बुटवल । विश्व साईकिल दिवसको अवसरमा प्रथम तिलोत्तमा कोरा भव्यरुपमा सम्पन्न भएको छ । तिलोत्तमा राइडर्सको आयोजनामा भएको प्रथम कोराको उद्घाटन तिलोत्तमा ४ ड्राइभरटोल दुर्गामन्दिर लाइनमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले गरेका थिए ।
एक सय १० जना साइकल यात्री सहभागी कोरा नगरभित्रका ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थानहरु परिक्रमा गर्दै ५० किलोमिटर दूरी पार गरेर वनबाटिमामा पुगेर समापन भएको हो ।
कार्यक्रम समापनमा बोल्दै नगर प्रमुख खांणले साइकल यात्राले मान्छेलाई स्वस्थ बनाउनुका साथै वातावरण संरक्षण र पृथ्वीको बढ्दो तापक्रम रोकथाममा पनि टेवा पु¥याउने बताए । साइकल यात्रा अर्थात कोरा बहु आयामिक महत्वको भएको चर्चा गर्दै नगर प्रमुख खांणले यस कार्यक्रमलाई नगरपालिकाले महत्व दिएर सहयोग समेत गरेको उल्लेख गरे । उनले भविष्यमा तिलोत्तमा राइडर्समा सदस्यको संख्या बढाउदै सबै वडामा विस्तार गर्दै धेरै भन्दा धेरै नगरवासीलाई स्वस्थ र अनुशासित बनाउने गरी काम गर्न आग्रह गर्दै नगरमा साइकल रुट बनाउने सोच रहेको बताए ।
नगर प्रमुख खांणले तिलोत्तमा राइडर्स क्लबको आजीवन सदस्यता समेत लिंदै स्वस्थ जीवनका लागि हरेक दिन कम्तीमा आधा देखि एक घण्टा साइकल चलाउन आग्रह गरे ।
तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङले साइक्लिङमार्फत स्वास्थ्य जनचेतना फैलाउंदै तिलोत्तमाको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने तथा मानव सेवा आश्रमलाई सहयोग गर्न कार्यक्रम गरिएको बताए । नगरपालिकाले सहयोग गरेमा आगामी मंसिरमा तिलोत्तमा नगरलाई देशव्यापीरुपमा थप चिनाउन र प्रचार गर्न आफूहरुले देशभरका साइक्लिष्टहरुलाई ल्याएर तिलोत्तमाका सबै वडा परिक्रमा गर्ने गरी राष्ट्रियस्तरको साइकल यात्रा गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए ।
तिलोत्तमा राईडर्सका सचिव सुवास थापाले प्रथम तिलोत्तमा कोरामा अपेक्षा गरेभन्दा तेब्बर बढी साइक्लिष्टहरु सहभागी हुंदा आफूहरु उत्साहित भएको बताए । समापन कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुन, तिलोत्तमा ४ का पुर्व वडाध्यक्ष दिवाकर ढकाल, कार्यक्रमको मुख्य प्रायोजक किङ्स अब्रोड एजुकेसन कन्सल्टेन्सीका सञ्चालक राम खरेल , भैरहवा साईकल सिटीका अध्यक्ष सूर्य सारू, नवज्योति बोर्डिङका प्रिन्सिपल टोपबहादुर केसी लगायतले प्रथम तिलोत्तमा कोरा निकै व्यवस्थित र भब्यरुपमा सम्पन्न भएको भन्दै सराहना गरेका थिए । समापनमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
राइडर्सहरुलाई मोक्ष धाम आश्रममा तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक र बाउन्नकोटी मन्दिरमा अध्यक्ष तारा प्रसाद छन्त्यालले स्वागत गरेका थिए । कार्यक्रममा ८ वर्षका बालक, महिला देखि ६७ वर्षका वृद्ध दम्पत्तिले समेत सहभागिता जनाएका कार्यक्रम संयोजक केवी कार्किले बताए । यसैबीच बुटवल र सैनामैनामा पनि कोरा कार्यक्रमहरु सम्पन्न भएका छन् ।




