भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयहरुले एक वर्षको अवधिमा भन्सार चोरी निकासी गरी भारतबाट नेपाल अवैध रुपमा ल्याउँदै गरेको १२ करोड बढिको सामान बरामद गरेको छ । यस्तै अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादी रहेका ८ सय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको नेतृत्व सम्हालेको एसपी प्रदिपबहादुर क्षेत्री तस्करहरुमा निर्मम बनेसँगै दुई महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले ५ करोड ३६ लाख ६० हजार बराबरको तस्करीका समान र तस्करीका लागि प्रयोग भएको साधन नियन्त्रणमा लिए । एसपी आएसँगै अभियान नै चलाई सिमाबाट हुने अवैध कारोबारलाई रोक्न कडा रुपमा प्रस्तुत भए जसको फलस्वरुप छोटो अवधिमा भन्सार राजस्व दाखिला ह्वात्तै बढ्यो । मौलाउँदै गरेको तस्करीलाई रोक्न उनले सबै युनिट इञ्चार्जहरुलाई निर्देशन दिँदै दैनिक अवैध गतिविधि नियन्त्रणमा लागेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको सूचनाअनुसार एक वर्षको अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको सामानहरु, र चोरी तस्करीमा संलग्न ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ३ वटा अटो, १ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पठाइएको छ । पछिल्लो एक वर्षमा प्रहरीले तस्करी मात्र नभई तस्करीका लागि प्रयोग हुने साधन र तस्करी गर्ने व्यक्तिप्रति पनि निर्मम रहेको देखिन्छ ।
यसअघि बेवारिसे अवस्थामा समानहरु बरामद हुने गरेका थिए भने अहिले व्यक्तिसहित अवैध समानहरु बरामद भइरहेका छन् । एक वर्षको अवधिमा अवैध भन्सार छलि÷ तस्करीमा संलग्न ११३ जनालाई नियन्त्रणमा लिईएको छ । असार महिनामा मात्रै ४३ जनालाई नियन्त्रणमा लिइएको बताउँदै एसपी क्षेत्रीले तस्करको मनोबल गिराउन र सीमितले मात्रै फाइदा लिइरहेको पाएकोले तस्करीप्रति निर्मम बनेको हो यसले राज्यलाई केही फाइदा पुग्ने बताए ।
रुपन्देही प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा समेत आक्रमक रुपमा लागेको छ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतीको रुपमा रहेकोले पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक क्षेत्रीले बताए । एक वर्षको अवधिमा फैसला कार्यान्वयनको शिलशिलामा विभिन्न मुद्दामा फरार रहेका ८ सय २३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ५०६ वर्ष २ महिना १२ दिन कैद असुलउपर र ७ करोड ४५ लाख ८१ हजार ८१४ रुपैयाँ जरिवाना असुल उपर गराइएको छ । पक्राउ परेका फरार प्रतिवादीहरूमा लागुऔषध, सवारी ज्यान, कुटपिट लुटपाट, सार्वजनिक अपराध, कुटपिट अंगभंग, चोरी मुद्दालगायतका छन् । रुपन्देही प्रहरीले ६२ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला बाहिर र सम्बन्धित विभागमा फरार प्रतिवादीलाई पठाएको छ ।
खुला सीमा नाकाको फाइदा उठाएर भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, प्याज, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन समेत नियन्त्रणमा कुनै कसर बाँकी नराखेको एसपीको भनाइ छ ।
यस्तै रुपन्देहीका विभिन्न स्थानहरुबाट अवैध गिट्टी, बालुवा, माटो उत्खनन् कार्यमा संलग्न ट्याक्टर ६० वटा, जेसिभी ३० वटा, टिप्पर र हाईवा २३ वटा नियन्त्रणमा लिई आवश्यक कारबाहीको सम्बन्धित स्थानीय निकायमा पठाइएको छ भने यसबाट पनि ४२ लाख ९२ हजार ७८ बराबरको जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यालय महिला सेलले गत आर्थिक वर्ष २०८०÷०८१ मा ५ सय ६९ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका थिए । जसमध्ये ३ सय ९८ वटा उजुरी मेलमिलापबाट समाधान गरिएको छ भने आर्थिक वर्ष २०८१-०८२ मा ६४८ वटा उजुरी बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी आएकोमा ६११ वटा मिलापत्र भएको, ४ सय ७१ वटा घरेलु हिंसाको उजुरीमध्ये ४२८ वटा मिलापत्र भएको छ ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा जिल्ला भर १ हजार ७ सय ७ वटा मुद्दा दर्ता भएकोमा १ हजार १ सय ४५ वटा फर्छौट भएको छ । मुद्दा दर्तामध्ये बैंकिङ कसुरमा ४१७, झुण्डी आत्महत्या २०२, अभद्र व्यवहार १८५, ज्यान समबन्धी १५७, लागुऔषध १२६ रहेको छ । यस्तै अन्य विभिन्न प्रकृतिका ४९ वटा शीर्षकका मुद्दा दर्ता भएको छ ।
कार्यालयका अनुसार जिल्ला भर एक वर्षको अवधिमा २०६ जनाले झुण्डी आत्महत्या, ४५ जनाले विष सेवन, २ जनाले आगो लगाएर र १ जनाले हाम फालेर गरी २५४ जनाले आत्महत्या गरेका छन् ।
एक वर्षको अवधिमा रुपन्देही प्रहरीले १२६ वटा लागुऔषधको मुद्दा दर्ता गरी २ सय २२ जनालाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट कुल ११३ केजी ७६१ ग्राम गाजा, ७३२ ग्राम ब्राृन सुगर, २०६ वटा क्याप्सुल, २० केजी चरेश, ७१८ वटा ट्याबलेट, १२ हजार २ सय ७९ एम्पुल र ६० बोतल कोरेक्स बरामद भएको छ ।




