मोहन कुँवर
नेपाली राजनीतिको इतिहास कालखण्डलाई हेर्ने हो भने देशमा राणा शासनकालको अन्त्यदेखि पञ्चायत व्यवस्था, बहुदलीय व्यवस्था हुँदै १० वर्षे जनयुद्धसँगै देशमा गणतन्त्रको स्थापना भएको पाइन्छ । पछिल्लो समय नेपालमा विभिन्न किसिमका राजनीति दलहरु पनि स्थापना भइरहेका छन् र केही दलहरु पार्टी फुटेर नयाँ पार्टीको रुपमा पनि परिणत भएका छन् भने केही साना दलहरुले पार्टी एकता पनि गरिरहेका छन् । यही भीडमा छोटो समयमा नै जनताको मन जितेर दल गठन गरेको ४ महिनामै प्रतिनिधिसभाको निर्वाचनमा भाग लिइ विशेषगरी शहरी क्षेत्र र शहरी प्रभाव रहेका क्षेत्रहरुबाट जनताहरुको राम्रो साथ पाएर उपत्यकामा केही ठाउँ र चितवनलगायत अन्य जिल्लाहरुमा पनि प्रत्यक्षमा ठूला दलहरुलाई हराउदैँ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट पाएको थियो भने प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरी जम्मा २० सिटसहित प्रतिनिधिसभामा चौथो ठूलो दल बनेको थियो ।
देशमा पुराना राजनीति दलहरुको कार्यशैलीबाट वाक्क भएका नेपाली जनताहरु पार्टी र कार्यकर्ता केन्द्रितभन्दा पनि देश र जनताप्रति बफादार बन्ने नेता तथा राजनीति दलको उदय भएमा नेपाली जनताहरु पूर्णरुपमा साथ दिन तयार छन् भन्ने कुरा पछिल्ला राजनीति घटनाक्रमहरुबाट स्पष्ट रुपमा बुझ्न सकिन्छ । आजभोलि जुनसुकै राजनीति दल भएता पनि नेपाली जनताले बोल्नेभन्दा पनि काम गरेर नतिजा दिने दललाई विश्वास गर्न थालेका छन्, त्यसैले पनि पुराना दल होस् या नयाँ दल यी कुराहरुमा गम्भीर भएर अघि बढ्नुपर्ने देखिएको छ ।
यिनै कुराहरुलाई मध्यनजर गर्दै राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलको कार्यशैलीबाट आजित भएका जनतामा आफ्नो पार्टी विकल्पको रूपमा उदयमान हुने बताउँदै आफूहरु व्यवस्था बदल्न नभइ नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका थिए । आफूहरु ठूलो काम गर्न नभइ आमनागरिकका स–साना समस्या समाधान गर्न राजनीतिमा लागेको पनि उनले दाबी गरेका थिए र नेपाली जनताले उनको कुराहरुलाई विश्वास गरी साथ पनि दिएका थिए । रास्वपा २ पटक सरकारमा सहभागी भएर गृहमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, श्रममन्त्री खेलकुदमन्त्री जस्ता महत्त्पूर्ण मन्त्रीपद पनि पायो, तर सरकार लामो समय टिक्न सकेन, अनि सोंचेजस्तो नतिजा पनि दिन सकेन, नेपाली जनतालाई ।
