तिलोत्तमा । तिलोत्तमामा प्रथम तिलोत्तमा कोरा २०२५ हुने भएको छ । जुलाई १९ मा विश्व साईकिल दिवस (कोरा दिवस) को अवसरमा तिलोत्तमा भित्रका ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थानहरु परिक्रमा गरी आन्तरिक पर्यटन प्रवद्र्धन तथा मानव सेवा आश्रमलाई सहयोग गर्न कार्यक्रम आयोजना गरिएको तिलोत्तमा राईडर्स क्लबले जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गरी क्लबले तिलोत्तमा नगरभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङले बताए ।
साइक्लिङ मार्फत स्वास्थ्य जनचेतना फैलाउंदै तिलोत्तमाको आन्तरिक पर्या–पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउन तथा मानव सेवा आश्रमलाई सहयोग गर्न कार्यक्रम गरिएको अध्यक्ष गुरुङले बताए । नगरपालिकाले सहयोग गरेमा आगामी मंसिरमा तिलोत्तमा नगरलाई देशव्यापीरुपमा थप चिनाउन र प्रचार गर्न आफूहरुले देशभरका साइक्लिष्टहरुलाई ल्याएर तिलोत्तमाका सबै वडा परिक्रमा गर्ने गरी राष्ट्रियस्तरको साइकल यात्रा गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा बताए । कार्यक्रमको तयारी करिब पूरा भएको र पहिलो कार्यक्रम भएपनि निकै व्यवस्थित र स्मरणीय बनाउने प्रयासमा रहेको अध्यक्ष गुरुङले बताए ।
तिलोत्तमा राईडर्सका सचिव सुवास थापाले प्रथम तिलोत्तमा कोरामा अपेक्षा गरेभन्दा तेब्बर बढी साइक्लिष्टहरु सहभागी हुंदा आफूहरु उत्साहित भएको बताए । आफूहरुले बढीमा ८० जना सहभागी हुने अपेक्षा गरेपनि एक सय १० जनाले नाम दर्ता गराइसकेका सचिव थापाले जानकारी दिए ।
कार्यक्रममा ८ वर्षका बालक, महिला देखि ६७ वर्षका वृद्ध दम्पत्तिले समेत सहभागिता जनाउने कार्यक्रम संयोजक केवी कार्किले बताए । कार्यक्रममा तिलोत्तमा ४ को दुर्गा मन्दिरबाट सुरु भएर तिलोत्तमाका विभिन्न स्थान हुंदै बनवाटिकामा पुगेर औपचारिक कार्यक्रमसहित समापन हुने छ । कार्यक्रमलाई किङ्स अब्रोड एजुकेसन कन्सल्टेन्सी र तिलोत्तमा नगरपालिकाको मुख्य सहयोग रहेको सचिव थापाले बताए ।




