नवलपरासी
बुटवल–नारायणगढ सडक खण्ड विस्तारको म्याद सकिंदैछ । साउन ८ गते म्याद सकिंदै गर्दा अब करिब १ वर्ष म्याद थप गर्ने तयारी छ । यो बिचमा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ७० प्रतिशतको हाराहारीमा मात्र पुगेको छ ।
दाउन्ने सडक खण्ड बाहेक अनेत्र यातायात सञ्चालनमा पहिलेको तुलनामा धेरै सहज भएको छ तथापि ठाउँ–ठाउँमा अलपत्र पूर्वाधारहरु अझै देख्न सकिन्छ । पुल नजिकका खाल्टाखुल्टीहरु कतिपय ठाउँमा अझै बाँकी छन् । भने मुख्य समस्या अहिले दाउन्ने सडक खण्डमा रहेको छ । दाउन्ने सडक खण्डको पश्चिम खण्डमा यात्रा केही सहज भए पनि पूर्वी खण्ड भने निक्कै कठिनाइ हुने गरेको छ ।
पछिल्लो ६ महिना केही दु्रत गतिमा काम देखाएको ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसंै अगाडि दाउन्नेको बाटो पनि अनेत्र जतिकै सहज गराउने गरी काम गरेको हो ।
दसैं अगाडि दाउन्नेमा कम्तिमा १ तर्फी कालोपत्रे सक्ने योजना निर्माण कम्पनीको रहेको छ । दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम बर्दघाटतर्फ ३ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । दाउन्ने सडक अहिले धुलो र हिलोले कन्तबिजोग हुने गरेको छ । यसको मार यात्रुका साथै स्थानीय बासिन्दा र दाउन्नेका व्यापारीहरुमा समेत गरेको छ ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्व खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । त्यसैगरी दाउन्ने खण्डमा सडक निर्माणको काम तिव्र गतिमा बढेको उनले बताए । साउन ८ गते म्याद सकिंदै गर्दा करिब १ वर्ष म्याद थप गरेर काम सक्नु पर्नेमा नारायणगढ–बुटवल सडक आयोजना पूर्व खण्डका प्रमुख इश्वरबहादुर रिजालले जोड दिए ।
तेस्रो पटक थपिएको समयावधिमा पनि काम नसकिएपछि सरकारले चौथोपटक म्याद थप्ने तयारी गरेको छ ।
सुरु ठेक्का सम्झौताअनुसार यो राजमार्ग ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने हो । तर अहिलेसम्म पनि काम सकिएको छैन । सरकारले फेरि थप एक वर्षको म्याद थप गर्न लागेको हो ।
यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख इञ्जिनियर चुडाराज ढकालका अनुसार आउँदो बुधबार फेरि सडक स्तरोन्नति गर्ने म्याद (समय अवधि) एक वर्ष थप्न सम्झौता हुनेछ ।
आउँदो बुधबार सडक विभाग र चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिजियरिङ कर्पोरेसनबिच मन्त्रालयमा लिखित सम्झौता गरेर ०८३ साल साउनसम्मको म्याद थपिने पक्कापक्की भएको हो ।
चिनियाँ ठेकेदारले भने करिब १८ महिना म्याद थप गर्न माग राखेको छ । ठेकेदारको माग अनुसारको समय दिन नसकिने ढकालले सुनाए । उनले भने – ‘थपिएको म्यादमा थप लागत नबढ्ने सर्तमा १ वर्ष म्याद थप गर्ने तयारी गरेका छौं । उनीहरु (ठेकेदार कम्पनी) ले हुन्छ भनेको छ त्यही अनुसार म्याद थप हुन्छ ।’
बुटवल–नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर सडक मध्ये असार मसान्तसम्म एक सय किलोमिटर सडक कालोपत्रे भएको छ । दुवै तर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको बुटवल–नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो ।
यसैबिच दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १ देखि २०८२ असार ३२ गतेसम्म ६३ पटक सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दाउन्ने क्षेत्रको पनि विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रियासी मोडलगायत क्षेत्रमा दर्जनौँपटक सडक अवरुद्ध भएको छ । १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरै पटक सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।




