सिरी तात्यो र रिस पनि उठ्यो । मैले तत्क्षण भनिदिएँ–कुमारी नानीहरु महिलाहरु रजोवती (छाउ) हुँदा अथवा महिलाहरु रज (मिन्स) भएको अवस्थामा तपाईं सामाजिक अभियन्ता पुरुषहरु त्यस्ता छाउगोठमा गएर बस्ने सुत्ने गर्नुस् आमा, दिदीबहिनी, छोरीहरुलाई घरमा नै सुरक्षित ढंगले बस्न, खान र सुत्न दिनुस् भनें । आफूलाई नम्बरी सामाजिक अभियन्ता ठान्नेहरु एकले अर्काेको आँखामा हेरेर तैंचुप मै चुप भएको सम्झन्छु ।
नम्बर एक छाउपडी शब्द नै घातक र महिला विरोधी छ । खश भाषामा छाउपडी भनेकै रज भएपछि छेउ लाग्नु, आफ्नो घरदेखि धेरै पर गएर बस्नु पर्ने र घर परिवारले आफ्नो फुर्सद र इच्छाअनुसार जुन समयमा जे खाने कुरा लगेर दिन्छन्, खाने र त्यसै ठाउँमा एक्लै सुत्नुपर्ने अवस्था हो । वास्तवमा त रज भएको बेला पौष्टिक आहारको जरुरी पर्छ ।
यो छाउपडी शब्द र कुसंस्कारको व्यँुत्पत्ति त्यसै भएको होइन । यसको सम्बन्धमा हिन्दू धार्मिक ग्रन्थसँग सम्बन्धित छ । यद्यपि त्यहाँ छाउपडी शब्द त छैन, तर रज हुँदा महिलाले परिपालन गर्नुपर्ने कडा नियमहरु उल्लेखित छन् ।
पुरोहित पण्डितबाहरुले श्रीमद् भागवत गीता, देवी भागवत, हरिकालिका ब्रत कथा हात लम्बारी लम्बारी बडो रोचक ढंगले बाचन गर्नु हुन्छ । धेरै ग्रन्थको कुरा नगरौं तिज पर्व संस्कृति नारी समुदायको महान् पर्व हो । यसमा कुनै विमति छैन । चेलीबेटी माइतीको निमन्त्रणामा माइत आउने मीठो चोखो खाने, आफ्ना पुराना दमाली दौंतरी संगी साथीहरु आमा, हजुरआमा, फूपू र दिदी बहिनीहरु जम्मा भएर आफैँ आफँैले ताली÷थपडी÷बाजा बजाएर गीत गाउने र ढलक ढलक नाच्ने गर्दछन् । माइततर्फका पुरुषहरु दर्शकका रुपमा उपस्थित भएर थपडी बजाउने गर्दछन् । सबैलाई रंगमाथि रंग हुन्छ । हुनसम्म रमाइलो हुन्छ । यसको गौरव र महत्व आफ्नै ठाउँमा छ ।
तर हरितालिका ब्रत कथा र ऋषि पञ्चमी पुजन विधिलाई पनि तिज संस्कृतिमा ल्याएर जोडिएका छन्, किन जोड्यो ? कसले जोड्यो थाहा छैन । यसलाई ऋषि पञ्चमी पनि भन्दछन् ।
यहाँ कथामा लेखिएको छ–‘सत्ययुगमा गुरु बृहस्पतिको सल्लाह बमोजिम युद्ध गर्दा स्वर्गका राजा इन्द्रले स्वर्ग, मत्य (पृथ्वी) र पातल समेतमा विजय हासिल गरेको खुशियालीमा इन्द्रले राजसूय महायज्ञको आयोजना गरे छन् । यथा समयमा पाहुनाहरु सबै आए छन् ।
गुरु बृहस्पति पनि आउनु भएछ । तर गुरु आउँदा विजयको उन्माद र हर्षले फुलेर गजधम्म बसेका इन्द्रले गुरुलाई स्वागत खातिर पनि गरेन छन् ।
गुरुलाई लागेछ यो इन्द्र त घमण्डले फुलेछ, त्यहाँबाट आफू अपमानित भएको ठानी गुरु हिंडेछन् । महायज्ञको तयारी पूरा भइसकेको बेला गुरु गायव भएको देखि इन्द्रले गुरुको खोज खबर गर्न चारै चौरास पठाइएका मानिस पनि निराश भई फर्केछन् । लौ बर्बाद भयो, व्यास गुरु विना अब कसरी यज्ञ गर्ने भन्ने चिन्ताले सताएछ !
