२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अड्गुरी योजना र राजस्व दुबैमा उत्कृष्ट

अड्गुरी योजना र राजस्व दुबैमा उत्कृष्ट

अड्गुरी योजना र राजस्व दुबैमा उत्कृष्ट

अड्गुरी योजना र राजस्व दुबैमा उत्कृष्ट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  •  अविजित पन्थी 
    अर्घाखाँची
    अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ७ अड्गुरीले आर्थिक वर्ष २०८१÷८२ मा समग्र कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्दै पालिकाभित्रकै सर्वोत्कृष्ट वडाको रूपमा सम्मान प्राप्त गरेको छ । मंगलबार सम्पन्न आठौँ गाउँसभा बैठकले ‘प्रोत्साहन, पुरस्कार तथा सम्मानसम्बन्धी मापदण्ड २०८१’ को आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडाहरू र शाखाहरूको मूल्यांकन गरी सम्मान गरेको हो ।


    वडा नं. ७ ले राजस्व संकलन र योजना कार्यान्वयन दुबै पक्षमा उच्च प्रदर्शन गर्दै आफूलाई अनुकरणीय वडाको रूपमा स्थापित गरेको छ । राजस्व शाखाको विवरणअनुसार सो वडाले यो आर्थिक वर्षमा कूल ९ लाख ५४ हजार ४ सय ६४ रुपैयाँ ९६ पैसा राजस्व संकलन गर्न सफल भएको छ । यो पाणिनिका सबै वडाभन्दा बढी हो । दोस्रो स्थानमा परेको वडा नं. ८ ले वडा ७ को तुलनामा १६ हजार रुपैयाँ कम राजस्व संकलन गरेको हो ।


    योजनाको कार्यान्वयनमा समेत वडा नं. ७ नै शीर्ष स्थानमा रहेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ को जेष्ठ मसान्तसम्ममा ६८.९७ प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । दोस्रो स्थानमा वडा नं. २ परेको छ ।
    राजस्व शाखा प्रमुख कमल न्यौपानेले राजस्व संकलनको अनुपात र वडाको सक्रियताले अन्य वडालाई पनि प्रभाव पार्ने अपेक्षा व्यक्त गरे । 


    वडाध्यक्ष गुनाखर अधिकारीले भने–“वडाको प्रगति कुनै एक जनाको प्रयासले मात्र सम्भव हुँदैन । यो उपलब्धि जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र स्थानीय जनताको ऐक्यबद्धता र सहकार्यको परिणाम हो । पारदर्शी ढंगले योजना कार्यान्वयन गर्दा जनताको विश्वास जित्न सकियो । अब हामी अझ सशक्त ढंगले अघि बढ्नेछौं ।”


    शाखागत मूल्यांकनमा शिक्षा, युवा तथा खेलकुद शाखा सबैभन्दा उत्कृष्ट भएको छ । यस शाखाले जेष्ठ मसान्तसम्ममा वार्षिक योजनाअन्तर्गत ६६.३५ प्रतिशत कार्यक्रम सम्पन्न गरेको थियो। दोस्रो स्थानमा रहेको स्वास्थ्य शाखाले पनि प्रगति देखाएको छ ।
    गाउँपालिकाले चालु आर्थिक वर्षमा आफ्नै स्रोतबाट १ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ करोड ४२ लाख ४ हजार ६ सय ४२ रुपैयाँ ३१ पैसा संकलन गर्दै १०७.६२ प्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको छ । 


    गाउँसभा बैठकबाट आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट, आर्थिक ऐन २०८२ र विनियोजन ऐन २०८२ पनि पारित गरिएको छ । साथै गत चैत २७ र २८ गते सम्पन्न पाणिनी तपोभूमि सम्मेलनको खर्च विवरण समेत सार्वजनिक गरिएको छ । गाउँपालिकाले उक्त सम्मेलनमा कूल ६० लाख २८ हजार ३०३ रुपैयाँ खर्च भएको जानकारी गराएको छ । 


    गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले राष्ट्रिय दैनिक लुम्बिनीसँग कुरा गर्दै भने–“वडा नं. ७ ले उल्लेखनीय प्रगति देखाएको छ, जुन गाउँपालिकाका लागि प्रेरणादायी हो । तर अन्य वडाहरूले पनि यसबाट सिकेर आफ्नो क्षेत्रमा कामको गुणस्तर र जनसहभागिता बढाउन जरुरी छ । हामी सबै मिलेर गाउँपालिकाको समग्र विकासलाई सशक्त बनाउने लक्ष्यमा काम गरिरहेका छौं ।”


    प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले योजनाको तर्जुमा, पारदर्शिता र समयमा कार्यान्वयन हुँदा सकारात्मक परिणाम हासिल भएको बताए । 


    उपाध्यक्ष नर्मदा गौतम पौडेलले वडाबिचको स्वस्थ प्रतिस्पर्धाले गाउँपालिकाको समग्र कार्यशैलीमा सकारात्मक प्रभाव परेको बताउँदै भभनिन्–“यसले वडाहरूलाई अझ सक्रिय र उत्तरदायी बनाएको छ । सबै वडाले जनताको अपेक्षा अनुरूप योजना तथा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यक छ । सहकार्य र पारदर्शितामार्फत् सबैले आफ्नो ठाउँमा उत्कृष्टता हासिल गर्ने प्रयास गर्नुपर्नेछ । यसले मात्र हाम्रो गाउँपालिका समृद्ध र सशक्त बन्छ ।”


    वडा नं. ७ का युवा नेता वडा अध्यक्ष गुनाखर अधिकारीले देखाएको यो अनुकरणीय कार्यसम्पादनले अब अन्य वडाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ । गाउँपालिकाले अघि सारेको सम्मान कार्यक्रम केवल एउटा वडाको प्रशंसामा सीमित नभई, सम्पूर्ण पालिकाका वडालाई समेट्ने उद्देश्यले अघि बढाइएको अभ्यासको महत्वपूर्ण पाटो बनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij