मध्यपहाडमा बाँदरबाट खेती जोगाउनै सकस भयो । बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका असरसँग जुझ्दै जेनतेन गरेको खेतीपातीलाई बाँदरले सखाप पार्न थालेपछि पछिल्ला केही वर्षयता पहाडका खेतबारी बाँझिन थालेका छन् । तर पाल्पाका किसानले बाँदरले नोक्सान नगर्ने खेतीको विकल्प खोज्न थालेका छन् । उनीहरुले टिमुर खेती गरेर राम्रो आम्दानी गर्न थालेको खबर अरूका लागि पनि अनुकरणीय हुनसक्छ ।
चुनावमा भोट माग्न जाने नेतालाई किसानले बाँदरबाट खेतीपाती जोगाउन नसकिएको गुनासो गर्दै आएका छन् । बाँदरले नोक्सानी गरेकोले बाँदर मार्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् । बाँदरलाई समस्या मानेर खेतबारी बाँझै राख्ने प्रवृत्ति बढिरहेका बेला वैकल्पिक खेतीको खोजी हुनु सकारात्मक छ । परम्परागत खेतीपाती प्रणालीमा अल्झेको नेपाली समाज पछिल्ला वर्ष आम्दानी दिने खेतीपातीतिर विस्तारै अघि बढिरहेको बेला टिमुर खेती पनि थपिएको छ । टिमुरको आन्तरिक बजारमा राम्रो माग छ, बाह्य निकासी पनि बढिरहेको छ । बजारीकरण राम्रो गर्न सके आम्दानीको राम्रो स्रोत हुनेमा सन्देह छैन ।
वनजंगलको नजिक बाँझिदै गएका खेतबारीमा किसानले टिमुर लगाएका छन् । पाल्पाको सत्यवती, जुठापौवा, बल्डेङगढी, छहरा, देउराली, पालुङमैनादी, कुसुमखोला, फेकलगायतका गाउँमा अहिले टिमुरको व्यवसायिक खेती फस्टाउन थालेको छ । वनजंगल र बारीका काल्नामा हुने टिमुर अहिले खेतबारीमा लटरम्म फल्न थालेको छ । त्यसो त यहाँ अकबरे खुर्सानी, दालचिनी र सुन्तलाको व्यवसायिक खेती पनि फस्टाएको छ । रिब्दिकोट गाउँपालिकाका किसानले गत वर्ष ६ करोड रुपैयाँको अकबरे खुर्सानी बेचे । खेतीपातीबाट आम्दानी गर्न सकिंदैन् भन्ने भाष्य बनाएर युवा विदेश पलायन भइरहेको बेला रिब्दीकोटका किसानले आम्दानी सम्भव छ भन्ने देखाएका छन् । अहिले टिमुरखेतीबाट उनीहरुले आम्दानी गर्न थालेका छन् ।
पाल्पामा डिभिजन वन कार्यालयले किसानलाई टिमुरका बिरूवा उपलब्ध गराएको छ । सिँचाइको सुविधा नभएको र बाँदरलगायत वन्यजन्तुबाट जोगाउन सकिने खेतीपातीतर्फ किसानलाई डो¥याउन सक्दा नै मध्य पहाडमा मान्छे टिकाउन सकिन्छ । हरेक समस्याका सामु सम्भावनाहरू हुन्छन् भनेझंै बाँदरले बाँझिदै गएका बारीमा टिमुर वैकल्पिक खेती हुनसक्छ । टिमुर पकेट क्षेत्र बनाएर ठूलो मात्रमा खेती गर्न किसानलाई उत्प्रेरित गर्ने हो भने उत्पादन बढ्छ, पकेट क्षेत्र र मिशन कार्यक्रम अघि बढाउँदा किसानको उत्पादन लागत घट्छ । र, सरकारले गरेको लगानीको प्रतिफल पनि देखिन्छ । प्रतिफलमुखी कार्यक्रममा बजेट लगानी गर्दा नै नागरिकको राज्यप्रतिकोे भरोसा हुन्छ ।