त्यसपछि ब्रह्मा बाबासित सल्लाह गर्दा उनको सल्लाह बमोजिम विश्वरुपमा पण्डित र दितीको छोरा पण्डित त्वष्टा ऋषिलाई व्यास बनाई राजसूय महायज्ञ श्रीगणेश भएछ । गुरु त्वष्टाले स्वाहा स्वाहा भन्दै जाँदा इन्द्रमा शंका लागेछ । हामी अदितीका सन्तान आदित्य हौं । पण्डित त्वष्टा त दितीको सन्तान दैत्य हो । कतै स्वाहा स्वाहा भन्दै जाँदा आदित्य कुलकै स्वाहा होस् भन्ने शंकाले इन्द्रलाई सताउन थाल्यो । शंकाले लंका पिटिरहेको बेला शंकालु मुडमा रहेका इन्द्रले आदित्य कुलको स्वाहा होस् भनी स्वाहा स्वाहा भनेको भिउसना भएछ ।
इन्द्र महाराज खुब रिसाएर विश्वरुप पण्डितलाई तरबारले छ्याप्पै काटेछन् ।
विरुवरुप पण्डितको हत्या गरेपछि ब्राह्मण काटेकोमा एक वर्षभन्दा बढी दिनको भोक न रातको निद भएर इन्द्र दुब्लाएर मर्ने अवस्थामा पुगेछन् ।
अब के गर्ने त भनी चिन्तन मनन गर्दा केही उपाय ब्रह्म बाबाले निकाल्छन् भनी ब्रह्मबाबाकै शरण परे । इन्द्र के को पीर छ ? के को चिन्ता हो । मैले त यस्ता पापलाई तुरुन्तै चट पारिदिन्छु ।
ल हेर मैले ब्रह्म हत्या पाप (अपराध)लाई चार भागमा बाँडे । यसोभएपछि अब उपरान्त स्त्री जातिले मासिक क्रिया हुँदा छोइछिटो ग¥यो भने उनीहरुलाई बम्रहत्या पाप लाग्ने छ । बम्रहत्या पाप लागेपछि अकालमै आफ्नो मृत्यु हुने, छोराछोरी पनि अल्पआयुका हुने र आफूले चौरासी हजार जुनीसम्म कुकुर्नी, सुँगुर्नी ढोडेकिरा निम्न कोटीका जीवाणु हुनु पर्ने, त्यसैले मासिक क्रिया हुँदा कडा नियमको पालना गरी छोइछिटो नगर्ने भन्ने कथा छ र बम्राजीको आदेश भनि लेखिएको छ । एक भाग आगोमा हालिदिए स्वाहा ! एक भाग पानीमा हालिदिए स्वाहा ! एक भाग बोटबिरुवा केही पनि नउम्रिने मरुभूमिमा हालिदिए स्वाहा ! अनि अन्तिम एक भाग स्त्रीको रज (रगतमा) हालिदिएँ– स्वाहा ! अब तिमी ब्रह्महत्या पापमुक्त भयौ !
चट ! चट !! चट !!!
कस्तो मज्जा ?
प्रिय जान्ने बुझ्ने मित्रहरु । अब म के भन् ! घातक छाउपडी प्रथाको धार्मिक वृतान्त यही हो ?
ब्रह्माले एक÷एक भाग पाप (अपराध) नदीमा, अग्निमा, मरुभूमिमा हाले स्वाहा भन्दै अन्त्यमा महिला जगतलाई ठिंगुरी हाल्ने चालबाजी मात्र गरेको यो कथाले बताउँछ ।
यो त ब्रह्माको हवाला दिँदै कुमारीहरु र महिलाहरुलाई दमन गरिरहने धार्मिक चाल हो ।
भन्न त भनिएका छन् धार्मिक ग्रन्थ, तर यसो उसो ग¥यो महिलालाई नियन्त्रित गर्ने, दमन गर्ने, उठ्नै नदिने गरी बाँधिएको छ । एउटा दृष्टान्त यही छाउपडी हो । यो हिन्दु समाजमा मात्र छ । कल्पना नानीलाई सर्पले खाएको होइन, अन्धविश्वास रुपी धार्मिक सर्पले खाएको हो ।
यो लेखकलाई धेरै कुरा बोल्न र लेख्न कर नगर्नुस्, यस खाले ग्रन्थ र विचारलाई बहिष्कार गर्ने कि शिरोपर गरिरहने यो तपाईंको विचारको कुरा हो ।
छाउपडी गोठ भत्काएर हुन्छ र ? दिमागमा निर्माण भएको छाउपडी गोठ भत्कनु पर्छ ।
फेरि पनि पुरोहितबा यसो त्यसो भन्दै छाउपडी गोठ बनाऔं भन्दै आउने छन् होस् गरौैं ।




