बुटवल
भारतले विना जानकारी एक्कासी निर्यात रोकिदिएपछि भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)का स्टिलजन्य उद्योग समस्यामा परेका छन् । सेजमा रहेका विस्तार ग्लोबल र पञ्चकन्या समूहका दुई उद्योगका उत्पादन एक महिनादेखि निर्यात हुन सकेको छैन । विस्तार ग्लोबलले स्टिलका भाँडा वर्तन उत्पादन गर्छ भने पञ्चकन्याले स्टिलको पानी ट्यांकी उत्पादन गर्छ ।
विस्तारको उत्पादनको ९० देखि ९५ प्रतिशत हिस्सा भारत निर्यात हुने गरेको थियो । यो उद्योगले गत वर्ष ७२ करोड बढीको भाँडा भारत निर्यात गरेको थियो ।
विना जानकारी निर्यात रोकिएपछि अन्योलतासंगै उद्योगलाई ठूलो नोक्सानी हुन पुगेको विस्तार ग्लोबलका लेखा अधिकृत अरविन्द त्रिपाठीले बताए । ‘भारत निर्यात गर्ने भनेरै सेजमा उद्योग खुलेको हो,६ वर्षदेखि नियमितरुपमा निर्यात गर्दै आएका थियौं, तर एक्कासी विना जानकारी रोकिदिएपछि अन्योलता र चिन्ता छाएको छ,’ त्रिपाठीले भने–‘निर्यात गर्न नपाएपछि चीनबाट आएको १४ कन्टेनर कच्चा पदार्थ बिरगन्ज र कोलकता बन्दरगाहमा रोकिएको छ, यसले गर्दा ठूलो आर्थिक नोक्सानी भएको छ ।’
एउटा कन्टेनरको कच्चा पदार्थको मूल्य ४२ लाख बढी पर्ने त्रिपाठीले बताए । निर्यात ठप्प भएपछि उद्योगको उत्पादन पनि बन्द हुँदा करिब ८ सय मेट्रिक टन कच्चा पदार्थ उद्योगमा थन्किएको छ । चीनबाट कच्चा पदार्थ ल्याएको कारण भारतले निर्यात रोकिदिएको उद्योगीहरुको आशंका छ । भारतमा स्टिलजन्य उत्पादन निर्यात गर्ने प्रणाली ‘स्टिल इम्पोर्ट म्यानेजमेन्ट सिस्टम’ (सिम्स) मा अरु मुलुकको नाम भए पनि नेपालको मात्र नाम हटाइएको कारण निर्यातका लागि सिम्समा फाराम भर्न नै नमिलेको त्रिपाठीले बताए ।
निर्यात रोकिएपछि करिब चार सय कामदारहरुलाई उद्योगले विदामा बस्न भनेको छ । ‘अहिले ४० जना कामदारलाई मात्र काममा बोलाएका छौं, अरु कामदारको रोजगारी गुम्दा उनीहरुको परिवारको रोजीरोटीमा समेत असर गरेको छ ।’
पञ्चकन्या समूहको उद्योगबाट २७ प्रतिशत उत्पादन भारत निर्यात हुने गरेको थियो । निर्यात रोकिएपछि उद्योगले उत्पादन बन्द गरिसकेको छ ।
सेजका उद्योगहरुले कम्तीमा ३० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने नियम रहेकोमा भारतमा निर्यात रोकिएपछि पञ्चकन्याले स्थानीय बजारमा विक्रि गर्न नपाउने भएको छ ।
‘तत्काल निर्यात नखुल्ने हो भने हामीले सेजबाट उद्योग हटाउनुको विकल्प छैन,’ पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहूले भने–‘सरकारले सेजमा नयाँ उद्योगलाई मात्रै प्रोत्साहन गर्ने तर केही वर्ष पुराना उद्योगलाई टिकाउने गरी ऐन नियम संशोधन नगर्ने हो भने धेरै उद्योग सेजबाट विस्थापित हुने अवस्था आउँछ ।’
हाल भारतीय पक्षले चीनबाट आयात हुने कच्चा पदार्थमा ब्यूरो अफ इण्डियन स्ट्याण्र्डस (बीआइएस) प्रमाणपत्र नभएको कारण देखाउँदै सिम्सबाट नेपाललाई हटाएको नेपाली उद्योगीहरुको अनुमान छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले चीनबाट कच्चा पदार्थ ल्याएर सामान बनाई आफ्नो देशमा बिक्री गरेको हुँदा भारतले रोकेको बताए ।
निर्यात खुलाउन संघले नेपाल उद्योग बाणिज्य महासंघलाई समस्याबारे जानकारी गराएको र महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि दिइसकेको बताए । निर्यात खुलाउन नेपाल सरकारले भारत सरकारसंग तत्काल कुटनीतिक पहल गर्नुपर्ने अध्यक्ष आचार्यले बताए ।
छिटो निर्यात नखुले निर्यातमूलक स्टिल उद्योगीहरुलाई ठूलो आर्थिक क्षति हुने र सयौं मजदुरको रोजगारी गुम्ने उनले बताए ।
यसअघि पनि भारतले विभिन्न कारण देखाउँदै कहिले प्लाइ उड, कहिले अदुवा त कहिले अरु वस्तुको निर्यातमा अवरोध गर्दै आइरहेको छ ।




