बुटवल । नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा कक्षा ११ विज्ञान, सिभिल इञ्जिनियरिङ र कानुन समूहमा अध्ययनरत विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यालयले विद्यार्थीहरुको समग्र विकासका लागि नेतृत्व, व्यक्तित्व विकास, सामाजिकीकरण र जीवन उपयोगिताका विभिन्न सीपहरु प्रत्येक दिन सञ्चालन गरेर देशको एक उत्कृष्ट नमूना विद्यालय भएको बताउँदै विद्यार्थीहरुले रुची र लक्ष्यअनुसारका विषयहरु छनौट गरी लगनशिल भएर अध्ययन गर्न आग्रह गरे ।
अभिमुखीकरण कार्यक्रममा उत्प्रेणात्मक वक्ता देवदह मेडिकल कलेज देवदहका डाक्टर आविष्कार पराजुलीले विद्यार्थीहरु कसरी प्रभावकारी रुपमा अध्ययन गर्ने, आमा, बुवा र गुरुको महत्व र प्रभावको उच्च सम्मान गर्ने साथी र संगतको कुलतबाट विद्यार्थीहरु जोगिनु पर्नेमा जोड दिँदै विद्यार्थी असल बन्ने र बिग्रने उमेर यही भएकोले यो उमेरलाई सदुपयोग गर्नेतर्फ लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको समग्र अवस्थाको सम्बन्धमा सहजीकरण गरेका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता २०८२ को बारेमा सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी छात्रा आशिका दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विज्ञान समूह इञ्चार्ज लक्ष्मी नारायण चौधरी, नवीन विद्यार्थी क्लबका अध्यक्ष सुवास पौडेललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा महेन्द्र मा.वि. वामीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शाक्यलगायतको सहभागिता रहेको थियो ।
विद्यालयले व्यवस्थापन समूहअन्तरगत होटल व्यवस्थापनमा विशिष्टीकरणका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम साउन ५ गते बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा र साउन ६ गते व्यवस्थापन समूहअन्तर्गत कम्प्युटर, वित्तशास्त्र, अर्थशास्त्र, बजारशास्त्र विशिष्टीकरणका विद्यार्थीहरुर शिक्षा समूहका विद्यार्थीहरुको अभिमुखीकरण शिक्षा विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक नारायणप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा आयोजना हुने विद्यालयले जनाएको छ ।




