बुटवल । बुटवल–६ मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ । रुपन्देहीसहित पश्चिम नेपालका विभिन्न जिल्लाका बिरामीहरूलाई एकै ठाउँमा गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले हेल्थ सेन्टर सञ्चालमा ल्याइएको हेल्थ सेन्टरका अध्यक्ष मेघदेव पन्तले बताए ।
बिरामीलाई सर्वसुलभरुपमा उपचारका साथै ल्याब र सहुलियत मूल्यमा औषधिको व्यवस्था गरिने अध्यक्ष पन्तले बताए । तीनजना डाक्टर समेत चारजनाको एक करोड बढीको लगानीमा सञ्चालनमा आएको हेल्थ सेन्टरमा विभिन्न रोगका एक दर्जन बढी विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गर्ने अध्यक्ष पन्तले बताए । हेल्थ सेन्टरले बिरामीको घरमै गएर ल्याब जाँचको नमूना संकलन र औषधिको होम डेलिभेरी सेवासमेत प्रदान गर्ने अध्यक्ष पन्तले बताए ।
यस्तै, शुभारम्भका अवसरमा एक हप्तासम्म निःशुल्क ओ.पि.डि सेवा तथा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श, प्रयोगशाला सेवामा २० प्रतिशत छुट तथा निःशुल्क सुगर, कोलेस्ट्रेल परीक्षण, प्रत्येक दिन ५ जनाको निःशुल्क थाइराइड परीक्षण, भिडियो एक्सरेमा ५० प्रतिशत छुट, ई.सि.जि, एक्सरे र औषधिमा विशेष छुटको व्यवस्था गरिएको उनले बताए । शुभारम्भका अवसरमा सोमबार रक्तदान कार्यक्रमसमेत सम्पन्न भएको र ३५ यूनिट रगत संकलन भएको छ ।