रास्वपाका सभापति रवि लामिछानेप्रति लागेको सहकारी रकमको अपचलनको आरोपले पार्टीप्रति कस्तो प्रभाव पार्नेछ भन्ने कुरा नेपाली जनताले फैसाला गर्ने छन्, तर पछिल्लो समय उस्तै उस्तै घटना पनि अरु दलका नेता र रविप्रति सरकारले गरेको व्यवहार देखेर धेरै जसो नागरिकहरुमा सरकारको राजनीतिक प्रतिसोधको रुपमा बुझेका छन् । उनी दोषी छन् या निर्दोष हुनेछन्, त्यो अदालतले नै फैसला गर्नेछ, तर छोटो समयमा नेपाली जनताप्रति जितेको मनले अन्य राजनीति दल र तिनका नेतालाई भने निकै छटपटि चलिरहेको छ । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको थियो । रविलाई आरोप लागेका सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन्, तर उनी फरार छन्, सरकारले उनको खोजी गरेता पनि अहिलेसम्म फेला पार्न सकिरहेको छैन । पछिल्लो समय सरकार जुन तरिकाले रवि लामिछाने माथि खनिएको छ त्यो देख्दा कतै जीबी राईलाई सरकारले नै संरक्षण त गरेको छैन ? भनेर नागरिकहरुमा शंका उपशंका पनि आएका सुनिन्छन् ।
पछिल्लो समय संसदमा रास्वपाले देखाएको प्रतिपक्षको भूमिका होस् या रास्वपाका सांसदहरुले राखेको विचार होस् अन्य दलका सांसदका भन्दा केही फरक देखिन्छन् । रास्वपा आफैँमा युवा नेताहरुको संगठित दल हो, भलै संसदमा केही अनुभवको कमी होला, तर ज्ञानको भने कमी भने छैन । वर्षौँदेखि संसद भवनलाई आफ्नो पेसाको घर ठान्नेहरुलाई नहटाएसम्म देशमा बढ्दो बेथिति, भ्रष्टचार, मानव तस्करीलगायत अन्य समस्याहरुको समाधान हुँदैन भन्ने कुरा पनि रास्वपाले प्रस्तुत गरिरहेको छ ।
रास्वपाका सांसदहरुको दमदार भाषण, अन्य दलका नेताहरुको कमिकमजोरी र गलत कदमविरुद्ध माथि उठाएका प्रश्नहरुले आगामी दिनमा आफूहरु सुध्रिन आवश्यक रहेको कुरा अन्य दलका नेताहरुले महसुस गरेको भने सजिलै बुझ्न सकिन्छ । सरकारमा नियुक्त भएका मन्त्रीहरुले देश र जनताप्रति बफदार भएर काम गर्नुभन्दा पनि उल्टै भ्रष्टचार र देश लुट्न नै सक्रिय भएको कुरा पछिल्लो समयको विभिन्न घटनाक्रमहरुले देखाइरहेको छ । देशमा सुशासन, महङ्गी, भ्रष्टचार जस्ता समस्याहरु दिनानुदिन बढ्दै गइरहेका छन् । देशमा रोजगारको अवसर नपाएर दिनहुँ हजारौ नेपालीहरु देश छोडेर विदेश जान बाध्य भएका छन् ।
देशमा व्यवस्था फेरियो, तर नागरिकहरुको अवस्था फेरिएन्, फेरियो त केवल नेता र उनका आसेपासेहरुको मात्र । देशमा हजारौँ शहीदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले गरिब निमुखा जनताहरुको जीवनस्तर परिवर्तन गर्ने ठूलो आशा गरिएको थियो, तर देशमा त्यसो हुन सकेन, त्यसैले पनि यी पुराना र ठूला राजनीति दलहरुको कार्यशैली देखेर नेपाली जनताहरु अहिलेका दलहरुको विकल्प खोजिरहेका छन् । रास्वपाले जनतामा जाँदा आफ्नो एजेन्डा पनि स्पष्ट पार्न जरुरी हुन्छ, धर्म निरपेक्ष, संघीयता, प्रदेश सरकार, प्रत्यक्ष राष्ट्रप्रणाली शासन व्यवस्था वा अहिलेकै व्यवस्था, विदेश नीतिलगायत अन्य कुरामा जनतालाई जानकारी दिन पनि जरुरी देखिन्छ ।
