नवीन लोचनमगर
रोल्पा
रोल्पाको त्रिवेणी गाउँपालिका–२ सेराबाङका कृषक मनिराम घर्तीमगर व्यवसायिक बंगुर पालनबाट राम्रो आम्दानी हुन थालेपछि थप हौसिएका छन् । करिब एक करोड बढी एकल लगानी रहेको उनको ‘सेराबाङ बंगुर पालन फर्म’ अहिले जिल्लामै नमूना बंगुर फर्मकोरुपमा परिचित छ । मनिरामका आमाले परम्परागतरुपमा बंगुर पालन गर्दै आएकी थिइन् । बजारको अध्ययन, प्राविधिक सीप तथा ज्ञान आर्जन गरेर व्यवसायिक फर्म सुरु गरेका मनिराम ‘गरे सम्भव छ’ भन्ने राम्रो उदाहरण बनेका छन् । करिब दशवर्षयता व्यवसायिक बंगुर पालन व्यवसाय गर्दै आएका उनले बजारको अवस्था हेरेर आफैँ बढाउने सोचेको बताउँछन् ।
वार्षिक २५ लाख आम्दानी
जिल्लाकै अगुवा कृषकका रुपमा रहेका मनिरामको फर्ममा अहिले ५० वटा माउ बंगुर छन् भने चारवटा भाले बंगुर र सैयौं पाठापाठी छन् । ‘मसँग अहिले कति पाठापाठी छन् भन्ने एकिन छैन,’ मनिराम भन्छन्–‘दैनिक थपिने, घट्ने भइरहने भएकाले गन्ती नै गरिँदैन ।’ फर्मबाट वार्षिकरुपमा करिब ९ सय पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ । जसमा प्रति पाठापाठी ६ हजारका दरले बिक्री हुन्छ । केही साताअघि मात्र ४ वटा ठूला बंगुर बेचेका उनले वार्षिक ६० लाखको कारोबार गर्छन् । ‘वार्षिक कारोबार मेरो ६० लाखभन्दा बढी हुन्छ,’ मनिरामले भने–‘त्यसमध्ये २० देखि २४ लाख मेरो चोखो आम्दानी हुन्छ, अन्य रकम खोर व्यवस्थापन, दाना किन्ने लगायतमा खर्च हुन्छ ।’ ल्यान्डेस र ड्युरो जातका बंगुर पालेका उनलाई अहिलेसम्म कुनै रोगव्याधी तथा समस्या परेको छैन । शिक्षण पेशामासमेत संलग्न उनको फर्ममा उनको श्रीमती र एकजना फर्ममा काम गर्न तलबमा मान्छे खटाएका छन् ।
आधा बंगुर जिल्लामै खपत्
बंगुरको मासु तथा पाठापाठीहरु आधा जिल्लाभित्रै खपत् हुन्छ भने आधा जिल्लाबाहिर निर्यात हुन्छ । फर्म सञ्चालक मनिराम घर्तीमगरका अनुसार काठमाडौं, पोखरा, बुटवल, नवलपरासी, दाङलगायतका ठाउँहरुमा बंगुर तथा पाठापाठी पुग्ने गरेका छन् । ‘मुख्यतः मैले पाठापाठी उत्पादनमै जोड दिएको छु, राम्रो पाठापाठी उत्पादन गर्न सकिए खपतको समस्या हुँदैन ।’–उनले भने । गर्भवती, सुत्केरी, पाठापाठीसँग आमाको वार्डलगायत विभिन्न अवस्थाका बंगुर बस्ने छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । जसका कारण पाठापाठी हुर्कन र आमाको व्यवस्थापनमा सहज हुने गरेको छ । बंगुरको पाठापाठी ४५ दिनमा बिक्रीका लागि तयार हुन्छन् । बंगुर पालक व्यवसायीहरुले आफ्नो खोरबाटै पाठापाठी लैजाने गरेको उनको भनाइ छ । उनले जिल्लाभित्र त्रिवेणी, परिवर्तन, थबाङसँगै आफ्नै छरछिमेकमा पनि पाठापाठी बिक्री गर्ने गरेका छन् ।
उत्कृष्ट कृषकका रुपमा पुरस्कृत
बंगुर पालक कृषक मनिराम घर्तीमगरलाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाकै उत्कृष्ट कृषकका रुपमा पुरस्कृत गरेको छ । जिल्लाकै ठूलो बंगुर फर्मको रुपमा रहेको सेराबाङ बंगुर पालन फर्मलाई थप प्रोत्साहनका लागि पुरस्कृत गरिएको विज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानेले बताए । सुरुमा युट्युबमा हेरेर व्यवसाय थालनी गरेका उनलाई जिल्लास्थित साविकको पशुसेवा कार्यालयले १० लाख आर्थिक सहयोग गरेको थियो । त्यसपछि पशुसेवा विज्ञ केन्द्र स्थापना भएपछि २ लाखको पूर्वाधार निर्माणमा सहयोग गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले बताए ।
गतवर्षमात्रै केही खोप कार्यक्रम, प्रविधि प्रदर्शन तथा केही औषधीहरु सहयोग गरेको उनको भनाइ छ । त्यसका साथै १ लाख बराबरको अटोमेटिक फिडर, ड्रिंकर र औषधी उपलब्ध गराएको न्यौपानेले बताए । जिल्लामा ८४ वटा व्यवसायिक बंगुर फर्म दर्ता छन् भने आर्थिक वर्ष २०८१-०८२ को तथ्यांकलाई हेर्दा १४ हजार ४३६ वटा बंगुरको संख्या रहेको छ । उक्त आर्थिक वर्षमा ६२ वटा बंगुरको बिमा गरिएको छ ।




