चितवनको सिमलतालमा शनिबार बिहान पहिरोले बगाएका दुई यात्रुवाहक बस अझैँ भेटिएका छैनन् । दुर्घटनामा तीन जना पौडी खेलेर बाँच्न सफल भएका थिए । ती बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि ५२ भन्दा बढी यात्रु रहेको आँकलन छ । तीमध्ये गैँडाकोटमा दुई र दुर्घटनास्थलभन्दा केही किमी तल एक गरी तीन जनाको शव फेला परेको छ । गोताखोरसहित सुरक्षाकर्मी निरन्तर दुर्घटना भएको बस खोज्न नारायणीमा खटिरहेका छन् । विपद्मा सुरक्षाकर्मीको सक्रियता प्रशंसनीय छ ।
नारायणगढ–मुग्लीन सडकखण्ड वर्षायाममा सधैँ पहिरोको जोखिम भएको सडक हो । यो सडक निर्माण गर्दा पहाड ताछेर बनाइएको र सडकमाथि दर्जनौं पहिरो रहेकोले वर्षायाममा जोखिम छ भनेर विज्ञहरुले धेरै पहिलेदेखि भन्दै आएका छन् । पहिरोको जोखिम भएको ठाउँमा सडक भएकाले सुरक्षात्मक उपाय अवलम्बन गरी सडक नबनाइएको वर्षा हुन्छ सधैँ जोखिम छ । सडकको माथि पहिरोको धराप र तल त्रिशुली नदी रहेकोले दुर्घटनाको जोखिम झनै बढि छ । पहिरो वा अन्य कारणले दुर्घटना भएको बस नदीमा खस्ने भएकोले यात्रुलाई जिवितै उद्दार गर्न कठिन छ । अहिले त झन दुर्घटना भएको बस फेला पार्न सकिएको छैन् ।
रात्री बस पहिरोमा परेर जनधनको क्षति भएपछि उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लामा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ ।यो तत्कालका लागि गर्नै पर्ने काम थियो । तर प्राथमिकता पहिरो व्यवस्थापनमा दिनुपर्छ । पहाडको पहिरो रोक्न मनपरी संरचना निर्माण गर्न रोक्नुपर्छ । सिमलतालमा पहिरो जानुको कारण बन्दै गरेको ग्रामीण सडकले भएको बुझिएको छ । जोखिमयुक्त ठाउँमा अनावश्यक संरचना नबनाउने र पहिरो न्युनिकरण कार्यक्रम चलाएर पहिरो रोक्न सकिन्छ । बढ्दो मानवीय गतिविधि न्युनिकरण गर्न राज्यको पटक्कै चासो छैन् ।
चितवनको यो दुर्घटनाबाट राज्यले पाठ सिकेर सुरक्षित सडकका लागि गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामको योजना बनाउनुपर्छ । ती योजनालाई कार्यान्वयन गर्दा सडकलाई सुरक्षित बनाउन अवश्य बल पुग्छ ।