रास्वपा स्थापना भएको छोटो समयमा नै जुन किसिमको लोकप्रियता कमाएको थियो, त्यो रविले पत्रकार हुँदा नेपाली जनताप्रति गरेको योगदान र भूमिकाको प्रतिफल थियो । रविको विश्वासकै आधारमा अन्य व्यक्तिहरुले पनि चुनाव जितेका हुन् । रविले जब चुनाव जिते त्यसपछि उनलाई विभिन्न किसिमका मुद्दासँगै सांसद पद नै खारेज गरी फेरि दोस्रोपटक उप–चुनाव पनि लड्नु पर्यो । रविले दुईपटक गृहमन्त्री हुने अवसर पनि पाएका थिए, उनी त्यहि गृहमन्त्री पदमा हुँदा लिएका विभिन्न कदम र निर्णयले गर्दा पनि केही राजनीति दलका नेताहरुले उनीमाथि अन्याय गर्न खोजेका हुन कि भन्ने कुरा पनि यतिबेला अनुमान गर्न सकिन्छ ।
देशमा पुराना दलहरुबाट भइरहेका मनपरी कार्यहरु र विभिन्न घटनाका बेथितिविरुद्ध रास्वपा नेपाली राजनीतिको विकल्पको रुपमा उदयमान हुन जरुरी छ । त्यसैले रास्वपा अहिले जुन अवस्थामा रवि बिना अघि बढिरहेको छ यसमा अझ शसक्त भएर अघि बढ्न जरुरी छ । अहिलेदेखि नै २०८४ मा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि जनताहरुसँग सहकार्य गरी अघि बढ्न जरुरी छ । देशमा राजनीतिभन्दा बाहिर रहेर देशको लागि काम गरी जनताका मन जितेका व्यक्तिहरुलाई पनि पार्टीमा प्रवेश बनाई २०८४ को लागि उम्मेदवारीको स्थान सुनिश्चित गरी अगाडि बढाउन आवश्यक देखिन्छ । देशका विभिन्न स्थानीय तहमा जनताका मन जितेर स्वतन्त्र उम्मेदवारबाट विजय भएका व्यक्तिहरुलाई पनि पार्टीमा ल्याउन सक्दो भूमिका खेल्नुपर्ने जरुरी देखिएको छ । देशमा मात्र नभई विदेशमा रहेका सक्षम र योग्य युवाहरुलाई देश फर्काएर पार्टीमा सुरक्षित स्थान दिई आगामी निर्वाचनको लागि तयारी गर्न पनि आवश्यक देखिन्छ । रविले देश र नेपाली जनताका निम्ति जुन बाटो सुरु गरे त्यो बाटोलाई रवि बिना पनि पूरा गर्ने हिम्मत राखि भ्रष्टचारमा मौलाएका ठूला र पुराना दलका नेताहरुलाई विस्थापित गरी देशमा एउटा असल र भरपर्दो राजनीति दलको विकल्पको रुपमा उदयमान हुन आवश्यक छ ।
तर रास्वपा नेपाली राजनीतिको विकल्प हो या होइन भन्ने कुरा अहिले नै विश्वास र आँकलन गर्न सकिंदैन, रास्वपाले २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा लिएको चुनावी नतिजा उक्त पार्टीप्रतिको लोकप्रियता मात्र नभई नेपाली राजनीति प्रतिको वितृष्णाको केही अंश पनि थियो । आगामी निर्वाचनमा अहिलेको सीट संख्याभन्दा बढी लिनेछ या कम लिनेछ, त्यो नेपाली जनताले फैसला गर्नेछन् । नेपाली जनताले विश्वास गरेर रास्वपालाई देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट अहिलेको भन्दा पनि धेरै सीट संख्यासहित संसदमा पठाउन सके भने रास्वपा नेपाली राजनीतिको विकल्प मात्र नभएर भरपर्दो र बलियो पार्टी चाहीँ अवश्य बन्नेछ, जसको लागि रास्वपाले देशले नचिनेको, तर देशलाई चिनेका सक्षम र नयाँ युवा शक्तिलाई भने अवसर दिन जरुरी पर्दछ ।
सत्यवती –२, गुल्मी
हाल जापान, ओसाका




