डेंगु संक्रमण भयावह हुने भन्दै विज्ञहरुले नियन्त्रणको पहल थाल्न चेतावनी दिए पनि सरोकारवाला निकायको तयारी सुस्त छ । मनसुन चलिरहेको छ । वर्षा हुने र घाम लाग्ने क्रम जारी रहेकोले डेंगु संक्रमण बढाउने लामखुट्टेको विस्तार हुन सक्ने भएकाले पूर्वतयारीमा ध्यान दिन आवश्यक छ । तर तहगत सरकारको तयारी सुस्त हुँदा संक्रमण उच्च हुने देखिन्छ ।
जलवायु परिवर्तनका कारण नेपालको सबै भूभागमा लामखुट्टेका लागि अनुकुल हुँदै गएको छ । तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुलन बनाउँदै लगेको छ । पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएकोले अब वर्षा र गर्मी याममा मात्रै डेंगु संक्रमण हुन्छ भन्ने छैन । विज्ञहरूका अनुसार, १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ । डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ । विज्ञहरुले मनसुन सुरु हुनासाथै खोज तथा नष्ट अभियान व्यापक बनाउन सुझाव दिएको भए पनि वास्ता गरिएको छैन । लार्भा अवस्थामै नियन्त्रण गर्न ध्यान दिने हो भने संक्रमण दर नियन्त्रण गर्न सकिने भए पनि तहगत सरकारको ध्यान नजानु गलत छ ।
खोज र नष्ट अभियान स्थानीय तहले गर्न सक्छन् । स्थानीय तहले टोल समिति परिचालन गरी खोज र नष्ट गर अभियान चलाउन सक्छन् । डेंगु फैलिए पनि खोज र नष्ट गर अभियान देखावटी हुने भएकाले अझै अभियान चलाउन ढिलाइ भइरहेको छैन । चिकित्सकहरुका अनुसार डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेत हो ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखिएको थियो । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सन् २०२३ मा २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भए ।
विगतको यो तथ्याङ्कले भन्छ–सरकार डेंगु नियन्त्रण गर्न चनाखो बन्नु पर्छ । तहगत सरकारहरुमध्ये कसले के गर्ने ? समुदायले के गर्ने ? यो काम तत्काल अघि बढाउनुपर्छ । अस्पतालमा बिरामी थेग्नै नसक्ने अवस्था आउन सक्छ । अस्पताल पुगेका मध्ये कतिपयले ज्यान गुमाउन सक्छन् । तसर्थ सम्भावित जोखिम र चुनौतीको सामना गर्ने सार्मथ्य हुनुपर्छ ।




